‘कोभिडको लक्षण भएको तर पिसिआर नेगेटिभ भएको मानिसलाई निमोनियाले गाँजेको हुनसक्छ’

कोभिड निमोनियाको लक्षण लिएर मंसिर ११ मा अस्पताल आउनु भएकी ५० वर्षीया एकजना आमाको पिसिआर नेगेटिभ थियो । तत्काल गरिएको एन्टिजेन टेस्ट नेगेटिभ नै आयो । अन्ततः एन्टिबडी टेस्ट पनि पोजिटिभ आयो । यसको अर्थ हो, उहाँको शरीरमा कोभिड एन्टिबडी तयार भइसकेको थियो ।

पिसिआर र एन्टिजेन नेगेटिभ अनि एन्टिबडी पोजिटिभ भएको बिरामीलाई कसरी कोभिड अस्पतालमा उपचार गर्ने त?

हामी धर्म संकटमा पर्‍यौँ। तर, कोभिडले श्रीमान् सिकिस्त हुँदा हेरचाह गरेको (संक्रमितसँग प्रत्यक्ष सम्पर्क) र एक्सरेमा कोभिड निमोनिया रहेको आधारमा आइसीयूमा राखेर उहाँको उपचार थालियो ।

आइसीयूमा एक साता र त्यसपछि कोभिड वार्डमा उपचारपछि उहाँ १५ दिनका दिनमा डिस्चार्ज हुनु भयो । तर, यो घटनाले हामीलाई झक्झक्याएको छ । लक्षण देखिएका तर पिसिआर नेगेटिभ भएका व्यक्ति सचेत हुन जरुरी छ ।

परीक्षण नेगेटिभ आएपछि कोभिड नै होइन भनेर निमोनिया भइसकेका बिरामी कोभिडको उपचारबाट वञ्चित हुने अवस्था आउन सक्छ ।

लक्षण भएका तर, अस्पताल ढिलो आइपुग्ने बिरामीलाई पिसिआर नेगेटिभ देखिए पनि निमोनियाले गाँजेको हुन सक्छ । ५० वर्षीया आमाजस्तै पिसिआर नेगेटिभ अन्य केही कोभिडका बिरामी उपचाररत हुनुहुन्छ ।

त्यसैले पिसिआर नेगेटिभ छ भनेर वास्तै नगर्ने र पोजिटिभ आउनासाथ बिरामी भएँ भन्दै आत्तिने काम नगरौँ।

विश्वव्यापी पछिल्ला अनुसन्धानले कोभिड – १९ को संक्रमण पुष्टि भएको ९ दिनपछि शरीरमा जीवित भाइरस नरहने देखाएका छन् । त्यसैले कोभिड पोजिटिभ र नेगेटिभको गोलचक्करमा रुमल्लिनु भन्दा आफूमा देखिएका लक्षणलाई महसुस गरौँ। कडा लक्षण छन् भने अस्पताल पुग्न ढिला नगरौँ। आफू बचौँ अरूलाई पनि बचाऔँ।

(डा ‍.अनुप बास्तोला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख कन्सल्टेन्ट हुन्।  उनी कोरोना भाइरस महामारीको उपचार व्यवस्थापनमा सक्रिय भएर काम गरिरहेका छन्।)

मंसिर २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्