विपन्नलाई जाडो काट्ने चुनौतीहरू

जाडोको जनजीवन

शीतलहर हावापानीजन्य मौसमी प्रकोप हो। हुन त जाडोयाममा सबैतिर ठिहिरो लाग्छ तापनि हिमाली भेगमा सिरेटो र तराईमा हुस्सुका कारण उत्पन्न हुने बिषम मौसमी परिस्थितिलाई शीतलहर भनेर चिनिन्छ। नेपालमा तराई र भित्री मधेशमा जाडोयाममा शीतलहर लाग्ने र जनधनको क्षति हुने डर हुन्छ। ठूलो क्षेत्रमा फैलिने र लामो समयसम्म रहेर जनस्वास्थ्य, आवागमन, खेतीबाली र पशुपन्छीको स्वास्थ्यमा असर गर्ने हुनाले शीतलहरको कहर तराईमा बढी गम्भीर हुँदैछ। विगतका घटनाहरूको आधारमा यो केही दिनदेखि केही हप्तासम्म रहन्छ। यो बर्षेनी आएको त छैन तर गएका २०-२५ बर्षमा यसको घटनाक्रम बढ्दै गएको छ। जलवायुमा भएको परिवर्तन, वायु प्रदूषण जस्ता प्राकृतिक एवं मानवजन्य कारणहरूले गर्दा शीतलहरअब कस्तो होला भन्ने पूर्वानुमान गर्न कठिन हुँदै गएको छ।

हिमाली भेगमा जाडो महिनामा चिसो छल्न मानिसहरू मंसिरमा तल बसाइ सर्छन् र फागुनमा माथि फर्कन्छन्, चैत बैशाखसम्म क्रमश: माथिल्ला उचाइमा गोठ सार्दै जान्छन्। उनीहरूले मौसम अनुकूल हुने उपायहरू अपनाएकाले प्रकोपको खतराको तुलनामा कम क्षति हुन्छ । बिभिन्न जातका पशुपन्छीहरूले पनि जाडोमा तल्लो क्षेत्रमा बसाइ सरेर आफूलाई हुन सक्ने जोखिम कम गर्छन् । मधेशमा हुने शीतलहरको सामना गर्न सकिने दिगो उपायहरू कम छन् ।

शीतलहरले सिर्जना गरेको वातावरणमा अनुकुल हुन विपन्न समुदायले अपनाउन सक्ने जीवनयापनका अभ्यासहरू विकास हुन र संस्थागत हुन सकेका छैनन्।

जाडोमा ठिहिरोले कठाङ्ग्रिने, शीतलहरले सताउने कुरा नयाँ होइनन्। विपन्नहरू बाह्रैमास कुनै न कुनै प्रकोपबाट सताइन्छन्। जाडोमा बृद्ध, दिर्घरोगी, अपाङ्गता र शारीरिकरूपमा कमजोर अवस्थाका मानिस बढी संवेदनशील हुन्छन्। त्यसैले जहिले पनि कुनै न कुनै प्रकोपबाट दिक्क भएर ‘बलियाबाङ्गा बाघलाई, बुढाखाडा माघलाई’ भन्ने लोकोक्ति स्थापित भए होला। विपन्नलाई जाडोमा घाम नै सबैभन्दा ठूलो ओखती हो। त्यसैले त ‘पिटे पनि आमै जाती, पोले पनि घामै जाती’ भन्ने कुरो आए होला। न्यानो घामले रातभरिको चिसो बिर्साइदिन्छ। अघिल्लो साँझ ‘भोलि त त्योजसरी नि गर्छु’ भनेको काम भोलिपल्ट घामको न्यानोमा ‘आऽऽ त्यो भोलि गरौंला’ भन्दै दिन काटिन्छ। यसरी बर्खालाई दाउरा जम्मा गर्ने होस् वा बारीकान्ला बारबन्देज गर्ने, सिन्की पार्ने होस् वा गुन्द्री बुन्ने सबै कामपछि सर्दै गएर पूरा नहुने जस्तो भए ‘छेपाराको शास्त्र भयो’ भन्ने चलन छ।

