अमेरिकी चुनाव २०२०

तेस्रोपटकको मतगणनाबाट पनि बाइडेन नै विजयी भए जर्जियामा

अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा पनि जो बाइडेन विजयी घोषित भएका छन् ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको आफूबाट नतिजा खोसिएको आरोप बिना प्रमाण लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा जर्जियामा तेस्रोपटकसम्म मतगणना भएको हो ।

सुरुका दुई चरण जस्तै तेस्रो चरणको मत गणनामा पनि ट्रम्प बाइडेन भन्दा पछि नै रहे र जर्जियाले राष्ट्रपतिमा राज्यबाट बाइडेन विजयी भएको पुनः घोषणा गरेको छ ।

परम्परागत रुपमा रिपब्लिकनहरुको पकड रहँदै आएको राज्य जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार मतले पछि पारेका हुन् ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरले तेस्रो पटक भएको मतगणनाको नतिजा घोषणा गरेका हुन् ।

रिपब्लिकन ब्राडले राष्ट्रपति ट्रम्प र उनको टिमबाट लगातार बिना प्रमाण आधारहिन चुनावी धाँधलीको आरोप लगाइरहँदा त्यसले राज्यलाई असर गरिरहेको भन्दै चेतावनी समेत दिएका छन् ।

ट्रम्पले अझै पनि बिना प्रमाण धाँधलीको आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राडले सोमबार एट्लान्टामा भएको पत्रकार सम्मेलनमा भने, ‘हामीले वैध रुपमा खसालिएका मत तीन पटक गन्यौँ र नतिजा उस्तै रह्यो । मलाई थाहा छ कि अझै पनि यस्ता व्यक्तिहरु छन् जसलाई लाग्छ चुनावमा धाँधली भएको छ । तर प्रमाण, खास प्रमाण र तथ्य हामीलाई त्यो भन्दा फरक कुरा बताउँछ ।’

ट्रम्पले विभिन्न ब्याटलग्राउण्ड राज्यमा आफ्नो हारलाई जितमा परिणत गर्न वा नतिजा उल्ट्याउनका लागि गरेको सबै कानूनी प्रयासहरु प्रमाण बिना खारेज भएका छन् वा विपक्षमा फैसला भएका छन् ।

ट्रम्पले दुई दिनअघि राज्यको भ्रमण गरेर सार्वजनिक कार्यक्रममा धाँधलीको आरोप लगाएपछि जर्जियाको तेस्रो पटक भएको मतगणनाको नतिजा आएको हो ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउने पक्का भएको छ । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् ।

मंसिर २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्