आयोजनाको म्याद थप्न महासंघको माग

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघले कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न माग गरेको छ।
महासंघले १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवी सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै कोभिड–१९ का कारण प्रभावित आयोजनाहरुको म्याद एक वर्ष थप्नुपर्ने बताएका हुन्।
कोभिडका कारण करिब ६ हजार आयोजनाहरु प्रभावित भएकोले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनुपर्ने उनको भनाई छ।
यस्तै उनले २ हजार ७ सय ७० वटा रुग्ण आयोजनाहरुको म्याद गत फगुन १४ गते एक वर्षका लागि थप गर्ने निर्णय भएकोमा ती आयोजनाहरु पनि कोभिडबाट प्रभावित भएकाले थप एक वर्ष म्याद थपिनुपर्ने माग गरेका छन्।
उनले गत असारमा म्याद थप गरिएका आयोजनाहरुमा पनि मन्त्रालयबाट टिप्पणी उठाउँदा त्रुटि भई रोकिएकाले त्यसलाई छिटो कार्यान्वयन गर्न समेत माग गरेका छन्।
यस्तै कोभिडका कारण विदेशबाट आउनुपर्ने कन्सल्ट्यान्ट आउन नसेको र निर्माण सामग्री आयातमा अझैपनि प्रभाव परिरहेकाले त्यसलाई खुलाउन समेत माग गरे। निर्माण सामग्रीको उपलब्धता नहुँदा महंगी बढेको भन्दै उनले बजार अनुगमन गर्नुुपर्ने बताएका छन्।
निर्माण क्षेत्रलाई चलायमान बनाउन आफुहरु आतुर रहेको तर सरकारबाट सहयोग प्राप्त नभएको पनि अध्यक्ष सिंहको भनाई छ।
निर्माण भइरहेका आयोजनाहरुमा छिटो भुक्तानी हुने व्यवस्था गर्नुपर्ने, प्रदेश र स्थानीय तहका आयोजनामा समेत भुक्तानीका लागि समन्वय गर्नुपर्ने काममा सरकारले ध्यान दिन नसकेको पनि उनले बताएका थिए।