स्वास्थ्यमा जोखिम

जाडोमा स्वास्थ्य संवेदनशीलता बढी हुन्छ। चिसोले सोझै आक्रमण गर्नसक्छ वा चिसोका कारण अरु रोगव्याधि बढ्ने खतरा हुन्छ। चिसोले हात खुट्टाका ‍औंला खाइदिने, शरीर कठ्याङ्ग्रिने (हाइपोथर्मिया) हुन्छ। चिसोमा तिर्खा लागेको ख्याल नहुन सक्छ। तर चिसोको सामना गर्न शरीरले बढी शक्ति लगाउँदा जलविनियोजन बढी भएर शरीर सुख्खा हुन्छ। स्वास्थ्यसम्बन्धी जानकारीहरूमा जाडोमा रुघाखोकी तथा अन्य सङ्क्रमण बढ्न सक्छ, दम भएका बिरामीहरूलाई चिसोमा बढी सकस हुन्छ, रक्तचाप बढ्ने समस्या हुन्छ, हृदयघातको सम्भावना बढ्छ जस्ता कुरा उल्लेख भएका छन्।

पसिनाले भिजेका कपडा हानिकारक हुन्छन्। जाडोमा पसिना आउने गरी हिँडे वा काम गरे पसिनाले भिजेका कपडाबाट चिसो भएर निमोनिया हुने साथै अन्य बिभिन्न हानिकारक सङ्क्रमण हुन सक्छ। पसिनाले भिजेका कपडा तुरुन्तै धोएर सुकाउनु पर्छ। अर्थात् सधै ‌ओभानो कपडा लगाउनु पर्छ। जाडोमा थोरै थोरै भएपनि तातो पानी साथै अरु झोल खानेकुरा खाइरहनु पर्छ। घाम नलागेको समयमा काम गर्न घरबाहिर निस्कँदा न्यानो कपडा लगाएर निस्कनुपर्छ। तर गरीबको मुख्य समस्या त न्यानो कपडा, पोषिलो खाना उपलब्ध नहुनु नै हो।

जनस्वास्थ्यका दृष्टिले गर्मीयाम भन्दा जाडोयाम बढी खतरनाक हुन्छ। एक अध्ययनबाट स्वास्थ्यका लागि गर्मीभन्दा जाडो करिब २० गुणा बढी घातक हुने दखिएको छ। सन् १९८५ देखि २०१२ सम्म १३ देशका३८४ स्थानबाट तथ्याङ्क सङ्कलन गरेका ७ करोड ४२ लाख २५ हजार २ सय मृत्युका घटनाको विश्लेषण गरी सन् २०१५ मा वेलायती जर्नल ‘द ल्यानसेट[1]मा प्रकाशित नतिजामा कुल मृत्यु घटना मध्ये ५४ लाख मृत्यु जाडोका कारण र ३ लाख ११ हजार गर्मीका कारण भएका थिए। यी तथ्याङ्क अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, ताइवान, चीन, थाइल्याण्ड, स्पेन, स्वीडेन, इटली, वेलायत, ब्राजिल, क्यानाडा र संयुक्त राज्य अमेरिकाबाट सङ्कलन गरिएका हुनाले अध्ययनको नतिजाले गरीब मुलुकको अवस्था दुरुस्त झल्काउन नसक्ला । तैपनि, हाम्रो सन्दर्भमा जाडोको जोखिम बुझ्‍न यथेष्ठ हुन्छ । जनसंख्याको ठूलै हिस्सा तातो, स्वस्थ खाना र न्यानो कपडाको जोहो गर्न नसक्ने अवस्थामा छ । त्यसैले एकातिर जाडोयामको कठोर मौसमी अवस्था र अर्को तर्फ सामना गर्ने क्षमता कमजोर भएको सन्दर्भमा हाम्रोमा अझ बढी जोखिम हुन्छ ।

जानेर होस् या नजानेर, मानसहरूले केही क्षयकर अभ्यासहरू पनि गरिरहेका छन् । झ्यालढोका बन्द गरेर आगो बाल्दा घरभित्र धुँवा भरिन्छ । आगो बालेर झ्यालढोका बन्द गरेर सुत्दा निशासिएर मर्ने जस्ता जोखिम छन् । जाडोमा आगो ताप्दा त्यसले टिपेर जलेर दुःखद्‌ घटना हुन सक्छन् । चुरोट, रक्सी खाने दुर्व्यसनीहरूले जाडोमा झन् धेरै खाने गरेको पाइन्छ । यी चिजहरूले शरीरको जाडोसँग सामना गर्ने शक्ति झनै कम गरिदिन्छन् र अरु रोगले थलिन पर्ने हुनसक्छ ।

