हत्या अपराध हो, क्रान्ति हैन

माओवादी सशस्त्र विद्रोहको बर्बरता फेरि एकपल्ट राजनीतिका नाममा मञ्चन गरिएको छ। मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई अपहरण गरी चरम यातनाका साथ नेपाल कम्युनिष्ट पार्टी (विप्लव माओवादी) ले हत्या गरेको छ, दुई दिन पहिले।

आफ्नो शक्ति कमजोर हुँदा या राजनीति नेतृत्वमा नैतिक साहस नहुँदा अक्सर कायरता उनीहरुको हतियार बन्न जान्छ। बर्बरता र यातनाले सिर्जित गर्ने आतंकलाई आफ्नो शक्ति मान्ने भूल अक्सर यस्ता आन्दोलनकारी समूहहरुले गर्ने गर्छन्।

विप्लव समूहले एउटा शिक्षकलाई हत्या गरेर अर्को मुक्तिनाथ अधिकारी जन्माएको छ हैन? विप्लव समूहको राजनीतिक भविष्य भोलि कस्तो होला? तर शिक्षक राजेन्द्र श्रेष्ठको हत्याले साँच्चै नै उसको क्रान्तिकारिता हैन, कायरताको संकेत गर्नेछ।

विप्लव समूहले हत्याको जिम्मेवारी लिएको छ र श्रेष्ठमाथि जासुसीको आरोप लगाएको छ। माओवादी सशस्त्र विद्रोहताका पनि व्यक्तिगत रिसइबीका पात्रहरुलाई ‘वर्ग शत्रु’ ठहर गर्दै स्थानीय तहमा उनीहरुको ‘सफाया’ गरिएका कैयौँ उदाहरणहरु छन्। क्रान्तिका नाममा यो हत्याको पुनरावृत्ति कुनै पनि रुपमा स्वीकार्य हुँदैन।

परोक्ष रुपमा हिंसालाई राजनीतिक परिवर्तनको माध्यमका रुपमा सबै दलहरुले स्वीकार गरेका छन् संविधान जारी गर्दा। त्यसैले शिक्षक राजेन्द्र श्रेष्ठको विरोध गर्ने नैतिक साहस होला र अहिलेका सत्ता, प्रतिपक्ष तथा संविधानवादी शक्तिहरुलाई?

१७ हजार नेपालीहरुको ज्यान गुमेपछि माओवादी शान्ति प्रक्रियामा भित्रिए। तर, गैर माओवादी तथा नेपाली कांग्रेस, माले लगायतका अन्य प्रजातान्त्रिक र वाम दलहरुले अन्ततः सिद्धान्ततः त्यो हिंसा, हत्या र आतंकको विरोध गरेनन्। संविधान जारी हुँदा माओवादी सशस्त्र विद्रोहलाई ‘जनयुद्ध’ भन्न नमाने पनि सबै दलहरुले अतीतका यी क्रान्तिहरुको प्रशंसा गरे।

परोक्ष रुपमा हिंसालाई राजनीतिक परिवर्तनको माध्यमका रुपमा सबै दलहरुले स्वीकार गरेका छन् संविधान जारी गर्दा। त्यसैले शिक्षक राजेन्द्र श्रेष्ठको विरोध गर्ने नैतिक साहस होला र अहिलेका सत्ता, प्रतिपक्ष तथा संविधानवादी शक्तिहरुलाई?

शिक्षक श्रेष्ठको हत्याको समय रणनीतिक हिसाबले महत्वपूर्ण देखिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकपूर्व यो हत्या गरेर विप्लव समूह सायद सरकारले गम्भीरताका साथ लिनुपर्ने राजनीतिक शक्तिका रुपमा आफूलाई चित्रित गर्न चाहन्थ्यो।

माओवादी नेतृत्व र नीतिसँग विमति  राख्ने विप्लव समूहले मातृ आन्दोलनको  सबभन्दा घृणित पक्षलाई नै किन व्यवहारमा प्रदर्शित गर्‍यो?

कस्तो विडम्वना, अब प्रश्न हिजोको झापा आन्दोलनका केपी ओली या बाबुराम भट्टराई र प्रचण्डप्रति हैन, विप्लवतिर तेर्सिने छ। जनतालाई आतंकित र निषेध गरेर हतियारको राजनीतिले गन्तव्य हासिल गर्ने छैन।

मंसिर २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्