राजु अधिकारीको कथा (भिडियो स्टोरी)

सडक बालक बने हकीका राष्ट्रिय खेलाडी

खुला आकाशलाई छानो र धर्तीलाई ओछ्यान बनाएर सुतेका उनी कसैले पानी छ्यापेसँगै ब्युँझिन्थे बिहानीमा। अरुले फ्याँकेका चुरोटका ठुटा खोजेर सल्काउँथे। भोक लागे डेन्ड्राइटको नशामा लठ्ठिएर भोक बिर्साउँथे।

रातभरको जाडोमा कक्रक्क परेको जिउ सोझ्याउँदै फोहोरको थुप्रोमा प्लाष्टिक बटुल्न थाल्थे। बिना कारण पुलिसको डण्डा खानुपरेको तीतो अनुभव छ उनीसँग।

आमाबुवाको काखमा खेल्ने उमेर उनले सडकमै बिताए।

समय र परिस्थितिले कोल्टे फेरेसँगै डेन्ड्राइट लिने हातले आज हक्कीको ब्याट समाएका छन्। सडकपेटीमा सुतेका बेला पानी छ्याप्ने तिनै हातहरुले आज ‘तिमीप्रति गर्व छ’ भनेर आशिर्वाद दिन्छन्।

सडक बालकका रुपमा रहेका बेला राजु अधिकारी। तस्बिर सौजन्यः राजु अधिकारी।

यो कुनै फिल्मको कहानी होइन। करिब एक दशक सडकमा जीवन बिताएका हेटौँडाका राजु अधिकारीको कथा हो। आज उनी हकीका राष्ट्रिय खेलाडी भएका छन्।

उनले प्रदेश स्तरीय प्रतियोगिता हुँदै इण्डो–नेपाल इन्टरनेशनल बल हकी फ्रेन्डसिप सिरिज–२०२० खेलिसकेका छन्। उनकै कप्तानीमा भएको नेपाल र भारतबीचको फेन्डसिप म्याचमा नेपालले जित हासिल गरेको थियो।

‘पहिलो पटक जित्दा धेरै खुसी भएको थिएँ। यति धेरै खुसी सायद जीवनमा कहिल्यै भएको थिइनँ,’ देश सञ्चारसँगको कुराकानीका क्रममा उनले भने।

चार वर्षअघि उनी जिल्ला टुर्नामेन्टका लागि छनोट भएका थिए। झापा पुगेर उनले प्रदेशस्तरीय खेल खेले र सातौँ राष्ट्रिय खेलकुदमा छनोट भए। उनले आठौँ राष्ट्रिय खेलकुदमा पनि भाग लिए, नेपालगञ्ज पुगेर।

यो त भयो राजुको सफलताको कथा।

तर राजु यहाँसम्म कसरी आइपुगे? उनको भेट अर्पण पराजुलीसँग नभएको भए? उनै अर्पणले हेटौँडाका सडक बालबालिकाको उद्धार गर्ने ‘मामाघर नेपाल’ सञ्चालन नगरेको भए?

‘सायद मलाई मेरै आमाबुवाको त्यति माया लाग्दैन, जति अर्पण मामाको लाग्छ। मेरो भगवान् भनेपनि जे भनेपनि उहाँ नै हो। मलाई माया भन्ने के हो नै थाहा थिएन। उहाँले केयर गरेको देखेर माया भनेको यस्तो रहेछ भनेर बुझेँ। मलाई मेरो आफ्नो नाम पनि थाहा थिएन, म को हो? कहाँ बस्छु? त्यो अवस्थाबाट यहाँसम्म ल्याउनु भयो, त्यसको लागि धेरै संघर्ष मैले पनि गरेको छु। मामाले पनि गर्नुभएको छ,’ बोल्दा बोल्दै उनी रोकिए।

उनले आफ्ना बुवाआमा बितेको पनि थाहा पाएनन्। बुवा बितेको ५ महिनापछि र आमा बितेको २२ दिनपछि थाहा पाएको राजु बताउँछन्। सानैदेखि आमाबुवाको माया नपाएका उनलाई खासै दुःख लागेन त्यो क्षण पनि।

साथीहरुसँग राजु।

उनका बुवा अधिकारीका छोरा र आमा परियारकी छोरी। जात नमिलेका कारण भागेर बिहे गरेका उनीहरुबीच समय बित्दै जाँदा दिनरात झगडा पर्न थाल्यो। उनीहरु हेटौँडामै बस्थे।

रक्सी पिएर उनका बुवा सधैँ आमालाई र उनलाई कुट्थे। त्यसैले उनी ६ वर्षको हुँदा घर छोडेर सडकमा पुगे। त्यही बेलादेखि नै उनको सडकको जीवन सुरु भयो। हेटौँडाकै सडकहरु उनको घर बन्न थाले।

