सहयोगीलाई ट्रम्पको दया–दृष्टि

ट्रम्पले आफ्ना पूर्व सहयोगीसहित १५ जनालाई प्रदान गरे माफी

जर्ज पापाडोपोलोस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्यूरो (एफबिआई) लाई झुट बोलेको अभियोगमा दोषी ठहर भएका दुईसहित १५ जनालाई माफी प्रदान गरेका छन् ।

ट्रम्पले आफ्नो राष्ट्रपतीय शक्ति प्रयोग गरि चार वर्ष पहिलेको चुनावमा रुसी दखलबारे भएको अनुसन्धानको क्रममा एफबिआईलाई झुट बोलेकोमा दोषी ठहर भएका जर्ज पापाडोपोलोस र एलेक्स भान डेर ज्वानसहति १५ जनालाई सम्पूर्ण कानूनी जोखिमबाट मुक्त हुने गरि माफी प्रदान गरेका हुन् । जर्ज ट्रम्पको चुनावी अभियानका पूर्व सहयोगी हुन् भने ज्वान अधिवक्ता हुन् ।

उनीहरुले चार वर्ष पहिलेको चुनावमा ट्रम्पलाई सहयोग पुग्ने गरि रुसले दखल दिएको अभियोगका सम्बन्धमा भएको अनुसन्धानको क्रममा एफबिआईलाई झुट बोलेका थिए ।

ट्रम्पले रिपब्लिकन पार्टीका दुई पूर्व सांसद तथा सन् २००७ मा इराकमा भएको आमहत्यामा संलग्न चार सुरक्षा गार्डलाई पनि माफी प्रदान गरेका छन् ।

एलेक्स भान डेर ज्वान

ट्रम्पले आउँदो महिना सत्ता छोड्नु पूर्व अरु धेरै व्यक्तिलाई माफी प्रदान गर्ने सम्भावना छ ।

अमेरिकामा सत्ताबाट बिदा हुँदै गरेका राष्ट्रपतिले कानूनी प्रक्रिया मार्फत ‘न्याय’ प्राप्त गर्न नसकेकाहरुलाई माफी प्रदान गरि उनीहरुको दोष मेट्नका लागि माफी प्रदान गर्ने चलन छ ।

तर ट्रम्पले सो शक्तिको प्रयोग आफ्ना सहयोगीहरुको अपराध मेट्न प्रयोग गरेको अभियोग लागेको छ । जर्ज र ज्वानले केही समय जेल सजाय पनि भोगेका थिए ।

रुसी अधिकारसँगको भेटको समयबारे झुट बोलेको अभियोगमा जर्ज सन् २०१७ मा दोषी ठहर भएका थिए । सन् २०१६ को चुनावमा रुसी दखलबारे भएको अनुसन्धानको क्रममा पक्राउ पर्ने उनी ट्रम्पका पहिलो सहयोगी थिए ।

डकन हन्टर र क्रिस कोलिन्स

जर्ज एफबिआईलाई दुई रुसी अधिकारीसँग आफूले ट्रम्पको चुनावी अभियानमा जोडिनु पूर्व भेटेको बताएका थिए । तर वास्तवमा उनले अभियानमा जोडिएपछि भेटेका पुष्टि भएको थियो ।

माफी पाएका जर्जले ट्वीट गरेर राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । यो माफी आफू र आफ्नो परिवारका लागि सम्पूर्ण विश्व रहेको उनले उल्लेख गरेका छन् ।

ज्वानले विशेष काउन्सिल रोबर्ट मुलरको अनुसन्धानको क्रममा झुट वक्तव्य दिएका थिए ।

यसैगरी ट्रम्पले पूर्व सांसद डकन हन्टरलाई पनि माफी प्रदान गरेका छन् । हन्टर चुनावी अभियानको रकम अनियमितताको आरोपमा दोषी ठहर भएका थिए । यस्तै उनले पूर्व सांसद क्रिस कोलिन्सलाई पनि माफी प्रदान गरेका छन् ।

आमहत्यामा संलग्न चार सुरक्षा गार्ड
पुस ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्