देशसञ्चार विशेष

नेपाल टेलिभिजनको स्याटेलाइट ब्यान्डविथ भाडामा मासिक लाखौँ रुपैयाँको कमिसन आशंका, इन्जिनियरदेखि अध्यक्ष बिष्टसम्मको भूमिका शंकास्पद

नेपाल टेलिभिजनको केन्द्रीय कार्यालय । तस्बिर साभारः नेपाल टेलिभिजनको वेबसाइट

काठमाडौँ – थाइल्यान्डस्थित थाइकम पीसीएलको थाइकम फाइभमार्फत स्याटेलाइट प्रसारण भइरहेको सरकारी टेलिभिजन च्यानल नेपाल टेलिभिजनमा मासिक लाखौँ रुपैयाँ ‘कमिसन’को खेल भइरहेको आशंका गरिएको छ। विज्ञान र सूचना प्रविधि दिनप्रतिदिन तीव्र गतिमा सस्तो भइरहेका बेला नेपाल टेलिभिजनले १५ वर्ष अघि तिरेकै दरमा थाइकम फाइभसँग स्याटलाइट सेवा लिइरहेको छ।

यसमा नेपाल टेलिभिजनमा इन्जिनियरदेखि सञ्चालक समितिका कार्यकारी अध्यक्ष महेन्द्र विष्टको भूमिकासमेत शंकास्पद देखिएको छ। हाल नेपाल टेलिभिजनले थाइकम फाइभसँग २५ मेगाहर्ज ब्यान्डविथ भाडामा लिएर स्याटलाइट प्रसारण गरिरहेको छ। नेपाल टेलिभिजनका पाँचवटा च्यानलहरु अहिले स्याटेलाइट प्रशारण भइरहेका छन्।

यसका लागि नेपाल टेलिभिजनले थाइकम फाइभलाई मासिक एक मेगाहर्जका लागि तीन हजार चार सय ९० अमेरिकी डलर तिर्नुपर्छ। समग्रमा नेपाल टेलिभिजनले थाइकम फाइभलाई स्याटलाइट भाडामा लिएबापत उसलाई मासिक ८७ हजार २ सय ५० अमेरिकी डलर तिर्नुपर्छ।

जबकी नेपालका अन्य टेलिभिजन च्यानलले स्याटेलाइट प्रसारणका लागि एक मेगाहर्ज ब्यान्डविथको करिब एक हजार अमेरिकी डलर तिर्दै आएका छन्। स्रोतका अनुसार कान्तिपुर टेलिभिजनले एपिस्टार सेभेनलाई एक मेगाहर्जका लागि मासिक करिब एक हजार अमेरिकी डलर तिर्ने गरेको छ। अर्थात एक मेगाहर्जका लागि अरु टेलिभिजनले तिरिरहेभन्दा २ हजार चार सय डलर बढी रकम नेपाल टेलिभिजनले थाइकम फाइभलाई तिरिरहेको छ।

यसमा अझ रोचक के छ भने थाइकम फाइभले केही महिनाअघि आफ्नो स्याटेलाइटको आयु सकिएको भन्दै नेपाल टेलिभिजनले लिएको सम्पूर्ण ब्यान्डविथ एपिस्टार सेभेनमा सारेको छ जसमा नेपाल टेलिभिजनले कुनै आपत्ति बिना पुरानो रेटमा कुनै तलमाथि नगरी त्यसलाई स्वीकार गरेको थियो। सम्झौता रद्द गरी निकै सस्तो दरमा नयाँ स्याटलाइटमा जान सक्ने विकल्प मिलेमतोमै नरोजिएको जानकारहरु बताउँछन्।

नेपाल टेलिभिजन र थाइकम फाइभबीच सन् २०२२ सम्मका लागि सम्झौता छ। यस अवधिमा थाइकम फाइभलाई नेपाल टेलिभिजनले प्रति मेगाहर्ज मासिक ३ हजार ४ सय ९० अमेरिकी डलर तिर्नुपर्छ।

कमिसनकै लागि बिना टेण्डर थाइकम फाइभसँग पटकपटक ब्यान्डविथ थप गरिएको पाइएको छ भने क्षेत्रीय प्रसारणका रुपमा सुरु भएका कोहलपुर प्रसारण केन्द्र र इटहरी प्रशारण केन्द्रलाई पनि स्याटलाइट प्रशारणमा लगिएको नेपाल टेलिभिजन व्यवस्थापन स्रोत बताउँछ।

