ट्रम्पले सम्धीसहित थप २६ जनालाई प्रदान गरे पूर्ण माफी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सम्धीसहित पूर्व सहयोगीहरुलाई सम्पूर्ण कानूनी झमेलाहरुबाट मुक्त हुने गरि माफी प्रदान गरेका छन् ।
ट्रम्पले पछिल्ला दिनमा लगातार जस्तो आफ्ना सहयोगी एवम् नजिकका व्यक्तिहरुलाई माफी प्रदान गर्ने क्रम जारी राखेका छन् ।
पछिल्लो पटक बुधबार बेलुका (स्थानीय समय अनुसार) ज्वाईँ जेरार्ड कुस्नरका पिता चार्ल्स कुस्नर, आफ्नो चुनावी अभियानका पूर्व प्रमुख पल म्यानाफोर्ट र लामो समयदेखिका सल्लाहकार रोजर स्टोनसहित २६ जनालाई पूर्ण माफी प्रदान गरेका हुन् ।
सन् २०१६ को चुनावमा रुसी दखलका सम्बन्धमा भएको अनुसन्धानको क्रममा म्यानाफोर्ट दोषी ठहर भएका थिए । यस्तै सदनलाई झुट बोलेकोमा दोषी ठहर भएका स्टोनको जेल अवधि ट्रम्पले यसअघि कटौति गरेका थिए र अहिले पूर्ण माफी प्रदान गरेका हुन् ।
स्टोन पनि रुसी दखलको अनुसन्धानमा तानिएका थिए । पूर्ण माफी प्राप्त गर्नेहरु सम्पूर्ण दोषहरुबाट मुक्त हुन्छन् र कानूनी रुपमा उनीहरु निर्दोष सावित हुन्छन् ।
म्यानाफोर्टले साढे सात वर्षको जेल सजाय पाएका थिए । तर माफी पाएसँगै उनले राष्ट्रपतिलाई धन्यबाद भनेका छन् ।

यस्तै माफी प्रदान गरिएका ट्रम्पका सम्धी चार्ल्सले सन् २००४ मा कर छली, चुनावी अभियानको रकम हिनामिना तथा साक्षीलाई प्रभावित पारेको आरोपमा दुई वर्षको जेल सजाय भोगेका थिए ।
ट्रम्पले आउँदो महिना सत्ता छोड्नु पूर्व अरु धेरै व्यक्तिलाई माफी प्रदान गर्ने सम्भावना छ ।
अमेरिकामा सत्ताबाट बिदा हुँदै गरेका राष्ट्रपतिले कानूनी प्रक्रिया मार्फत ‘न्याय’ प्राप्त गर्न नसकेकाहरुलाई माफी प्रदान गरि उनीहरुको दोष मेट्नका लागि माफी प्रदान गर्ने चलन छ ।
तर ट्रम्पले सो शक्तिको प्रयोग आफ्ना सहयोगीहरुको अपराध मेट्न प्रयोग गरेको अभियोग लागेको छ ।
यसअघि मंगलबार बेलुका ट्रम्पले एफबिआईसँग झुट बोलेकोमा दोषी ठहर भएका जर्ज पापाडोपोलोस र एलेक्स भान डेर ज्वानसहित १५ जनालाई पूर्ण माफी प्रदान गरेका थिए ।