सरकारी गतिविधि सटडाउनको जोखिम

ट्रम्पले सदनबाट अत्याधिक बहुमतले पारित भएको रक्षा विधेयक रोक्न प्रयोग गरे भिटो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न भिटो प्रयोग गरेका छन् ।

दुवै पार्टी (रिपब्लिकन र डेमोक्र्याटिक) का तर्फबाट ल्याइएको ७४० बिलियन डलर बराबरको सुरक्षा खर्च सम्बन्धी विधेयक सदनबाट यहि महिना पारित भएको थियो ।

तर ट्रम्पले भिटो शक्ति प्रयोग गरेर सो विधेयकलाई कानून बन्नबाट रोकेका हुन् । सुरक्षा रणनीति सम्बन्धी विधेयक रोक्न ट्रम्पले भिटो प्रयोग गरेसँगै अमेरिकी सरकारका संघीय निकायहरु महामारीको बेलामा ‘सटडाउन’ मा जाने सम्भावना देखिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

विधेयकमा अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा ट्रम्पको विरोध छ ।

रंगभेद विरोधी आन्दोलनको प्रभाव स्वरुप रंगभेदलाई साथ दिने सेनाका पूर्व नेताहरुको नाम सैनिक बेसबाट हटाउने व्यवस्था विधेयकमा छ ।
सो विधेयक सदनबाट अत्याधिक बहुमतले पारित भएको थियो ।

दुवै पार्टीको सहमतिमा ल्याइएको र अत्याधिक बहुमतले पारित भएकाले राष्ट्रपतिले भिटो प्रयोग गरेर रोक्न खोजे पनि त्यसलाई सदनले अस्वीकार गर्न भने सक्ने छ ।

सदनबाट पारित भएका विधेयकलाई कानूनी रुपमा प्रदान गर्नका लागि राष्ट्रपतिले हस्ताक्षर गर्नु पर्ने हुन्छ । तर दुर्लभ अवस्थाहरुमा राष्ट्रपतिले भिटो प्रयोग गर्न वा अस्वीकार गर्न सक्छन् ।

राष्ट्रपतिले भिटो प्रयोग गरि रोकेको विधेयकलाई सदनले कानूनमा प्रमाणिकरण गर्न सक्छ । राष्ट्रपतिले प्रयोग गरेको भिटो खारेज गर्नका लागि संसदका दुवै सदनबाट दुई तिहाई बहुमत चाहिन्छ । त्यसपछि राष्ट्रपतिले भिटो मार्फत रोकेको विधेयकले कानूनी रुप लिन सक्छ ।

यदि सदनले राष्ट्रपति ट्रम्पको भिटो खारेज गरेन भने पछिल्लो ६० वर्षमा पहिलो पटक नेशनल डिफेन्स अथोराइजेशन एक्ट (एनडिएए) कानून बन्ने छैन ।

झण्डै एक वर्ष लगाएर तयार पारिएको ४५ सय पृष्ठ लामो विधेयकलाई ट्रम्पले ‘चीन र रुसका लागि उपहार’ भनेका छन् ।

विधेयकले महत्वपूर्ण राष्ट्रिय सुरक्षाका विषय समेट्न नसकेको आरोप ट्रम्पले लगाएका छन् । सैनिक इतिहास र भेट्रानहरुलाई सम्मान गर्न भुलेको वा त्यसका लागि मार्ग प्रसस्त गरेको र सुरक्षा तथा परराष्ट्र नीतिमा आफूले लिँदै आएको अमेरिका पहिले भन्ने नीतिलाई आत्मसाथ नगरेको ट्रम्पले बताएका छन् ।

विदेशमा रहेका सैनिक फिर्ता बोलाउने संख्या सीमित गर्नु खराब र असंवैधानिक नीति रहेको पनि ट्रम्पले आरोप लगाएका छन् ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले भिटो लापरवाहीको पराकाष्ठा रहेको र यसले सेना तथा अमेरिकी सुरक्षामा हानी गर्ने बताएकी छन् ।

ट्रम्पले यसअघि कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका अमेरिकीका लागि सहयोग गर्न ल्याइएको प्याकेज सम्बन्धी विधेयकमा पनि हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । यसले गर्दा सरकारी कामकारवाहीसँगै राहतको काम प्रभावित हुने जोखिम बढेको छ ।

पुस ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्