बिभिन्न प्रकारको हावापानी भएका देशहरूमा गरिएको यो अध्ययनको अर्को चाखलाग्दो बिषय के छ भने छोटो समय रहने चर्को हिमपात, चिसो आँधी जस्ता चरम मौसमी अवस्थामा भन्दा हल्का तर लामो समयसम्म रहने सामान्य चिसो मौसमका कारण बढी मृत्यु भएको पाइयो । हल्का चिसो अवस्थामा मानिसहरू कम सजग हुने र असरलाई बेवास्ता गर्ने भएकाले यस्तो हुन सक्छ, जुन हाम्रो अवस्थासँग मिल्छ । यस अध्ययनको निष्कर्षबाट हाम्रोमा जाडोयाममा हुने शीतलहरको ठण्डीमा जनस्वास्थ्यसम्बन्धी जोखिम के कति छ भन्ने आँकलन गर्न सकिन्छ ।

अत्यधिक चिसो र दिनभर हुस्सु लागेर घाम लाग्दा हिउँदमा गरिने आलु, तोरी, गहुँ जस्ता खेतीमा ढुसी र रोगहरूले ठूलो क्षति गराउँछन् । कतिपय रोगको उपचारछैन । उच्च हिमाली क्षेत्रको हिमपातमा भेडा, याक र मानिहरू दुर्घटनामा पर्ने गरेका छन् । त्यस्तै,कुहिरो लागेका बेला गाडि चलाउदा दुर्घटनाको जोखिम हुन्छ ।

जानेर होस् या नजानेर, मानसहरूले केही क्षयकर अभ्यासहरू पनि गरिरहेका छन् । झ्यालढोका बन्द गरेर आगो बाल्दा घरभित्र धुँवा भरिन्छ । आगो बालेर झ्यालढोका बन्द गरेर सुत्दा निशासिएर मर्ने जस्ता जोखिम छन् । जाडोमा आगो ताप्दा त्यसले टिपेर जलेर दुःखद्‌ घटना हुन सक्छन् । चुरोट, रक्सी खाने दुर्व्यसनीहरूले जाडोमा झन् धेरै खाने गरेको पाइन्छ । यी चिजहरूले शरीरको जाडोसँग सामना गर्ने शक्ति झनै कम गरिदिन्छन् र अरु रोगले थलिन पर्ने हुनसक्छ । खेतीबालीमा लाग्ने रोगको उपचारमा प्रयोग गरिने बिषादिको असर पशुपन्छी तथा जनस्वास्थ्यमा पर्दछ ।सामन्य सावधानीले धेरै जोखिमबाट बच्न सकिन्छ । तर बाध्यता र बेवास्ताका कारण अनपेक्षित घटनाबाट जनधनको क्षति हुन्छ ।

शीतलहरको असरबाट बच्न बाटो चोकमा वा घरमै दाउरा गुइँठा बाल्ने अभ्यास पनि राम्रो होइन । गङ्गा नदी मैदान माथिको वायुमण्डलमा धुँवा, धुलो र पानीको वाफ बढी हुँदा हुस्सु लागेर शीतलहर ल्याउँछ भन्ने एकथरी वैज्ञानिक मत छ । झन् दाउरा, गुइठा बालेर यसलाई बढाइँदै पो छ कि !

सरकारी पहल

सरकारले सञ्चालन गरेका विपन्न आवास कार्यक्रम, रोजगार कार्यक्रमहरू प्रभावकारी भए सङ्कटापन्न परिवारलाई शीतलहरको प्रभावसँग जुझ्न धेरै सहायता हुन्छ । वालवालिका, बृद्धबृद्धालाई दिइने सामाजिक सुरक्षा भत्ता शितलहरसँग जुझ्ने अर्को प्रभावकारी माध्यम हो । जाडो लाग्नु अगावै सामाजिक सुरक्षा भत्ता दिएर न्यानो कपडा, खानेकुरामा उपयोग गर्न लगाए हितकर हुन्छ ।

सरकारले घनिभूत प्रयास गर्दा पनि उचित संस्थागत संरचना र सरकारी निकायहरूबीच कामको उपयुक्त बाँडफाँड नभएर गतिलो काम हुन सकेको छैन । प्राविधिकरूपले सक्षम र बिषयगतरूपमा उपयुक्त निकायहरू नलगाई शीतलहर व्यवस्थापन पनि समितिगत ‌संरचनामा निर्भर छ । विपद् कम गर्ने भनेर पटक-पटक समितिका बैठक बस्छन् र दर्जनौं निर्णय गर्छन् तर दिगो काम चाहिँ भएको छैन । विपद्‌ व्यवस्थापनराष्ट्रिय कार्यकारी समितिले गएका ३ बर्षमा गरेका १० वटा बैठक मध्ये ३ वटामा शीतलहर सम्बन्धी छलफल र निर्णयहरू भएको पाइन्छ ।