‘बजार भाउलाई वेवास्था गर्नु, बिना टेण्डर एउटैसँग सम्झौता गरिरहनु, एकैपटक लामो समयका लागि सम्झौता गर्नु र बिना मूल्यांकन क्षेत्रीय च्यानललाई स्याटेलाइटमा जोड्नुका पछाडि ब्यान्डविथ कमिसनको खेल ठूलो छ भनेर बुझ्न जो कोहीलाई पनि गाह्रो छैन’, लामो समयदेखि नेपाल टेलिभिजनमा कार्यरत एक अधिकारी भन्छन्।

कमिसन खेलको शृंखला


बोलपत्र मूल्याङ्कन समितीको सिफारिसअनुसार  नेपाल टेलिभिजन  सन्चालक समितिको बैठकले तत्कालीन सिन स्याटलाइट कम्पनी लिमिटेड हालको थाइकम पब्लिक कम्पनी लिमिटेड- पीसिएलसँग दुईवटा च्यानल नेपाल टेलिभिजन र एनटिभी-२ का लागि ९ मेगाहर्ज ब्यान्डविथ भाडामा लिने गरि पाँच वर्षका लागि सम्झौता गर्न  स्वीकृति दिएपछि यी दुईबीच सन् २००५ को सेप्टेम्बर ९ तारिखमा सम्झौता भएको थियो।

सम्झौताअनुसार नेपाल टेलिभिजनले सिन स्याटलाइट कम्पनी लिमिटेडलाई एक मेगाहर्जका लागि मासिक ३ हजार चार सय ९० डलर तिर्नुपर्ने थियो। सम्झौता अवधि सकिएपछि ‘ब्यान्डविथ स्कारसिटी’ भएको भन्दै थाइकमले अब पुरानै रेटमा सेवा उपलब्ध गराउन नसक्ने पत्र नेपाल टेलिभिजनलाई पठायो।

अधिकांश टेलिभिजनका प्रविधिहरु डिजिटलमा गइसक्दा पनि नेपाल टेलिभिजन एनालग प्रविधिमै चलिरहेको थियो। डिजिटलमा गएको खण्डमा नेपाल टेलिभिजनले दुवै   च्यानलको  स्याटलाइट प्रशारणका लागि पाँच मेगाहर्ज ब्यान्डविथ मात्र लिए पनि पुग्थ्यो। त्यसका लागि नेपाल टेलिभिजनले आफूले प्रयोग गरिरहेको प्रविधिलाई डिजिटलमा लैजाने र ग्लोबल टेण्डर आह्वान गरि स्याटलाइट प्रशारण प्रदायक कम्पनी छनाैट गर्ने निर्णय गर्दै सन् २०११ को जुलाईमा थाइकम फाइभसँगको सम्झौता तीन महिनाका लागि मात्र लम्ब्यायो।

चारवटा कम्पनीले टेण्डर हाले पनि बोलपत्र मूल्याङ्कन समितिले  ती सबै ‘सारभुतरुपमा प्रभावग्राही’ नदेखिएको भन्दै बोलपत्र रद्ध गर्न सिफारिस गरेपछि सञ्चालक समितिले नयाँ बोलपत्र आह्वान गरि प्रकृया पूरा गर्दा समय लाग्ने भन्दै थाइकम फाइभसँग पुरानै रेटमा एक वर्ष सम्झौता थप गर्ने निर्णय गर्‍यो। त्यतिबेला टेण्डर हाल्नेमध्ये एस्सेलश्याम टेक्नोलोजी प्रालीले प्रति मेगाहर्ज २ हजार ८ सय डलरको प्रस्ताव गरेको थियो। थाइकम फाइभले महँगो हालेका कारण उसैलाई दिन उक्त बोलपत्र रद्ध गरिएको बताइन्छ। सञ्चालक समितिले स्वीकृति दिएपछि  पुरानै रेटमा सम्झौता गर्न थाइकम फाइभ सहमत भयो। सोही वर्षको डिसेम्बरमा पाँच मेगाहर्जको स्याटलाइट ब्यान्डविथ १० वर्षका लागि भाडामा  लिन ग्लोबल टेण्डर आह्वान गरिएको थियो।