पुराना दिन सम्झिँदै राजु भन्छन्, ‘सडकको पेटीमा सुत्दा पनि जाडो महिनामा मान्छेहरुले खाते भनेर बाल्टिनको पानी खन्याइदिन्थे। बाहिरको मान्छेले चोर्‍यो भने पनि हामीलाई समातेर पुलिसले चौकीमा लग्थ्यो। त्यहाँ उम्रेको झार, ट्वाइलेट सबै सफा गर्न लगाउने, अनि बेलुका भएपछि छोड्दिने। त्यसैले हामी हेटौँडाबाट भागेर कहिले काठमाडौँ त कहिले चितवनसम्म पुग्थेम्।’

काठमाडौँका हनुमानढोका, न्यूरोड, ठमेल, असन लगायत ठाउँमा उनले चार वर्ष सडकमा बिताएका छन्।

राजु भन्छन्, ‘सडकको जीवन बिताउँदा बेलुका यो ठाउँमा बस्छु भनेर कुनै टुङ्गो नै हुँदैनथ्यो। जहाँ रात पर्‍यो त्यहीँ बास बसिन्थ्यो। जाडोको समयमा घरको पेटीमा, पानी नपर्ने ठाउँमा, गर्मीको समयमा जस्तो ठाउँमा पनि सुतिन्थ्यो। डेन्ड्राइटको नशाको तालमा कहाँ सुतेको हामीलाई केही थाहा हुन्नथ्यो।’

डेन्ड्राइटबारे राजु भन्छन्, ‘भर्खर भर्खर बाटोमा जाँदाको क्षण बेलुका धेरै नै जाडो हुन्थ्यो, सुत्न सकिँदैनथ्यो। तर डेन्ड्राइट खाएपछि जाडो हुँदैनथ्यो। आनन्दले मीठो निन्द्रा आउँथ्यो।’

र्‍यापर स्वर्गीय यमबुद्धका ठुलो फ्यान हुन् राजु। यमबुद्धले सडक बालबालिकाबारे गाएका गीत आफ्नो जीवनमा मेल खाएको जस्तो लाग्छ राजुलाई। भन्छन्, ‘काठमाडौँमा सडकमा बस्दा मैले उहाँलाई भेटेको पनि थिएँ। उहाँको फुटपाथ भन्ने गीत मेरै जीवनको कहानी जस्तो लाग्छ।’

काठमाडौँमा पनि धेरै संस्थाहरुमा बसे राजु। तर १–२ दिन बसेपछि डेन्ड्राइट र चुरोटको तल्तल भएपछि त्यहाँबाट भाग्थे।

‘त्यहाँ बस्दा पढ्यो भने खान पाउने नत्र खान नपाउने सिस्टम हुन्थ्यो। त्यही हिसाबले हामी बरु बोरा बोक्न जाने नपढ्ने। बोरा बोक्दा नै खुसी मिल्थ्यो,’ उनी आफ्नो विगतमा फर्किए।

सडक जीवन बिताउँदा खान पाउँदैनथे। शुक्रबार बसन्तपुरको कालभैरव मन्दिरमा खाना खुवाउन केही मानिसहरु आउँथे। त्यही खानाका लागि उनी आफ्ना साथीहरुसहित जति टाढा भएपनि हिँडेर त्यहाँ पुग्थे।

कसरी भेट भयो अर्पण पराजुलीसँग?


२०६७ सालतिर अर्पण पराजुली स्नातकोत्तर सकिएपछि थेसिसको तयारीमा थिए। यसका लागि उनले सडक बालबालिकासँग सम्बन्धित विषय रोजे। उनी सडकमा जीवन बिताइरहेका बालबालिकाको खोजीमा लागे। सोहीक्रममा राजु लगायतका सडक बालकहरुसँग उनको भेट भयो।

एकदिन राजु र उनका साथीहरु बाटोमा हिँड्ने मानिसहरुसँग मःम माग्दै थिए। कसैले नदिएपछि उनीहरु खाजा पसलमा अरुले मःम खाएर छोडेका थाल चाट्न थाले। यो दृश्य अर्पणले नियालिरहेका थिए।

राजु र उनका साथीहरुसँग अर्पण पराजुली।

अर्पणले उनीहरुलाई बोलाए। ‘तिमीहरुलाई मःम खुवाउँछु’ भने।

राजु त्यो क्षण सम्झिन्छन्, ‘अर्पण मामाले मःम खुवाउँछु यता आऊ भनेर बोलाउँदा यसले पनि हामीलाई पिट्ने हो कि भनेर जानै मन लागेको थिएन। तर भोलिपल्ट बेलुका फेरि आउनु भयो। ४–५ जना केटाहरु जम्मा भएका थिए। सबैलाई मःम खुवाउनु भयो।’

