‘विद्यार्थी परीक्षा दिन मात्र आउँछन्, पढ्न आउँदैनन्’

नेपालगञ्ज– ‘सबै विद्यार्थी हरेक दिन आउँदैनन्। वार्षिक परीक्षामा मात्रै आउँछन्, प्रधानाध्यापक त्रिलोकीनाथ मौर्यले भने, ‘यसलाई सुधार गर्नु पर्‍यो।’

नरैनापुरको आदर्श माविका प्रधानाध्यापक मौर्यले गाउँपालिकाका अध्यक्ष मो‍. इस्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीसँग गुहार मागे।

प्रधानाध्यापक मौर्यले थपे, ‘शुक्रबार दिन १२ बजे नै बच्चाहरु नमाज पढ्न भन्दै स्कूलबाट भाग्छन्।’

मौर्यले अरुबेला नआएर एकैपटक वार्षीक परीक्षामा आएका विद्यार्थीलाई पास गर्ने कि नगर्ने? प्रश्न तेर्स्याए। स्कुलको दश कक्षामा तीनजना विद्यार्थी छन्।

‘विद्यार्थी त आठ जना थियौँ तर पाँचजना कहिल्यै आउँदैनन्, हामी तीन जना मात्रै आउँछौ,’ विद्यार्थीहरु भन्दै थिए।

विद्यालयले बोर्डमा लेखेर राखेको तथ्यांकमा दश कक्षामा ४ जना विद्यार्थी देखाइएको छ। नौ कक्षामा दश जना विद्यार्थी छन्। स्कुलको बोर्डमा १७ जना विद्यार्थी रहेको देखाइएको छ। आठ कक्षामा २७ जना रहेका छन्।

स्कुलमा मावि शिक्षक एकजना पनि छैनन्। निजी स्रोतबाट मावि सञ्चालन गर्छौँ भनेर अनुमति लिएको व्यवस्थापनले मावि शिक्षक व्यवस्थापन गर्न सकेको छैन।

तल्लो तहका शिक्षकले माथिल्लो कक्षा पढाइरहेका छन्।

प्रधानाध्यापक त्रिलोकीनाथ मौर्यले निमावि र माविको शिक्षक नै नरहेको जानकारी दिए।

‘स्कुलमा शिक्षक छैनन्। विद्यार्थी पनि केही वार्षीक परीक्षाको बेलामा मात्रै आउँछन्’, प्रधानाध्यापक मौर्यले थपे, ‘मदरसा र स्कुलमा दोहोरो भर्ना छ। विद्यार्थी स्कूल नआउँदा अभिभावकले केही भन्दैनन्। ठुला कक्षाका विद्यार्थीहरु भर्ना भएपनि काम गर्न जाने गर्दछन्।’

स्कुलमा चार सय बढी विद्यार्थी रजिष्टरमा छन्। पढ्न मुश्किलले दुई सय जना आउँछन्। गाउँपालिकाले शिक्षक दरबन्दीका लागि पहल गर्ने, भौतिक पूर्वाधार निर्माणका लागि तत्काल नै सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बताए।

नरैनापुरमा अझै शिक्षा क्षेत्रमा सुधार हुन सकेको छैन। अभिभावकले नै बच्चालाई मदरसा र सरकारी स्कुल भर्ना गर्ने गर्दछन्।

पुस ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्