तीन वटा कम्पनीले टेण्डर हालेकामा थाइकम पीसीएलले थाइकम फाइभका लागि गरेको प्रस्ताव प्राविधिकरुपमा उपयुक्त र आर्थिक रुपमा सबैभन्दा कम रकम भएको भन्दै सन् २०१२ को अप्रिल २७ तारिखमा १० वर्षका लागि वार्षिक २ लाख ९ हजार चार सय डलर तिर्ने शर्तसहित सम्झौता भएको थियो। यो रकम प्रति महिना एक मेगाहर्जका लागि त्यही पुरानै रेट अर्थात ३ हजार चार सय ९० डलर थियो।

सन् २०१४ मा नेपाल टेलिभिजनले समाचार च्यानल सञ्चालन गर्ने निर्णय गरेपछि त्यसलाई स्याटेलाइटमा लैजान पुरानै दर प्रति मेगाहर्ज मासिक ३४९० डलरमा थाइकम फाइभसँग २.५ मेगाहर्ज थप्न सहमती भएको थियो। क्षेत्रीय च्यानलका रुपमा कोहलपुर प्रशारण केन्द्र स्थापना भएपछि त्यसलाई पनि स्याटेलाइटमा जोड्न पुरानै दरमा सन् २०१७ को जुन १२ तारिखमा २.५ मेगाहर्जका लागि थाइकम फाइभसँग सम्झौता भयो।

नेपाल टेलिभिजन संस्थानको ३४ औँ वार्षिक उत्सवका अवसरमा २०७५ साल माघ १७ गते चारवटै च्यानललाई एसडीबाट एचडी प्रविधिमा रुपान्तरण गर्ने घोषणा गरियो। त्यसका लागि अहिले थाइकम फाइभसँग लिइरहेको ब्यान्डविथलाई दोब्बर बनाउनु पर्ने भयो। अर्थात १० मेगाहर्ज प्रयोग भइरहेकामा अब थप १० मेगाहर्ज ब्यान्डविथ आवश्यक पर्ने भयो।

यसका लागि नेपाल टेलिभिजनसँग केही विकल्प थिए, एउटा- थाइकम फाइभसँग भएको सबै सम्झौता तोडेर नयाँ सम्झौताका लागि टेण्डर आह्वान गर्ने । अर्को- थाइकम फाइभसँग नै १० मेगाहर्ज थप्ने।  यी बाहेक अर्को, अर्कै स्याटलाइटबाट १० मेगाहर्ज  लिने।

आवश्यक पर्ने ब्यान्डविथ थप गरि एचडी प्रविधिमा जानका लागि सञ्चालक समितिले महाप्रबन्धक गोबिन्द रोकाको संयोजकत्वमा ‘नेपाल टेलिभिजनका च्यानलहरुलाई एचडीमा रुपान्तरणका लागि स्याटलाइट ब्यान्डविथ थप गर्ने’ सम्बन्धमा  उपसमिति गठन गर्‍यो। समितिले थाइकम फाइभसँगै ब्यान्डविथ थप्नुको विकल्प नभएको निष्कर्श निकालेपछि  सन् २०१९ फेब्रुअरी १ मा पुरानै दर भाउमा १० मेगाहर्जका लागि सम्झौता भएको थियो। त्यसमा उल्लेख थियो, ‘नेपालले आफ्नै स्याटलाइट स्थापना गरि प्रयोगमा ल्याएको अवस्थामा प्रचलित नेपालको कानुन वा नियमावलीले मार्गनिर्देशन गरेको अवस्थामा हाल रहेको सम्झौतालाई ६ महिनाको पूर्व सूचना दिई अन्त्य गर्न सकिने।’

त्यसपछि क्षेत्रीय प्रशारणका रुपमा इटहरी प्रशारण केन्द्र पनि थपिएपछि नेपाल टेलिभिजनले सन् २०१९ को डिसेम्बरमा थाइकम फाइभसँग पाँच मेगाहर्ज ब्यान्डविथ थप गर्न आग्रह गरेको थियो। २०२० को जनवरी २ तारिखमा थाइकमले पठाएको जवाफमा आफ्नो स्याटलाइटमा त्यो सम्भव नभएको र त्यसै महिनाको अन्त्यसम्म एपिस्टार सेभेनमा सरे मात्र सम्भव हुने उल्लेख गर्‍यो। त्यसका लागि उसले पाँच मेगाहर्ज ब्यान्डविथ ६ महिनासम्म निशुल्क उपलब्ध गराउने पनि बतायो।   त्यसको १४ दिनपछि थाइकम फाइभले नेपाल टेलिभिजनलाई अर्को पत्र लेख्दै आफ्नो स्याटेलाइटको आयु सकिएको भन्दै कुनै पनि समयमा प्रशारण अवरुद्ध हुन सक्ने उल्लेख मात्र गरेन, जनवरी ३१ अघि नै आफूले सम्पूर्ण ब्यान्डविथ एपिस्टार सेभेनमा सारिदिने प्रस्ताव गर्‍यो।