त्यसपछि विस्तारै अर्पणले उनीहरुलाई नयाँ कपडाहरु किन्दिने, कपाल काट्दिने, खाना खुवाउने गर्न थाले। राजु र उनका साथीहरुसँग अर्पण ५२ दिन सडकमा उनीहरुको जस्तै कपडा लगाएर बसेका थिए त्यतिबेला।

त्यसपछि अर्पणले एउटा कोठा भाडामा लिएर ‘मामाघर परियोजना’ नामक संस्था सुरु गरे। उनीहरुलाई आफैसँग घरमा बस्न आग्रह गरे।

राजु भन्छन्, ‘एकदिन अर्पण मामाले म तिमीहरुलाई घरमा राख्छु जान्छौँ? भनेर सोध्नुभयो। हामीलाई पनि त्यतिबेला घरमा बस्दा त मीठो खान पाउँछ, तातोमा सुत्न पाउँछ भन्ने कुराको लोभ भयो। तर घरमा आइसकेपछि हामीलाई समय बिताउन धेरै नै गाह्रो भयो।’

सुरुवाती दिनमा राजु र उनका साथीहरु बेलुका सुत्नेबेला मात्र मामाघर आइपुग्थे। दिनभरि यताउता बजारमा डुलेर बिताउँथे।

राजु र उनका साथीहरु खाना खाँदै।

राजु थप्छन्, ‘एकचोटि भागेर हिँड्दै पालुङ पुगेको थिएँ। पछि गोडा दुखेर त्यहाँबाट हिँड्न नसकेपछि यतै सडकमा आएर बसेँ, अनि अर्पण मामाले भेट्टाएर यस्तो गर्न हुँदैन, तिमीलाई नराम्रो हुन्छ, तिम्रै लागि हो भनेर सम्झाउनु भयो अनि फेरि मामाघरमै गएर बसेँ।’

अर्पणले उनीहरुलाई स्कुल पठाए। स्कुलमा पढ्ने साथीहरुले सडकमा बसेको ‘खातेहरु’ भनेर हेप्थे। टाढा हुन खोज्थे।

‘सानोदेखि नै बाटोमा बसेँ, एक्कासी मामाघर आएपछि पढ्न गएँ। पढ्न जाँदा आफूभन्दा सानो–सानोसँग पढ्न अप्ठ्यारो हुन थाल्यो। पढ्नुभन्दा कुनै काम सिक्छु जस्तो लाग्न थाल्यो। त्यसैले गर्दा अहिले लाइन सम्बन्धी वाइरिङ, प्लमबिङहरु सिकिराको छु,’ उनले भने।

हकी खेलप्रति उनको आकर्षण कसरी भयो त ?

जवाफमा राजु भन्छन्, ‘मामाघरमा एकदिन एकजना दिदीले एउटा बल र ब्याट सहयोग गर्नु भएको थियो। क्रिक्रेट जस्तै देखेर हामीहरु खेल्थेम्। त्यसपछि हेटौँडाकै मनोज शर्मा (हकी टिचर)ले हामीहरुले खेलेको देखेर अर्पन मामासँग मिल्छ भने म हजुरको भान्जाहरुलाई ट्रेनिङ दिन्छु भन्नुभएको रहेछ। त्यही हिसाबमा उहाँले सिकाएपछि हामी विस्तार अगाडि बढेको हो।’

हकीको अभ्यास गर्दै राजु।खेलमै लागेर जीवन चलाउन गाह्रो हुने ठानेर  उनी अचेल सीप सिक्न थालेका हुन्।

‘खेलमै साथ दिने मान्छे भयो भने म यसमै अगाडि बढ्छु। तर यसमा मात्रै भर परेर पनि जिन्दगी चलाउन गाह्रो पर्ने रहेछ। सधैँभरि गेम पनि नहुन सक्छ। भोलि खेल्दा केही दुर्घटना होला, त्यही कारणले एउटा केही सीप सिकेको राम्रो,’ उनी सीप सिक्न थाल्नुको रहस्य खोल्छन्।

राजुका भाइ राजा पनि अहिले ‘मामाघर नेपाल’मै छन्। ८ वर्षपछि राजुले आफ्नो भाइलाई भेटेका हुन्। भन्छन्, ‘यहाँ ल्याएको त आठ महिना जति भयो तर बाटोमा बसेको बानी दुई–तीन पटक भागिसक्यो। राति १२ बजे उठेर भागेछ। अहिले तिहारबाट आएपछि यतै छ। स्कुल जाँदैछ, पढ्दैछ। भाइले विस्तारै चुरोट अनि डेन्ड्राइट छोड्छ भनेर छुर्पी खुवाउँछु।’