२०७६ सालको मंसिर महिनामा कार्यकारी समितिको पाँचौं बैठकले बिभिन्न २७ वटा निर्णय गरेको रहेछ । यी मध्ये १४ वटा निर्णय शीतलहरसम्बन्धित छन् । कतिपय निर्णयहरू दिर्घकालीन महत्वका थिए । त्यसै छैठौं बैठकमा शीतलहर व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्ने भन्ने निर्णय गरेको रहेछ । कार्ययोजना चाहिँ पाइएन ।सोधखोज गर्दा कसैले ‘म नयाँ छु’ भने, कसैले ‘जिल्लातिर बने होलान्’ भने । ती निर्णय के कति कसरी लागु भए भएनन् भनेर कसैले खोजिनिति गरेको पाइएन ।यस बर्षको जाडोका लागि कार्यकारी समितिले अघिल्लो हप्ता बैठक गर्‍यो । त्यसका निर्णय बाहिर आएका छैनन् ।

 कमजोरी सुधार्ने कुरा

हामीकहाँ जाडो सकिए पछि के कस्तो अवस्था भयो, अब के कसरी तयारी गर्नुपर्ने रहेछ भन्ने समीक्षा हुने परिपाटी छैन । कुनै विपद् घटनाबाट सिकेर अर्कोमा राम्रो गरेको बिरलै पाइन्छ । सबै समस्याको समाधान प्रशासनिक मात्रै हुन्छ भन्ने मान्यता छ । घटनाको वैज्ञानिक विश्लेषण, प्राविधिक समाधान, उपयुक्त यन्त्र औजार, सिपका कुरा धेरै टाढा छन् । सामान्य मानवीय सहायता, सुरक्षाकर्मीले चोकमा दाउरा बालिदिने, कम्बल दिने र स्वास्थ्यकर्मीले ओखतिमुलो गर्ने जस्ता प्रयाश भने सालिन्दा भएका छन् ।

शीतलहरको घटना र प्रभावसम्बन्धी जानकारी पनि यथेष्ठ संग्रह भएको छैन । गृह मन्त्रालयले डिआरआर पोर्टलमा राखेको प्रकोप क्षति बिवरण अनुसार बिक्रमसम्बत् २०४६ देखि २०७६ सम्म शीतलहरबाट जम्मा ९३८ जनाको मृत्यु भएको र ८३ जना घाइते भएको उल्लेख छ । शीतलहरबाट जम्मा २४५३ परिवार प्रभावित भएको उल्लेख छ । यो तथ्याङ्क स्वास्थ्य अनसन्धान परिषद्‌का तथ्याङ्कसँग मिल्दैन । शीतलहर जस्ता बिभिन्न प्रकोपबाट जनधनमा हुने अनेक प्रकारका हानीनोक्सानी र असरको सही लेखाजोखा र तथ्याङ्कको सङ्कलन गर्न उचित विधि, प्रविधि र दायरामा व्यापक सुधार गर्नुपर्ने देखिन्छ ।

शीतलहर तथा चिसो प्रभावित विपन्नहरूको पहिचान तथा राहत प्रदान सम्बन्धी मापदण्ड, २०६९ मा बस्तीको चोक, केन्द्रमा आगो बालेर सामुहिक राहत दिने र पीडित परिवारलाई एक थान कम्बल दिने गरी दुई वटा राहतको व्यवस्था गर्ने विधि उल्लेख छ । जाडोबाट जनजीवनका विभिन्न पक्षमा पर्नसक्ने प्रभावलाई समेटेर यसलाई सुधार गर्न सके राम्रो हुन्थो । जोखिममा रहेका र पीडित परिवारलाई अलिकति नगद सहायता पनि गर्न सकिने प्रावधान भए त घरमै चुल्हो बालेर आगो ताप्दा हुन् । तातो पानी पिउँदा हुन् । कोभिड-१९ जस्ता रोगको सङ्क्रमणको जोखिममा चोकमा आगो बाल्ने उपाय झनै मिल्दैन ।

[1]Lancet 2015; 386: 369–75 Published Online May 21, 2015. http://dx.doi.org/10.1016/ S0140-6736(14)62114-0

मंसिर २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्