फेरि चम्कँदै छ ‘किरण दाइको मःमः पसल’

काठमाडौँ– सेतै फुलेको लामो दारी, उस्तै कपाल पनि । चाउरी परेका गाला । पातलो जीउडाल, हँसिलो अनुहार भएका उनी मःमः बाँडिरहेका छन्, उनी हुन किरण श्रेष्ठ । उनलाई सबैले किरण दाइ’ भनेर बोलाउँछन् ।

उमेरले आधा शताब्दी काटेका भए पनि काम गराइ हेर्दा निक्कै जोशिलो देखिन्छन्। घरी मःमः बनाउँदै त घरी ग्राहकलाई मःमः दिइरहेका छन्। उनको हात एकछिन खालि हुन्न । उनलाई बोल्न समेत फुर्सद हुन्न । फुर्सद पनि होस् पनि कसरी, उनी निकै व्यस्त मःमः व्यवसायी जो हुन्।

उमेरमा ५८ वर्ष पार गरेका उनले ४८ वर्ष त मःमः व्यवसायमा नै बिताए । विगत ४८ वर्षदेखि उनी यस्तै व्यस्त छन्। अहिले उनी विगत चार वर्षदेखि ज्ञानेश्वरमा ‘किरण दाइको मःमः पसल’ खोलेर बसेका छन्।

१० वर्षको हुदाँदेखि नै सानिमाको पसलमा काममा लागे। त्यो समय उनको खेल्ने कुद्ने थियो। तर उनको खेल्ने कुद्ने उमेर पारिवारिक परिबन्धमा पर्‍यो। त्यो परिबन्धलाई तोड्न उनले सानिमाको पसलमा निकै मेहनत गरे । जसरी मेहनत गरेका थिए, त्यसरी उनले चाँडै मःमः को कामका साथै अन्य काम पनि सिके।

उनी कामसँगै पढ्थे पनि । काम सकेर बेलुका नन्दी रात्रि स्कूल पढ्न जान्थे। जसोतसो एसएलसीसम्म पास गरे । तर जीवनमा आइरहेका उतारचढावले पढाइ नै माया मार्नु पर्‍यो। उनको पढाइ बिचमै रोकियो ।

त्यसपछि उनले पूरा समय मःमः बनाउन, बेच्न, पसलको रेखदेख गर्नमा लगाए । समय बित्दै गयो। समयसँगै उनी पनि जवान भए। ‘सानो हुँदा किमा बनाउने, मःमः बनाउने, सरसफाइ, होटलको रेखदेख सबै गर्थेँ’ उनले भने, ‘ठूलो भइयो। जिम्मेवारी थपियो । सानिमाको भए पनि आफ्नै सोचेर काम गरियो। तर सोचे जस्तो हुँदो रहेनछ ।’

सानिमाको व्यवसायलाई पार लगाउन उनको ठूलो हात छ । ‘सानिमाको पसल पहिले मासन गल्लीमा थियो । त्यहाँ व्यवसाय नभएपछि गौशालामा नारायण दाइको पसल बनाएर सुरु गर्‍यौँ’ उनले भने, ‘त्यहाँ पनि राम्रो कमाइ भएन। त्यसपछि चाबहिल भगवान थानमा गयौँ। त्यहाँ भने राम्रो कमाइ भयो।’

तर उनी त्यहाँ लामो समय टिकेनन् । उनको सानिमाका छोरीहरु मात्र भएकाले उनले सबै काम हेर्थे । अब परिस्थिति फरक थियो । सानिमाका छोरी ज्वाइँहरुले व्यवसाय सम्हाल्न थाले । अनि सुरु भयो खट्पट ।

‘आफ्नो पूरा जीवन लुटाएको व्यवसायमा अरुले दखलअन्दाजी गर्दा कताकता नरमाइलो लाग्दो रहेछ’, उनी निराश हुँदै सुनाउँछन् ।

ज्ञानेश्वरबाट गौशाला जाने ओरालोमा रहेको किरण दाइको म:म: पसल।

उनी अघि भन्छन्, ‘सानिमाको व्यवसायमा म भन्दा धेरै अधिकार छोरी–ज्वाइँकै हुन्छ । तर मैले पनि आफ्नो पूरा जीवन त्यसैमा लगाएको थिएँ । आफ्नै ठानेर काम गरेको थिएँ। तर आफ्नो जस्तो व्यवहार पाइन मैले। त्यसपछि लाग्यो आफ्नो आफ्नै हुँदो रहेछ । ’

आफू र आफ्नो कामप्रति भएको असहज व्यवहारले उनलाई आफ्नै केही गर्नुपर्छ भन्ने लाग्यो ।