यसपछि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले थाइकम फाइभको पत्रको अध्ययन गरि सिफारिस पेश गर्न निमित्त नायब महा प्रबन्धक रामेश्वर शुक्लको संयोजकत्वमा इन्जिनियरिङ महाशाखा प्रमुख चिन्तामणि बराल, योजना, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख सुरज थापा, आर्थिक प्रशासन महाशाखा प्रमुख शरदचन्द्र श्रेष्ठ, कार्यकारी इन्जिनियर ओम प्रकाश श्रेष्ठ र कानूनी परामर्शदाता निरब ज्ञवालीसहितको कार्यदल गठन गरेका थिए। कार्यदलले तत्काल ब्यान्डविथ सार्नुको विकल्प नरहेको भन्दै एपिस्टार सेभेनमा जान सन्चालक समितिलाई सुझाव दियो तर थाइकम फाइभलाई तिर्दै आएको शुल्क समायोजन हुनुपर्छ भन्नेबारे कहिँकतै उल्लेख भएन।

सञ्चालक समितिको २०७६ माघ ४ गते बसेको बैठकले थाइकम फाइभले प्रस्ताव गरे बमोजिम स्याटलाइट माइग्रेसन गरि एपिस्टार सेभेनमा सार्ने, इटहरी च्यानलका लागि पाँच मेगाहर्जको ब्यान्डविथ निशुल्क प्राप्त गरि इटहरी च्यानल एचडी प्रविधिमा प्रशारण गर्ने व्यवस्था मिलाउने र थाइकम पीसीएलसँग स्याटलाइट माइग्रेसन को पुरक सम्झौता गर्दा वैकल्पिक स्याटलाइटमा ‘स्मुथ माइग्रेसन’ भइसकेपछि कानूनी प्रकृया पूरा गरि प्रतिस्पर्धाको आधारमा संस्थानका लागि उपयुक्त नयाँ विकल्पमा जान सक्ने प्रावधान खुला गर्ने, पुरक सम्झौता गर्न संस्थानका महा प्रबन्धकलाई अख्तियारी दिने निर्णय गरेको थियो।

‘थाइकम पीसिएललाई आफ्नो स्याटलाइटको आयु थाहा थियो तर पनि सन् २०२२ सम्म सम्झौता गर्‍यो। यसमा नेपाल टेलिभिजनले सम्झौता तोडेर अर्को स्याटेलाइटमा जानुको सट्टा मिलेमतोमा केही छुट पाएजसरी सम्झौतालाई निरन्तरता दिइरह्यो। कमिसनको खेलमा त्यो छुट निकै सानो हिस्सा मात्र थियो’, स्रोत बताउँछ।

किन घटेन ब्यान्डविथको दर?


सन् २०११ को डिसेम्बरमा नेपाल टेलिभिजनले गरेको ग्लोबल टेण्डर आह्वानमा थाइकम पीसिएल, एपीटी स्याटलाइट कम्पनी लिमिटेड र मर्कनटायल कम्युनिकेसन प्रालीले टेण्डर हालेका थिए।

त्यतिबेला नेपाल टेलिभिजनकै व्यवस्थापनको योजनामा नेपाल केबल टेलिभिजन महासंघले थाइकम पीसीएलसँग सम्झौता गर्न लबिङ गरेको बताइन्छ। आवश्यक पर्ने ब्यान्डविथ थप गरि एचडी प्रविधिमा जानका लागि सन् २०१९ मा महाप्रबन्धक गोबिन्द रोकाको संयोजकत्वमा गठित उपसमितीको प्रतिवेदनमा पनि भनिएको छ, ‘ महासंघले त्यतिबेला नेपाल टेलिभिजनलाई पत्र पठाएर सकेसम्म स्याटलाइट परिवर्तन नगर्न र गर्नु परेपनि थाइकम फाइभकै विशेषताहरु भएको स्याटलाइट प्रयोग गर्न अनुरोध गरेको।’ त्यसपछि बोलपत्र मूल्यांकन उपसमिति गठन भएको थियो।

