संसद विघटनको प्रभाव आर्थिक क्षेत्रमा, व्‍यावसायीहरु चिन्तित

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गरेपछि त्यसले आर्थिक जगत र अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे उद्यमीहरु चिन्तित भएका छन्।

उक्त कदमको राजनीतिक शक्तिहरुमा चौतर्फी विरोध भइरहँदा उद्योग व्यवसायीहरु ‘‘समृद्ध नेपाल, सुखी’ नेपालीको नारा अब नारामा नै सीमित रहने डरमा समेटिएका छन्।

देश विकास हुन, समृद्ध बन्न, रोजगारीको सिर्जना सबै विषय स्थिर सरकारमा निर्भर रहन्छ। तर प्रधानमन्त्रीले चालेको यस्तो कदमले देश समृद्ध हुनमा ठूलो बाधा उत्पन्न भएको व्यवसायीहरु बताउँछन्। उनीहरुका अनुसार देशको विकास, समृद्धि स्थिर राजनीतिकसँग जोडिएको हुन्छ।

अस्थिर राजनीतिले विकास निर्माणका कार्य, लगानीको सुनिश्चिता, नयाँ कामको थालनीमा निकै असर पर्ने व्यवसायी बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) तथा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यान बताउँछन्। उनले संसद विघटनले आर्थिक पाटोमा असर त पर्छ नै नयाँ कामको थालनी गर्नेको मनोबल पनि गिर्ने बताए।

उनले भने, ‘दुई तिहाईका सरकार भएका बेला आर्थिक क्रियाकलापले आफ्नो गति लिइरहेको थियो। व्यवसायीहरु कोरोना भाइरसको समस्याबाट माथि उठ्नै लाग्दा थप समस्या थपिएको छ। यसले आर्थिक पाटोलाई कुन दिशातिर लान्छ अन्यौल नै छ।’

गोल्यानले अस्थिर राजनीतिक कारणले नयाँ कामको थालनी गर्नेहरुका लागि राम्रो वातावरण नहुने र वैदेशिक लगानी पनि नआउने बताए।

निर्माण अवस्थामा रहेका ठूला परियोजनाहरुको सरकारबाट कुनै निर्णय नआउँदा ती परियोजना सम्मपन्न हुनमा ढिलाइ र त्यसमा थप चुनौती थपिएको उनको भनाइ छ। यस्तै बजेट परिचालनमा पनि समस्या आएको उनले बताए।

अहिले कोरोना कहरबाट व्यवसायीहरु थोरै भए पनि त्यसबाट माथि उठ्ने प्रयास भइरहेको छ। कोरोना भाइरसका कारणले धेरै व्यवसायीहरुले आफ्नो व्यवसायबाट हात धुनु पर्‍यो भने कतिले आफ्नो रोजगारी गुमाए।

हिजोमात्र कोरोना भाइरसले होटल व्यवसायमा परेको प्रभावका कारण पाँचतारे होटल डेल अन्नपूर्ण अनिश्चितकालका लागि बन्द भयो। त्यहाँका धेरै जनशक्तिले रोजगारी गुमाए। यस्तो अवस्था फेरी आउन नसकिएला भन्न सकिन्न। होटल एसोसिएसन (हान) का अध्यक्ष तथा होटलका सञ्चालक सिर्जना राणाले कोरोना भाइरसले थपेको समस्यामा राजनीतिक क्रियाकलापले थप समस्या थपेको बताइन्।

उनका अनुसार यी राजनीतिक समस्या केही समयमा नै समाधान भएका आर्थिक क्षेत्रमा त्यति ठूलो असर नपर्ने तर यसले विकराल रुप लिएमा नेपालको अर्थतन्त्र अझै खस्किनेछ।

कोरोना भाइरसले पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ। यस समयमा सरकारले देशको अर्थतन्त्रलाई माथि उकास्न नयाँ रणनीति बनाउनु पर्नेमा उल्टै पर्यटन मन्त्रीले राजिनामा दिएको उनको भनाइ छ।

उनले कोरोना काललाई अवसरका रुपमा लिई पर्यटन क्षेत्रलाई माथि उकास्न पछिल्ला समयमा भएका गल्तीहरुलाई औँल्याएर त्यसको विश्लेषण गरी अघिल्ला दिनहरुमा कसरी अझ प्रभावकारी रुपमा अगाडि बढ्न सकिन्छ भन्ने बाटो तय गर्न सक्ने अवस्था भए पनि देशमा भएको राजनीतिक उथलपुथलले त्यो बाटो पनि बन्द गरेको बताइन्। ‘कोरोनाको समयमा सबैभन्दा बढी मार खाएको पर्यटन क्षेत्र हो। यस समयमा हामीले यस क्षेत्रका कमि कमजोरी केलाएर, तथ्यांकहरु संकलन गरि नयाँ बाटो बनाउन सकिन्थ्यो । तर राजनीतिक द्वन्द्वले थप समस्या थपिएको छ।’

त्यति मात्र होइन संसद विघटन भएको असर शेयर बजारमा पनि देखिएको थियो। संसद विघटन भएको दिन यानिकी आइतबार शेयर बजार ९७ अंकले गिरावट आएको थियो। यस्तै अटोमोबाइल्स एशोसिएशन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले संसद विघटनका कारण आर्थिक क्षेत्रमा लगानी गर्नेको मनोबल कम हुने बताउँछन्।

उनले भने, ‘सरकार परिर्वत भइरहनु राम्रो होइन। आर्थिक क्रियाकलापलाई निरन्तर अगाडि बढाउन स्थिर सरकारको ठूलो हात हुन्छ। अस्थिर सरकारले लगानी गर्ने वातावरण नै हुन्छ। लगानीको सुनिश्चिता हुदैन।’तर उनले चुनावले आर्थिक क्षेत्रमा बाधा नपुगाउने र त्यसले आर्थिक क्रियाकलापहरु ब्ढाउने बताए। विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी आउँदो वैशाख १७ र २७ गतेका लागि चुनाव घोषणा गरेकी छन्। जसको विरोध भइरहेको पनि छ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले दुई तिहाई बहुमत सहितको सरकार बनेको अवस्थामा यतिबेला राजनीतक नभई आर्थिक मुद्दाले प्राथमिकता पाउनु पर्ने , तर त्यो नहुन सकेको बताए।

उनले राजनीतिक अस्थिरतासँगै उद्योग–व्यवसायमैत्री नीति निर्माणमा राज्यको ध्यान नहुने चिन्ता थपिएको बताए। उनले भने, ‘कोरोनाबाट शिथिल बनेको मुलुकको अर्थतन्त्र उकास्नका लागि सरकार–नीजि क्षेत्र मिलेर काम गर्नुपर्ने बेलामा देखिएको राजनीतिक घटनाक्रमले हामी दुःखी भएका छौँ।’

पुस ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्