अव्यक्त अनुभूतिहरुको अन्तरयात्रा

‘हामी सबै (महिला तथा एलजिबिटिक्यूआई प्लस) लैंगिक आधारमा पुरुषले पाएको शक्ति र सर्वोच्चताको छायामा वा भारीमा थिचिएका छौँ वा भनौँ त्यसको छातामा अटाउँछौँ । यो लैंगिक पहिचानको भन्दा पनि लिंगका आधारमा प्रदान गरिने वा प्राप्त हुँदै आएको शक्तिका कारण भएको हो ।’

केही दिन पहिले एक भेटघाटको क्रममा एक महिला साथीले भनेकी हुन् यो । यो भनाइ पुरुषहरुको विरोध वा विपक्षमा नभई लैंगिक पहिचानका आधारमा ‘शक्तिशाली’ उपाधि दिइएकाहरुबाट हुँदै आएको व्यवहारको चित्रण हो उनको दृष्टिमा ।

त्यसपछि नेपाली बजारमा आएको एक पुस्तक पढ्दा ती महिला साथीले भनेको पुरुष शक्तिको छायाको कुरा थप स्पष्ट बनायो कम्तिमा मलाई । र त्यो पुस्तक हो, ‘बिट्वीन क्वीन्स एण्ड द सिटिज’ ।

स्वीकारोक्ति र आफ्नो स्थान वा अस्तित्व खोजीको यात्राका कथा र पात्रहरुको सरल प्रस्तुति निरञ्जन कुँवरले संस्मरणात्मक पुस्तक ‘बिट्वीन क्वीन्स एण्ड द सिटिज’ मा गरेका छन् ।

शिक्षाकर्मी तथा लेखक कुँवर समयौनिक (होमोसेक्सुअल) नेपाली पुरुष हुन्, जसले हालै आफ्नो कथा पुस्तक मार्फत साझा गरेका छन् ।

उनले पुस्तकमा आफ्नो जीवनको झण्डै २० वर्षको समय समेटेका छन् । त्यो भन्दा पहिलेको १८ वर्षका झलकहरु पनि प्रस्तुत गरेका छन्, पात्र र परिवेशहरु मार्फत ।

निरञ्जनले आफ्नो कथा सक्दो स्पष्ट र उतिकै ‘अथेन्टिक’ रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । कमजोरीहरु खुलाएका छन् । डरहरुको यात्रालाई उस्तै गरी पस्किएका छन् ।

भिडको भयले निम्त्याएको कम्पनले उनका बलिया पक्षहरु पनि लामो समयसम्म हल्लिएको पुस्तकको यात्रा अघि बढ्दै जाँदा थाहा हुन्छ ।

अरु भन्दा फरक हुँदा अन्तरमनमा निम्तिएको विचलन, सन्त्रास र ग्लानिहरुमा बितेका समयहरु निरञ्जनले पुस्तकमा समेटेका छन् ।

नजिक आउन खोज्दा पर धकेलिएका विषमता छन् । त्रासहरुले आफैलाई पर हुत्याउँदाका खालीपन पनि छन् । उनको पुस्तकमा ती परिवेश र समयहरु छन् जहाँ पछि हेर्दा कहाली लाग्छ, अघि केही देखिँदैन ।

अस्थिरताहरुले पुर्‍याएको मनोसामाजिक क्षति, झाँगिएको नैराश्य र एक्लोपनको डरलाई लेखकले आँट गरेर पस्केका छन् । पुस्तकमा उनले आफ्नो जीवनको १९ देखि ३८–३९ वर्षका यात्रा समेटेको भए पनि त्यो भन्दा पहिले बाँचेको जीवन र पात्रहरु जोडिएका छन् स्पष्ट रुपमा । त्यो समयले दिएका खुशी र पीडाहरु, त्रास र उत्साहहरु, यथार्थ र सपनाहरु उनले पाठकमाझ ल्याएका छन्।

एलजिबिटिक्यूआई प्लस (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेण्डर, क्वेयर, इन्टरसेक्स र अरु यौनिकता तथा लैंगिकता) व्यक्तिका कथाहरु नेपाली समाजमा निकै न्यून भनिएका छन् ।

त्यो खालीपनका बिच निरञ्जनले आफ्ना कथा पुस्तक स्वरुपमा प्रस्तुत गरेर नयाँ प्रयासको थालनी गरेका छन् । उनले पुस्तकमा फरक यौनिक पहिचानकै आधारमा गर्नु परेको मनोसामाजिक रुपमा अस्थीर यात्रालाई एकत्रित गरेका छन् ।

परिवार, साथीभाइ, आफन्त र वरपरको परिवेशले दिएका आड भरोसा र छोडेका साथहरुले दिने आँट एवम् टुटाउने आत्मबल निरञ्जनको पुस्तकमा छ ।

यो पुस्तक एक समयौनिक पुरुषको नितान्त व्यक्तिगत यात्रा हो, जसमा त्यो यात्राको समय, परिवेश, सामाजिक व्यवस्था र त्यसका प्रभावहरु चित्रित छन् ।