उक्त समितिले प्राविधिकरुपमा उपयुक्त र आर्थिकरुपमा सबैभन्दा सस्तो रहेको भन्दै थाइकम फाइभलाई छनोट गर्न सिफारिस गरेको थियो।  सन् २०१४ मा समाचार च्यानलका लागि आवश्यक ब्यान्डविथ थाइकम फाइभबाटै लिनुपर्ने सिफारिस इन्जिनियरिङ महाशाखाले बोलपत्र मूल्याङ्कन समितिलाई गरेको थियो। त्यतिबेला इन्जिनियरिङ महाशाखाले गरेको प्राविधिक रायसहितको सिफारिसमा थाइकम फाइभबाहेक रोजे छुट्टै स्याटलाइट चाहिने, हालको कभरेज र नयाँ च्यानलको कभरेज फरक हुने लगायत कारणहरु उल्लेख छ।

सन् २०१७ मा कोहलपुर प्रशारण केन्द्रका लागि आवश्यक ब्यान्डविथ थाइकम फाइभबाटै लिनुपर्छ भनेर तत्कालिन महाप्रबन्धक, नायब महाप्रबन्धक र इन्जिनियरिङ महाशाखा प्रमुखले सन्चालक समितीमा प्रस्ताव पेश गरेका थिए। यसपटक पनि सञ्चालक समितिले ‘एउटै स्याटलाइटबाट टेलिभिजनका सबै च्यानलहरु प्रशारण गर्न आवश्यक र फाइदाजनक हुने भएकाले पुरानो दररेटमा नबढ्ने गरि सम्झौता गर्न’ स्वीकृति प्रदान गर्‍यो।

नेपाल टेलिभिजनका च्यानलहरुलाई एचडीमा रुपान्तरणका लागि स्याटलाइट ब्यान्डविथ थप गर्ने सम्बन्धमा  महाप्रबन्धक रोका संयोजकत्वको उपसमितिले प्रतिवेदन तयार पार्नेक्रममा इन्जिनियरिङ शाखाका इन्जिनियरहरुलाई बोलाएर छलफल गरेको थियो। उनीहरुले प्राविधिक रुपले नेपाल टेलिभिजनका सबै च्यानलहरु एउटै स्याटेलाइटबाट अपलिङ्क र डाउन लिङ्क गरिनु उत्तम हुने, एकभन्दा बढि स्याटेलाइट प्रयोग गर्दा बढि उपकरणहरु चाहिने भएकाले संस्थानलाई थप आर्थिक भार पर्नुका साथै तोकिएको समयमा एचडी प्रशारण सम्भव नहुने र प्राविधिक दृष्टिले पनि सहज नहुने राय दिएको प्रतिवेदनमा उल्लेख छ। ‘ कोहलपुर च्यानलका लागि छुट्टै अर्थ स्टेसन बनिसकेको थियो, टेण्डरमार्फत। कोहलपुरका लागि यदि स्याटेलाइटमा जानु नै थियो भने पनि अर्को स्याटेलाइट खोज्नु उत्तम विकल्प हुने थियो। तर प्रतिवेदनमा थाइकमलाई दिनकै लागि अनुकुल कुरा बोलाइयो’, नेपाल टेलिभिजन स्रोत बताउँछ।