राजु सानैमा घर छाडेर हिँडे पनि भाइ बुवाआमासँगै थिए। पछि बुवाको निधन भएपछि आमाले छोडेर गइन्। त्यसपछि भाइलाई अंकलले पाल्छु भनेर लिएर गए। तर लामो समय बस्न सकेनन्। राजा पनि राजुजस्तै सडकमा पुगे।

राजुका भाइ राजा।राजुलाई कहिलेकाहीँ लाग्छ– आफूहरुकै कारणले अर्पणले पनि अपमानित हुनुपरेको छ, तिरस्कार सहनुपरेको छ। यस्तो अवस्थामा पनि आफूहरुको साथ नछोडेको राजु बताउँछन्।

‘मामाको साथ पाएर त हो आज यहाँसम्म आइपुगेको। मामाघरको लागि म जे पनि गर्न सक्छु। सायद मेरो परिवारले पनि मेरो लागि यति गर्दैनथ्यो होला जति अर्पन मामाले गर्नुभयो,’ रुन्चे हाँसोमा राजु भन्छन्।

जन्मदिन भनेको के हो पनि मामाघर आएपछि थाहा पाए राजुले। मामाघर नेपाल आएको दिनलाई उनले आफ्नो जन्मदिनको रुपमा मनाउँछन्।

अर्पणकै बाटोमा हिँड्न चाहन्छन् राजु पनि। साँझपख बाटोमा खान नपाएका बालबालिका भेटिन्छ कि भनेर खोज्न जान्छन् बाटोतिर।

अर्पणले भनेका कुरा सम्झिँदै राजु भन्छन्, ‘मामाले मलाई आफूले खाए पेट भरिन्छ, आफूसँगै अरुले खाए आत्मा भरिन्छ भनेर सिकाउनुहुन्छ सधैँ। आजभोलि कोरोना भाइरसको त्रासले गर्दा जाँदैनौँ नत्र साँझपख हामी बाटोमा बच्चाहरु भेटिन्छ कि भनेर जान्थेम्। पहिला सबै कुरा बुझ्छौँ, उसको कन्डिसन के छ अनि मात्र ल्याउँछौँ।’

कसरी रह्यो ‘मामाघर नेपाल’को नाम?


मामाघर नेपालको भवन।

एकदिन अर्पणले हेटौँडा बसपार्कमा राजु र उनका साथीहरु गोलो घेरा बनाएर राखे। अनि भने, ‘सबैले आआफ्नो परिचय देऊ।’

उनीहरुलाई ‘परिचय’ भनेको के हो थाहा थिएन। गलल्ल हाँसे सबै।

त्यसपछि अर्पणले भने, ‘नमस्कार म अर्पण पराजुली। म तिमीहरुलाई मःम खुवाउन आउन मान्छे।’

उनीहरु फेरि हाँसे। अर्पणले फेरि सोधे,‘किन हाँसेको फेरि?’

त्यतिबेला राजुहरुको ग्याङको लिडर थिए–प्रशान्त ढकाल।

केहीबेरपछि प्रशान्तले भने –मेरो मामा पनि पराजुली हो नि।

अर्पण पराजुली।

प्रशान्तको कुरा सुनेपछि अर्पणले भने– त्यसो भए तिमीहरु पनि अबदेखि मलाई मामा भन न त।

त्यसपछि सबैले अर्पण पराजुली सबैका मामा भए। त्यसै नामबाट संस्थाको नाम ‘मामाघर नेपाल।’

एउटा कोठा लिएर २०६७ बाट सञ्चालन गरिएको ‘मामाघर नेपाल’ अहिले आफ्नै भवनमा सरिसकेको छ। स्थानीय बासिन्दा र हेटौँडा उपमहानगरको सहयोगमा संस्था आफ्नै भवनमा सरेको हो। संस्था ‘मामाघर परियोजना’ नामबाट सुरु भएपनि २०७० मा नाम परिवर्तन गरेर ‘मामाघर नेपाल’ बनाइएको हो।

‘मामाघर नेपाल’ले हालसम्म करिब २०० बालबालिकाको उद्धार गरिसकेको राजु बताउँछन्।

राजुका अनुसार मामाघर सञ्चालन हुँदा सुरुमा २७–२८ जना बालकहरु थिए। आज झण्डै दुई दर्जन बालक छन्। केहीलाई सुधारकेन्द्रमा पनि राखिएको राजु बताउँछन्।

राजु अधिकारी।

हिजो उनी आफै सडकमा बेसहारा भएर कसैको सहारा खोजिरहेका थिए। आज उनै राजु आफूजस्तै दुःख पाएकाहरुका लागि केही गर्न चाहन्छन्। हिजोको आफ्नो अवस्था सम्झिन्छन्, आज आफूलाई हेर्छन्, आफैमाथि गर्व लाग्छ राजुलाई।

तस्बिर सौजन्यः राजु अघिकारी। 

पुस ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्