भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईँदै, नागरिक स्तरबाटै भ्रष्टाचारको विरोध गर्न अपिल

फाइल तस्बिर

काठमाडौँ – भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस बुधबार मनाईँदै छ । हरेक वर्ष डिसेम्बर ९ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । भ्रष्टाचारको विरोध नागरिकस्तरबाटै गर्नु पर्नेमा जोड दिएर यो वर्ष दिवस मनाईँदै छ ।

संयुक्त राष्ट्रसंघको भ्रष्टाचार विरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुल्ला गरिएको थियो । सोही समयदेखि डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने गरिएको छ । यस दिवसमा विश्वभर सरकारी र नागरिक संघ–संस्थाहरूको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्द्धनसँग सम्बन्धित विभिन्न काम हुने गर्छन् ।

यस वर्ष भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा संयुक्त राष्ट्रसंघद्वारा आफ्ना सदस्य राष्ट्रहरूलाई महासन्धि अनुमोदन गर्न, महासन्धिका प्रावधानहरू बमोजिम राष्ट्रका ऐन–कानूनहरू अध्यावधिक गर्न र भ्रष्टाचार विरुद्धको कारवाहीमा अन्तर्राष्ट्रिय समन्वय बढाउन अपिल गरिएको छ ।

हाल सम्पूर्ण विश्व नै कोरोना भाइरसको संक्रमणबाट आतंकित भइरहेको सन्र्दभमा यो महामारी यथाशिघ्र नियन्त्रण गर्न अपइनाइने विधि र प्रक्रियामा भ्रष्टाचारको सम्भावना न्यून गर्दै सदाचारका प्रयास बढाउन जरुरी भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

कोभिड–१९ नियन्त्रण कार्य थप सशक्त र समन्वयात्मक बनाउन, महामारीसम्बन्धी सामग्रीको खरिदमा पूर्ण पारदर्शिता अपनाउन, हुने र भैरहेको कार्यमा पर्याप्त अनुगमन र सुपरीवेक्षण गर्न, सरकारी सूचना एवं विवरणमा नागरिकको सहज पहुँच बढाउन तथा नागरिक अभियन्ता र पत्रकारको सुरक्षा गर्न पनि सरकारलाई अपिल गरिएको छ ।

भ्रष्टाचार न्यूनीकरण र सदाचार प्रवर्द्धनका लागि नागरिकस्तरबाट सक्रिय रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल यस दिवसका अवसरमा संयुक्त राष्ट्र संघीय महासन्धिका प्रावधान बमोजिम नेपाली ऐन–कानूनमा आवश्यक सुधार र थप नयाँ कानूनको निर्माणतर्फ यथाशिघ्र आवश्यक कदम चाल्न तथा कोभिड–१९ सम्बन्धी सरकारी कार्यहरू थप पारदर्शी एवं प्रभावकारी र चुस्त बनाउँदै भ्रष्टाचारको सम्भावना न्यून गर्न सरकारलाई अनुरोध गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नागरिकलाई पनि महासन्धि कार्यान्वयन हुने वातावरण बनाउन सरकारलाई दवाब दिन, भ्रष्टाचार रोक्ने मुख्य जिम्मेवारी सरकारको हो भन्ने कुरामा सचेत रहन, भ्रष्टाचार नियन्त्रणमा युवाको संलग्नता बढाउन, शिक्षा र स्वास्थ्यजस्ता अति संवेदनशील क्षेत्रलाई भ्रष्टाचारबाट जोगाउन र भ्रष्टाचारलाई उजागर गर्न अपिल समेत गरेको छ ।

हालै सार्वजनिक भएको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढ्दो क्रममा रहेको र सरकारी भ्रष्टाचार नै प्रमुख समस्या रहेको भन्नेसहितका तथ्यांक उल्लेख गरिएको थियो ।

मंसिर २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्