उपसमितिले थाइकम फाइभसँग सबै सम्झौता तोड्न कानूनी आधार नरहेको र दररेट समायोजन गर्नेबारे सम्झौतामा उल्लेख नरहेको पनि प्रतिवेदनमा उल्लेख गरेको छ। तर थाइकम फाइभलाई पूर्व सम्झौता बमोजिमको दर रेटमा प्रचलित बजार मूल्य अनुसार पुनरावलोकन हुन सक्ने/नसक्नेबारे राखिएको जिज्ञाशामा धेरै देशमा कभरेज ‘ग्लोबल बीम’ हुने भएकाले अरुको भन्दा रेट बढि भएको जवाफ प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पहिलो कुरा सन् २०११ मा एस्सेलश्याम टेक्नोलोजी प्रालीले ग्लोबल बीमकै लागि प्रति मेगाहर्ज २ हजार ८ सय डलरको प्रस्ताव गरेको थियो। थाइकम फाइभले ग्लोबल बीम भने पनि  ‘एक्सटेन्डेड सी ब्यान्ड’मार्फत प्रशारण गरेको थियो जुन प्राविधिक हिसाबले कमजोर मानिन्छ। रोका नेतृत्वको उपसमितिले अध्ययन गर्नेक्रममा टेलिभिजनका इन्जिनियरले एक्सटेन्डेड सी ब्यान्डलाई सी ब्यान्डमा ल्याएर स्याटलाइटको गुणस्तर बढाउन सुझाव दिएका थिए। ग्लोबल बीमको दर, रिजनल बीमभन्दा केही बढी हुनु स्वभाविक हो। हाल ग्लोबल बीमका लागि प्रति मेगाहर्ज करिब १५ सय अमेरिकी डलर लिने गरिएको छ। थाइकम फाइभले नेपाल टेलिभिजनका सबै ब्यान्डविथ सारेपछि हाल एपीस्टार सेभेनका स्याटेलाइट प्रशारण ‘रिजनल बीम’मा भइरहेका छन्।

थाइकमले जे भनेपनि नेपाल टेलिभिजनले मानिरह्यो 

थाइकम फाइभले सन् २०१९ को जनवरीमा नेपाल टेलिभिजनलाई पत्र पठाउँदै १० मेगाहर्ज ब्यान्डविथ थप गरे समग्रमा १५ हजार अमेरिकी डलर कम गरिदिने उल्लेख गरेको थियो।

उसले जुन ३१ तारिखसम्म थप गरिएको १० मेगाहर्जको पैसा पनि नलिने बतायो। जबकी त्यसको एक वर्षपछि आफ्नो स्याटेलाइटको आयु सकिँदै थियो भन्नेमा थाइकम फाइभ जानकार थियो। इटहरी प्रशारणका लागि पाँच मेगाहर्ज थप गर्न गरिएको आग्रहमा थाइकम फाइभले एपिस्टार सेभेनलाई बीचमा उभ्याइसकेको थियो जसमा नेपाल टेलिभिजनले कुनै प्रतिवाद गरेन।

थाइकम फाइभले एपीस्टार सेभेनमा स्याटेलाइट माइग्रेसन गर्न गरेको प्रस्तावमा एपिस्टार सेभेनको कभरेज झण्डै आफ्नोजस्तै भएको उल्लेख गरेको छ। रोका नेतृत्वको उपसमितिमा सञ्चालक समितिका सदस्य टंक पन्त, नायब महाप्रबन्धक दीपकमणि धिताल, इन्जिनियरिङ महाशाखा प्रमुख चिन्तामणि बराल, आर्थिक प्रशासन महाशाखा प्रमुख शरदचन्द्र श्रेष्ठ, योजना, अनुसन्धान र अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख सुरज थापा र  सञ्चार तथा सूचना प्रविधि  मन्त्रालयकी प्रतिनिधी रेनु शाक्य सदस्य थिए।

सूचना तथा सञ्चार मन्त्रीका रुपमा गोकुल बास्कोटा र नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षका रुपमा विष्ट आइसकेपछि दुवैले सुरुवाति सम्बोधनहरुमा स्याटेलाइट ब्यान्डविथ भाडामा भइरहेको भष्ट्रचार कोट्याएपनि दुवै जना केही दिनमै चुप लागेको टेलिभिजन व्यवस्थापनका अधिकारीहरु बताउँछन्।

नेपाल टेलिभिजनकै बजार खस्किरहेको समयमा कमिसन आउने भएरै क्षेत्रीय प्रशारण केन्द्रको स्थापना र त्यसलाई हचुवाका भरमा स्याटलाइट प्रशारणमा जोड्ने काम भएको अधिकारीहरु बताउँछन्।

‘प्राविधिक विषय भएकाले यो कमिसन खेलमा व्यवस्थापन र इन्जिनियरहरुको मिलेमतो देखिन्छ’, नेपाल टेलिभिजन उच्च स्रोतले भन्यो। नेपाल टेलिभिजनका सबै च्यानलहरु एपीस्टार सेभेनबाट स्याटेलाइट प्रशारण भइरहेपनि पछिल्लो सम्झौताअनुसार थाइकम पीसीएलसँग भएको सम्झौता सन् २०२२ अघि तोड्न नमिल्ने गरि संसोधन गरिएको छ।

पुस ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्