तर के गर्ने ? अरु त उनलाई केही आउँदैन थियो। आउँथ्यो त केवल मःमः बनाउन।

आफूसँग भएको सीपलाई हतियार बनाउँदै उनी ‘आफ्नो’ लागि केही गर्न बजारमा निस्किए । ‘तर बजारमा सोचे जस्तो व्यवसाय जमाउन कहाँ सजिलो र छ ?’ उनी खिस्स हाँस्दै भन्छन्, ‘पहिले त जमाएको व्यवसायमा नै पाइला टेकेको थिएँ । तर अबका पाइलाहरु भने आफ्नै लगानीमा आफै पाइला चाल्नु पर्ने देखियो।’

उनले केही ऋण निकालेर डिल्लीबजारमा मःमः व्यवसाय सुरु गरे। तर त्यहाँ उनको व्यापार नै चल्न धौ धौ भयो । व्यापार नचलेपछि उनले त्यहाँबाट व्यवसायलाई कालिकास्थान सारे। ‘व्यापार केही राम्रो भइरहेको थियो । तर घरबेटीले बर्सेनि भाडा बढाएर हैरान गरे’ उनले भने, ‘के गर्नु व्यवासाय बन्द गर्ने अवस्थामा पुगियो र समयले पनि साथ दिएन ।’

चारैतिरबाट ठक्कर खाए पनि उनले हार मानेनन् । उनले व्यवसाय बन्द गर्न लागे पनि आफ्ना ग्राहकलाई छुटाउन चाहन्थेनन्। ठाउँ छोडे पनि आफूले ग्राहकहरुलाई छोड्न नसकेको उनी बताउँछन्। ‘ग्राहकहरु नै आम्दानीका स्रोत हुन्। उनीहरुलाई छोड्ने कुरै भएन’ उनी भन्छन्, ‘ठाउँ पो छोड्न लाको हो। व्यापार होइन नि।’

व्यापार त उनलाई अर्को ठाँउमा पनि गर्नु थियो । त्यसका लागि उनले कालिकास्थानमा व्यापार छोड्दा ग्राहकहरुलाई मःम ‘पार्टी’ दिए, ताकी उनीहरुलाई आफ्नो अर्को व्यवसाय तथा ठाँउका बारेमा जानकारी होस् । पछि यही जुक्तिले जीवनमा महत्वपूर्ण काम लागेको उनी बताउँछन्। उनको जुक्ति केही समय काम लागे पनि ‘पार्टनरसिप’ मा गरेको व्यवसायले दीर्घकालसम्म भने टिक्न नसकेको उनी स्वीकार्छन् । उनी त्यहाँ पनि साथीले नै छलेको बताउँदै भन्छन्, ‘मैले लगाएको जुक्तिले काम गर्‍यो । तर केही समय मात्रै ।’

उनले मैतिदेवीमा एक जना साथीसँग मिलेर व्यवसाय सुरु गरेका थिए। तर उनका सहकर्मीले उनलाई छल्न थाले। उनी एक पटक फेरि ठगिए । पटक–पटक आफन्त र साथीभाइसँग सहकार्यमा ठगिएपछि उनले निधो गरे, ‘अब जे गरे पनि आफ्नै गर्छु । साझेदारीमा केही गर्दिन। ’

उनी अब एक्लै तरिकाबाट बनेपामा पुनः मःमः व्यवसाय नै सुरु गरे । त्यहाँ एक वर्ष व्यवसाय चलाए । व्यवसाय उनको राम्रो चलिरहेको पनि थियो । तर उनलाई ओहोरदोर गर्न निकै सकस पर्‍यो। फेरि उनी मैतिदेवी नै आउने भए । एक महिना लगाएर सटरको खोजी गरे । ३ महिनाको एकमुष्ट ऋण लिएर भाडा बुझाए अनि मैतीदेवीमै सुरु गरे आफूले जानेको मःमः व्यवसाय नै।

त्यसपछि उनी त्यही खाने बस्ने र व्यवसाय पनि चलाउने । त्यहाँ पनि व्यवसाय जमाउन उनलाई ६ महिना लाग्यो । उनी त्यो क्षण सम्झिदै भन्छन्, ‘६ महिनामा साह्रै दुःख भयो । ऋण लिएर भाडा बुझाएको छु ।’

मःमः मा पारङ्गत भएकाले पुराना ग्राहकहरु पनि उनलाई खोज्दै आउन थाले । बिस्तारै उनको व्यवसाय चल्न थाल्यो । सामान्य पसल, त्यति व्यवस्थित नभए पनि व्यापार राम्रो भइरहेको थियो।

तर चैतमा सरकारले लकडाउन लगाएपछि भने उनको व्यापारमा पनि कोरोना कहरको प्रभाव पर्‍यो। करिब ६ महिना सरकारले गरेको लकडाउनले उनको व्यापार पनि नराम्रोसँग प्रभावति बन्यो। उनी फेरि समस्यामा फसेँ ।

