विक्रीका लागि तयारी अवस्थामा राखिएको लाखौ मूल्यको अवैध कपडा प्रहरीको नियन्त्रणमा

मोरङ-मोरङ्ग प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट अवैध रुपमा विक्रीका लागि राखिएको ३३ लाख रुपैया बराबरको कपडा नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ्गका अनुसार महानगरपालिका-७ स्थित तरुण कुमार रौनियारको गोदाममा भन्सार छली गरि भण्डारण गरी राखिएको ३३ लाख ४१ हजार ९ सय रुपैया बराबरको कपडा बरामद भएको हो।

प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले दिउँसो बरामद गरिएको अवैध कपडामा ३ हजार २ सय ८३ पिस सर्ट, २३ पिस जम्पर, ३५ पिस पेन्ट रहेको जानकारी दिए। प्रहरीले तस्करीको अवैध कपडा पसलमा राखेर बिक्री गर्ने गरेको पाइएपछि रौनियारलाई पनि नियन्त्रणमा लिएको छ।

अवैध रुपमा कपडा भण्डारण गरी बिक्री गर्ने पाइएपछि प्रहरीको टोलीले छापा हानेर कपडा बरामद गरेको मोरङ्ग प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए। उनका अनुसार भारतबाट भन्सार छली गरेर अवैध रुपमा ल्याउँदै गोदाममा भण्डारण गरेर पसलदेखि ग्राहाकलाई बिक्री गर्ने गरेको पाइएको छ।

गोदाम पसलमा छापा मार्ने क्रममा प्रहरीको टोली वानटेन ट्रक नै लिएर पुगेको थियो। त्यस क्रममा पसल सञ्चालन गरिएको घरको माथिल्लो तलामा भण्डारण गरेर राखेको अवस्थामा कपडा बरामद भएको प्रहरी प्रमुख खड्काले बताए।

यसक्रममा पसल सञ्चालक रौनियारले कपडाको कुनै पनि बिल विजक उपलब्ध गराउन नसकेको खड्काले जानकारी दिए।

ठूलो परिणाममा कपडा भण्डारण गरिएको भए पनि बिल देखाउन नसकेपछि पसल सञ्चालक रौनियारलाई पनि नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको उनको भनाइ छ। बरामद गरिएको अवैध कपडा विराटनगर भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ।

मंसिर २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्