गंगामाया अधिकारीले सुरु गरिन् १२ औँ अनशन

‘जीवनमा मैले अमूल्य चिज गुमाइसकेँ, तड्पिएर बाँच्नुभन्दा अनशन बसेरै मर्छु’

२०६१ साल जेठ २४ गते छोरा कृष्णप्रसाद अधिकारीले ज्यान गुमाए। छोराको न्यायका लागि लडिरहेका बाबु नन्दप्रसाद अधिकारीले २०७१ साल असोज ६ गते प्राण त्यागे। १६ वर्ष अगाडि ज्यान गुमाएका छोरा र छोराकै न्यायका लागि लड्दा लड्दै मृत्यु रोजेका श्रीमानका फोटाहरुले गंगामाया अधिकारीको कोठाका भित्ता भरिएका छन्।

बाबु–छोराको फोटो अगाडि दुई वटा दियो बलिरहेका छन् अनि दियोसँगै केही थान फूल र रंगहरु छरिएका छन्। उनीहरुको सम्झनामा गंगामाया अधिकारीले दिनहुँ बाबु–छोराको फोटोको अगाडि एक दिन तिमीहरु न्याय पाउने छौ भन्दै दियो बाल्छिन्।

अन्य दिनहरु भन्दा आज उनका लागि अलि फरक थियो। उनी बिहानै उठिन्। पूजाका लागि चाहिने फूल लिन असनसम्म पुगिन्। फूल लिएर असनबाट फर्किइन्। अगाडिका दिनहरु भन्दा आज बाबु–छोराको फोटोमा फूल चढाउँदै, उनीहरुको फोटो अगाडि दियो बाल्दै गर्दा मन भारी भइरहेको थियो।

किनकि आज फेरि उनी छोराको न्यायका लागि लडाइँ लड्न थालेकी छन्, अथार्त छोरोको न्यायका लागि १२ औँ अनशन सुरु गरेकी छन्। गंगामायालाई आफू बाँच्नु भन्दा पनि छोरा र श्रीमानलाई न्याय दिलाउन सके जीवनले सार्थकता पाउँथ्यो भन्ने लागेको छ।

करिब एक दशक भयो उनी श्रीमान नन्दप्रसादसँगै न्यायका लागि लड्न थालेको तर अहिलेसम्म पनि कुनै उपलब्धि हात लागेन। अझ उल्टै श्रीमान् गुमाउनु पर्‍यो। उनी अहिले एक्लो भएकी छन्। हुन त उनीसँग उनका जेठा छोरा नुरप्रसाद छन्। तर उनले छोरालाई भेट्न भने पाएकी छैनन्। आफ्नो दुःख साट्न पाएकी छैनन्।

कहिलेकाहिँ नुरप्रसादसँग फोनमा कुराकानी भने हुन्छ। फोनमा बोल्दा पनि उनीहरु सञ्चो बिसन्चो सोधासोध गर्नुको साटो कृष्णलाई न्याय दिलाउन के गर्ने भन्ने कुरामै बिताउँछन्। जसरी कृष्णको हत्या गरियो त्यसरी नै आफू पनि हिंसाको बाटो रोज्नसक्ने उनी बताउँछिन्।

उनी भन्छिन्, ‘तर म हिंसाको बाटो रोज्ने भए। यति लामो समयसम्म बस्ने थिइन। मलाई लागेको थियो, एक दिन कानुनी रुपमै छोराले न्याय पाउने छ। तर त्यो अहिलेसम्म पनि भएन। यसको विकल्पको रुपमा मैले फेरी पनि अनशनलाई नै रोजेकी छु।’

अनशन सुरु गर्न लागेको कुरा गंगामायाले छोरा नुरप्रसादलाई सुनाएकी थिइन्। नुरप्रसादले पनि उनलाई भाइ कृष्ण र बुवालाई न्याय दिलाउन आमालाई अनशन बस्न सल्लाह दिएका थिए।

‘तपाई अनशन सुरु गर्नुस्। म दुई तीन दिनमा भेट्न आउँछु’, नुरप्रसादले आमालाई भनेका थिए, ‘म त्यहाँ आएर पनि के गर्नु आमा, तपाईँलाई हेरेर म रुने र तपाई मलाई हेरेर रुनु बाहेक कुनै पनि विकल्प छैन।’

अब गंगामायालाई लागेको छ,‘मरे पनि अनशन बसेरै मर्छु। छोराका लागि श्रीमानले ज्यान गुमाए। मैले पनि छोराको न्यायका लागि लड्दा लड्दै मर्नु रै’छ भने मलाई मन्जुर छ।’

न्याय पाउने आशामा यो भन्दा अगाडि पटक–पटक अनशन तोडेको गंगामाया बताउँछिन्। ‘अब मलाई कुनै पनि आश्वासन चाहिदैन। न्याय नपाएर यसरी तड्पिएर बाँच्नु भन्दा अनशन बसेरै मर्छु’, उनले भनिन्,‘ कि मलाई न्याय चाहियो कि मृत्यु चाहियो।’

उनी छोराको न्यायका लागि मुटु चोइट्याएर बसिरहेकी छन्। पटक–पटक अनशन बस्दा उनलाई लाग्छ, अब मेरो माग पुरा हुन्छ। तर ११ औँ पटक अनशन बस्दा सम्म पनि केही फरक उनले पाएकी छैनन्। अनशन बस्दै गर्दा यो एक दशकमा देशले धेरै जना नयाँ मन्त्री पायो। तर गंगामायाले नयाँ अनुभव गर्न पाएकी छैनन्। उनलाई कुनै पनिले फरक पार्दैन। साना तिन दुःखले आफूलाई छुँदै नछुने उनले बताइन्।

उनले भन्छिन्, ‘जीवनमा मैले सबै भन्दा अमूल्य चिज गुमाइसकेँ। जब छोरोको हत्या भयो, जिन्दगी तहसनहस भए जस्तो भयो। फेरि उही छोरोको न्यायका लागि लडिरहेका श्रीमानले अनशनकै क्रममा ३ सय ३४ दिन पुग्दा मृत्युलाई रोजे। संसार उजाड भयो। सबैतिर अन्धकार छायो। जिन्दगी बेस्वाद बनिदियो। सबै भन्दा नमिठो क्षण मैले भोगिसकेँ अब केही बाँकी छैन।’

यो पटकको अनशन पहिलाको जसरी सजिलै आफू नतोड्ने अडान गंगामायाले लिएकी छन्। उनले भनिन्, ‘यो पटक पनि मलाई झुटो आश्वासन नदेखाइयोस्। म मान्नेवाला पनि छैन। र न्याय दिने हो भने दोषीलाई जेल हालियोस्। कानुनी रुपमा कारवाही गरियोस्। पहिला जसरी जेलमा राखिएकालाई प्रचण्ड गएर छुटाए जस्तो नहोस्।’

कृष्णप्रसादको वि.सं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो। प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न गएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो। घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो।

पुस ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्