उनलाई यो समस्याबाट माथि उकास्न धेरै ठूला–ठूला लगानीकर्ताले साझेदारीको प्रस्ताव राखे । तर उनले कसैलाई सुनेनन् । कारण एउटै थियो की उनी साझेदारीबाट पहिले नै धोका खाइसकेका थिए । अब भने उनी धोखाधडीमा नपर्ने मनसायले सबैको प्रस्ताव अस्वीकार गरे ।

उनी दिनप्रतिदिन अझै उनको समस्याको भुङ्ग्रोमा जाकिँदै जान थाले । तर कोभिड महामारीको सारथी बन्यो नारङ्ग हस्पीट्यालिटी प्राइभेट लिमिटेड ।

नारङ्गले ‘किरण दाइको मःम’ पसलको स्वरुप नै परिर्वत गरिदियो। त्यति मात्र होइन, कोरोनाले ओरालो लागेको व्यवसाय माथि उठाउन लगानी पनि गर्‍यो। तर यहाँ कुनै साझेदारी नगरिकनै । किनकी कम्पनीका सञ्चालक केरल पोखरेलका अनुसार समस्यामा परेका सानातिना व्यवसायीहरुलाई उकास्न सहयोग गर्दै आएका छन् उनीहरुले ।

नारङ्गले किन गर्छ यस्तो सम्झौता?

कम्पनीका सञ्चालक केरल पोखरेल भन्छन्, ‘किरण दाइसँग हामीले हिस्सा लिने गरि साझेदारी गरेका होइनौँ। यसमा हामीले लगानी गरेका छौँ। सबै हक अधिकार उहाँकै हुन्छ । तर लगानी गरेपछि व्यवसायलाई स्थापित गर्ने र त्यसबाट आएको प्रोफिटबाट केहि प्रोफिट आफूहरुले लिने त्यो प्रोफिटलाई फेरि उहाँ जस्तै समस्या परेका व्यवसायमा लगानी गर्ने हो। अर्को कुरा उहाँको व्यवसाय राम्रोसँग ग्रोथ भएपछि त्यसको ब्रान्च खोल्ने र बेच्ने त्यसबाट आएको पैसा केही प्रतिशत किरण दाइलाई दिने र बाँकी लगानी स्वरुप कम्पनीको हुन्छ ।’

उनका अनुसार ‘मार्केटिङ्ग, ब्राण्डिङ, फ्रेन्चाइज’ गरेर व्यापार बढाई त्यहाँबाट आएको नाफाले पुनः समस्यामा परेका व्यवसायीहरुको पुनर्उत्थानका लागि केही प्रतिशत लगानी गर्नेछौँ ।

उक्त कम्पनीले किरण दाइको पसलको भाडा तिर्नुका साथै कर्मचारीहरुको व्यवस्था पनि गरिदिएको छ । कम्पनीले मःमः को हाइजिन, सरसफाइ लगायतका सबै पक्ष हेर्ने गरेको छ ।

त्यतिमात्र होइन, कम्पनीले ‘किरण दाइ’ को मःमः लाई अनलाइन माध्यमबाट सेवा दिइरहेको छ । सुरुमा कम्पनीले सीमित क्षेत्रका ग्राहकहरु लाभान्वित हुन्थे भने अहिले सबै ठाउँका ग्राहकहरुले ‘किरण दाइको मःमः’ खान आउने गरेका छन् । कम्पनीले होम डेलेभरीका लागि छिट्टै फुडमाण्डु तथा पठाओसँग सहकार्य गर्ने जानकारी दिएको छ ।

सीमित क्षेत्रमा समेटिएको व्यवसाय फराकिलो भएको देख्दा किरण दाइ दंग छन्। उनले कम्पनीसँग सहकार्य गरेको दुई हप्ता पनि भएको छैन। आजभोलि उनको पसल परिवर्तन भएसँगै व्यापार पनि फस्टाएको उनी दङ्ग देखिन्छन्।

‘यो सम्झौताले निकै खुसी छु । किनकि मैले आफ्नो पूरा जीवन सानिमाको व्यवसाय अगाडि बढाउन लगाएँ । आफ्नो पनि केही गर्नुपर्छ कहिले सोचिन । यसले गर्दा बुढेसकालमा आएर व्यवसाय गर्दैछु । सायदै पहिल्यै गरेको भए आज म धेरै अगाडि बढिसकेको हुन्थे । ढिलै भए पनि राम्रो प्रस्ताव उहाँहरुले ल्याउनु भएको छ। मैले सिकेको सिप अरुले पनि सिक्न पाउँछन्। ’

किरण दाइले आफ्ना छोराहरुलाई पनि यही व्यवसायमा सेटल गराउन चाहन्छन् । बुढ्यौली नियाल्दै उनी भन्छन्, छोराहरुलाई पनि यसैमा सेटल गराउनु छ । समयक्रमसँगै बुढो हुँदैछु। अब म बुढो मान्छेको के भर?’

पुस ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्