व्यक्तिगत अनुभुतिहरुको संग्रह भए पनि यसले उनले बाँचेको समय र त्यो परिवेशमा विशेष गरि यौनिक तथा लैंगिक पहिचानका आधारमा फरक लाइनमा आफूलाई पाउनेहरुले भोग्नु परेको सामाजिक र अन्तरमनको द्वन्द्वलाई चित्रित गर्छ । त्यस अर्थमा यो कैयौँ अव्यक्त अनुभूतिहरुको साझा कथा पनि हो ।

तर व्यक्तिगत अनुभुतिहरुको संग्रह भए पनि यसले उनले बाँचेको समय र त्यो परिवेशमा विशेष गरि यौनिक तथा लैंगिक पहिचानका आधारमा फरक लाइनमा आफूलाई पाउनेहरुले भोग्नु परेको सामाजिक र अन्तरमनको द्वन्द्वलाई चित्रित गर्छ । त्यस अर्थमा यो कैयौँ अव्यक्त अनुभूतिहरुको साझा कथा पनि हो ।

निरञ्जनले पुस्तक मार्फत पाठकलाई काठमाडौँ हुँदै अमेरिकाको भिडभाड र भागदौड युक्त शहर न्यूयोर्क, त्यस आसपासका बजार तथा बस्तीहरुको यात्रा गराएका छन् । उनका साथीहरुलाई चिनाएका छन् ।

साथीहरुले दिएको आँट, पाएका वियोगहरु, साथहरु, गरेका रमाइलोहरु, जोडिएका लतहरु र ति सबैले निम्त्याएको खालीपनलाई सक्दो साँचो बनेर प्रस्तुत गरेका छन् ।

आफूलाई स्वीकार गर्न र स्वतन्त्र भएर बाँच्ने चाहका बिचमा आएका आफै भित्र तथा सामाजिक अवरोधहरुको प्रस्तुति ‘अथेन्टिक’ छ । डरको पर्खाल तोड्ने प्रयासमा गर्नु परेको मनोवैज्ञानिक विचलन र त्यसले सम्बन्धहरुमा पारेका प्रभाव, गरिएका गल्तीहरु लुकाएका छैनन् ।

आर्थिक, शैक्षिक रुपमा ‘प्रिभिलेज्ड’ वर्गमा परे पनि उनले यौनिक पहिचानकै आधारमा गर्नु परेको असहज यात्रासँग कम्तीमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले कुनै न कुनै रुपमा आफ्नो यात्राको केही अंश वा परिवेश भेट्टाउँछन् ।

अंग्रेजी भाषामा पहुँच भएकाहरुलाई यो पुस्तकमा निरञ्जनको भाषिक तथा प्रस्तुतिगत बान्कीले बाँधेर राख्छ । भनिनु पर्ने कथा निरञ्जनले आँट गरेर भनेका छन् ।

यौनिक तथा लैंगिक पहिचानमा आफूलाई एलजिबिटिक्युआई प्लसको छातामा पाउनेहरु मात्रै नभएर समग्रमा सामाजिक तथा पारिवारिक परिवेशका कारण व्यक्तिले गर्नु पर्ने दुर्गम मनोसामाजिक यात्राबारे थाहा पाउन इच्छुकहरुका लागि यो पुस्तक उपयोगी र प्रिय लाग्न सक्छ ।

परिवारसँग आफ्नो यौनिक पहिचान खुलाउन र वास्तविक आफू भएर डर बिना बाँच्नका लागि खुल्ने आँट जुटाउने क्रममा निरञ्जनलाई साथी हुवानले पठाएको पत्रले पुस्तकलाई बलियो बनाएको छ मेरो दृष्टिमा । सो पत्रले साथको महत्व दर्शाएको छ । अप्ठ्यारोमा ‘म छु है तेरो साथमा’ भन्ने ढाडस दिन्छ र साथी हुनुले दिने आँट र आत्मविश्वासलाई देखाउँछ ।

उनले गल्तीहरु स्वीकारेका छन् । दोषहरु (आफै र अरुलाई लगाउने) को खेलबाट मुक्त हुने प्रयास गरेका छन् । आफूलाई ख्याल गर्ने प्रयास गरेका छन् । सम्बन्धहरुलाई व्यवस्थित गर्न प्रयास गरेका छन् । हुँदा हुँदै पनि एक्लोपनको भयबाट उनी माथि उठ्न सकेका छैनन् र त्यसलाई लुकाएका छैनन् ।

र अन्त्यमा, ६ अध्यायमा विभाजित पुस्तकमा हरेक अध्यायको सुरुमा चित्रहरुको कोलाज छ, जसले सम्पूर्ण अध्यायको कथा बोल्छ । अध्याय सकिएपछि सो चित्र हेर्दा पढिएका कुराहरु त्यहाँ देखिन्छन् अझ स्पष्ट रुपमा ।

यद्यपि, यो पुस्तक समीक्षा होइन । मैले यो पुस्तक पढेपछिको व्यक्तिगत प्रतिक्रिया हो । व्यक्तिगत रुपमा भन्दा नेपाली बजारमा आएका पछिल्ला पुस्तकहरु मध्ये मलाई मन परेको पुस्तक हो ।

निरञ्जनको कथाले सँगै हिँडाएको पुस्तकमा केही अरुका कथा पनि छन् । केही कथाहरु बिचमै कतै छुटे जस्तो पनि लाग्छ । तर ती सबैको हाँगो भने उनीसँगै जोडिएको पाइन्छ।

श्रव्य सामग्री पनि :

मंसिर २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्