
काठमाडौँ – निर्जिवन बीमा कम्पनीहरुले कोरोना भुक्तानीमा ढिलाइ गरेको गुनासो आइरहेको छ। शिखर इन्स्योरेन्सका कार्यकारी प्रमुख दीपप्रकाश पाण्डेले कोरोना बीमा भुक्तानीमा ढिलाई भएको स्वीकार गर्दै अबको एक/डेढ महिनामा दाबी भुक्तानी आफ्नै लयमा फर्कने जानकारी दिए।
असोज, कार्तिक र मंसिरमा संक्रमितहरुको संख्या ह्वातै बढेकाले उनीहरुको पहिचानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इसीडीसी) मा पठाउनु पर्ने भएकाले केहि समय ढिला भएको उनले बताए।
उनले देशसञ्चारलाई भने, ‘खासगरी असोज, कार्तिक र मंसिरमा संक्रमितको संख्या बढेपछि कोरोना संक्रमितहरु ह्वातै बढे। नेपाल सरकारले पनि निजी अस्पतालहरुलाई परीक्षणका लागि अनुमति दियो। पछि कोरोनाबाट फाइदा लिन थाले भनेपछि हामी पनि सजग भयौँ।’
निर्देशक पाण्डेका अनुसार अहिले जस्तो अवस्था भुकम्पका बेला पनि आएको थियो। त्यो समयमा पनि दाबी भुक्तानीमा बीमा कम्पनीहरुले ठगी गर्न लागको आरोप समेत लगाएको उनले सुनाए।
‘जस्तो भुकम्पका बेला पनि एकैचोटी सबैलाई भुक्तानी दिने अवस्था थिएन। त्यो बेला पनि इन्स्योरेन्स कम्पनीहरुले भुक्तानी दिँदैन्। ठगि भयो, ढिला भयो भन्ने कुरा नआएका हैनन्’ उनले देशसञ्चारलाई भने, ‘पछि हामीले विस्तारै भुक्तानी दियौ। अहिले पनि लगभग त्यस्तै अवस्था भएको छ।’

हालसम्म आफूहरुले ‘पुल म्यानेजर’ मा कागजात पुरा भएर आएका १९ हजार २ सय ५ वटा मध्ये करिब ९ हजार २ सय ८२ लाई ९० करोड ५० लाख दाबी भुक्तानी गरिसकेको पाण्डेले जानकारी दिए।
उनका अनुसार २ हजार २ सय १८ वटा अन्तिम चरणमा भएकाहरुका आजभोली तिरि सकिने र करिब ११ हजार ५ सय दाबी भुक्तानी हप्ताको अन्तिमसम्म सकिने योजना सुनाए।
‘हामीले इसीडीसीमा पहिचानका लागि करिब ३ हजार फाइल पठाएका छौ। कागजात नपुगेका ११ सय ५० फाइल र्फिता पनि पठाएका छौँ। अब हाम्रो प्रक्रियामा ३ हजार ४ सय जति फाइल छन्। २६ वटा नक्कली फाइलहरु पनि आएका छन्’ उनले अगाडि भने, ‘यो एक डेढ महिनाको काम हो। हाम्रो आंकलनमा ३०–३५ हजार पुगिसकेको हुनुपर्छ। अर्को २० हजार फाइल इन्स्योरेन्स कम्पनीमा छन्।’
अब दिनको ७ सयदेखि १ हजारसम्म दाबी भुक्तानी ग¥यो भने २० हजार दाबी भुक्तानी एक महिनामा सकिने र त्यसपछिको अवस्था सामान्य हुनेको भनाइ छ।
दाबी भुक्तानीमा दाहोरिने समस्या बाधक बनेको पनि पाण्डेको अनुभव छ। कोरोना बीमा गर्नेको संख्या बढ्न थालेपछि यस्तो समस्या आएको उनले बताए।
‘कोरोना बीमा विस्तारै व्यक्ति, संस्था, परिवार सबैले गर्न थाले एकै व्यक्तिको दोहोरिने भयो। त्यो कुरा उनीहरुलाई थाहा पनि हुर्दैन। हामीले त्यसरी दाहोरिएका ८ जना बीमितहरुको पहिचान गरेका छौँ। पहिचानपछि उहाँहरुले रकम फिर्ता पनि गर्नुभएको छ। यी कारणले पनि भुक्तानीमा ढिला भएको हो, उनले भने।
उनले अब पुराना दाबी भुक्तानी छिटोभन्दा छिटो गर्ने र आगामी कामलाई ‘होल्ड’ नगर्ने बताए। ‘यो सरकारको पैसा हो। इन्स्योरेन्स कम्पनीहरुले आफ्नो तिर्नुपर्ने तिरिसकेको छ। हामीले सय करोडको क्लेम तिरिसकेका छौ’ उनले भने, ‘ ब्याकलक किलियर गर्न तिर लागेका छौँ।’
उनले कोरोना बीमा दाबी भुक्तानीका लागि सबै कागजात पुरा भएको खण्डमा कुनै झन्झट नहुने र समयमा नै भुक्तानी हुने बताए।
‘बीमा कम्पनीहरुले दाबी भुक्तानी दिनुपर्छ। शिखर इन्स्योरेन्स पुल म्यानेजर भएको नाताले तिर्छ। यसले कुनै बीमा कम्पनीलाई डुबाउँदैन पनि। अलि समय लागेकै हो। अब पनि पुरानो भुक्तानीका लागि एक महिना जति लाग्छ। त्यस पछि लयमा जान्छ, उनले भने, ‘अलि ढिलो भयो। बीमति वर्गहरुसँग क्षमा माग्छ। प्रिमियम चाडै भुक्तानी हुन्छ।’
दाबी भुक्तानीका लागि बीमितले भदौ २८ अगाडी संक्रमण भएको अवस्थामा पीसीआर रिर्पोट, पोलेसीको सक्कल, दाबी फारम, ल्यानुपर्ने छ भने, त्यसपछिको पोलसीमा होम आइसोलेसन बेसेको अवस्थामा स्थानीय निकायको सिफारिस या अस्पतालमा बसेको खण्डमा डिस्चार्ज पेप्पर तथा बिल भौचर ल्याउनुपर्ने पाण्डेको भनाइ छ।
निर्देशक पाण्डले कोरोना बीमा हुने खाने वर्गभन्दा पनि हुँदा खाने वर्गहरुलाई लक्षित गरी ल्याएको उल्लेख गरे। यस्तै कोरोना बीमाले मानिसको जीवनमा बीमाको महत्व बुझाएको उनको भनाइ छ।
जनमानसमा बीमा मानिसहरुको आवश्यकता रहेछ भन्ने कुरा पनि कोरोना भाइरसले सिकाएको पनि उनले बताए। ‘यसले मान्छेलाई औषधी खर्च गर्न राहत दिएको छ।
सबैभन्दा मुख्य कुरा ‘मान्छेले पढेर भन्दा परेर जानिन्छ भन्छन्। तर धेरै मानिसहरुले पढेर पनि गरेका हुर्दैनन्। तर परेर चाहिन्छ भन्ने पाठ यसले सिकाएको छ’ उनले भने, ‘तर कोरोना आएपछि ती नै मानिसहरुले बीमा गरेका छन्। बीमाको महत्व बुझेका छन्।’
कोरोना बीमाले पाठ मात्र नसिकाएर बन्दाबन्दीका आर्थिक क्रियाकलाप पनि बढाएको बताए।