सम्पादकीय

निरङ्कुश ‘गणतन्त्र’

सत्ताधारी नेपाल कम्‍युनिष्ट पार्टीको आन्तरिक विवादले एउटा असहज र अराजक परिस्थिति निर्माण गरेको छ। संविधानको अभिभावकीय भूमिकामा रहेकी राष्ट्रपति सत्ताधारी दलको गुटीय युद्धमा खुलेरै होमिएकी छन् भने प्रधानमन्त्री ओलीले सर्वसत्तावादको पगरी गुथ्न कुनै कसर बाँकी राखेनन्। शनिबार राति र आइतबार बिहानका बीच तीन/तीनपटक भेटघाट गरी अन्तत: ओलीले संसद विघटनको शीतल निवास सिफारिस पठाए र शीतल निवासले संविधान हैन, ओलीको स्वार्थको सर्वोच्चता स्वीकार्‍यो। अब कतैप्रति जवाफदेही नबनी शासन चलाउने अवसर राष्ट्रपतिले ओलीका लागि जुटाइदिएकी छिन्।

त्यतिमात्रै हैन, मंसिर ३० गतेको मिति राखेर संवैधानिक परिषद्‌ले निर्णय गरको भन्‍दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्ति गरिएको छ। यसले एउटा कुरा स्पष्ट गरेको छ: ओली सरकार अब राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध खनिनेछ, नियन्त्रित अख्तियारमार्फत। प्रजातन्त्रको हुर्मत लिने यो खतरनाक कुकृत्यले ‘गणतन्त्र’को सर्वोच्च कार्यालयको सान्दर्भिकताबारे प्रश्‍न उठ्ने वातावरण बनेको छ।

संवैधानिक परिषद्‌लाई सम्पूर्ण रुपमा प्रधानमन्त्रीको कठपुतली बनाउने आध्‍यादेश फिर्ता लिएको घोषणापछि त्‍यसैका आधारमा भएका नियुक्ति संसद विघटनपछि मात्र घोषित हुनु संविधानमाथिको बलात्कार हो। नेपालको राजनीतिक इतिहासमा ओलीको पछिल्लो कदमले उनी र राष्ट्रपतिलाई खलपात्रका रुपमा उभ्याउने छ।

त्यतिमात्र हैन, संवैधानिक परिषद्‌लाई सम्पूर्ण रुपमा प्रधानमन्त्रीको कठपुतली बनाउने आध्‍यादेश फिर्ता लिएको घोषणापछि त्‍यसैका आधारमा भएका नियुक्ति संसद विघटनपछि मात्र घोषित हुनु संविधानमाथिको बलात्कार हो। नेपालको राजनीतिक इतिहासमा ओलीको पछिल्लो कदमले उनी र राष्ट्रपतिलाई खलपात्रका रुपमा उभ्याउने छ।

पक्कै पनि ओलीको आफ्नै दलभित्र समस्या थिए। त्‍यसको व्‍यवस्थापन उचित रुपमा हुन नसक्दा उनी एक्लिए। तर विधिवत रुपमा तथा जनताबाट निर्वाचित प्रधानमन्त्रीले संविधानको सीमा नाघ्‍न पाउँदैन, राष्ट्रपति आफ्नो पक्षमा भएकै आधारमा।

यो समग्र राजनीतिक षड्यन्त्रमा अर्को पनि एउटा खतरनाक पाटो छ। यदि प्रधानन्‍यायाधीश चोलेन्द्रशमशेर राणाको समेत संलग्‍नतामा यो कथित र अपारदर्शी संवैधानिक नियुक्त भएका छन् भने राष्ट्रपति भण्डारी र ओली जसरी नै राणा पनि जनआक्रोशको सिकार बन्‍नेछन्।

पुस ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्