तीव्र गतिमा फैलिने नयाँ स्वरुपको कोरोना भाइरस विश्वका विभिन्न देशमा पुग्यो

अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको रुपान्तरित नयाँ प्रकारको संक्रमण विश्वका विभिन्न देशमा पुगेको छ ।

युरोपका धेरै देशसँग क्यानडा र जापानमा पनि रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बेलायतमा पहिलोपटक देखिएको सो भाइरसको संक्रमण अहिले युरोपका स्पेन, स्वीट्जरल्याण्ड, फ्रान्स, डेनमार्कसहितका देशमा देखिएको छ। ती देशहरुमा संक्रमण पुष्टि भएकाहरु हालै बेलायतबाट फर्किएका थिए ।

यस्तै क्यानडाको अनतारिओका दम्पतीमा पनि नयाँ स्वरुपको भाइरसको संक्रमण देखिएको हो । तर उनीहरुको ट्राभल हिस्ट्री भने नरहेको स्थानीय अधिकारीले बताएका छन् ।

जापानमा पनि सो भाइरसको संक्रमण देखिएपछि सोमबारदेखि गैरआवासीय विदेशीहरुलाई एक महिनाका लागि देश प्रवेशमा रोक लगाउने भएको छ । बेलायतबाट आएका पाँच यात्रुमा सो भाइरसको संक्रमण देखिएको थियो ।

त्यसपछि अहिले जापानमा थप दुईजनामा आन्तरिक रुपमै संक्रमण फैलिएको छ । युरोपका विभिन्न देशमा कोरोना भाइरसविरुद्धको खोप अभियान एकीकृत रुपमा गर्ने अभियान पनि सुरु भएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण जर्मनी, इटाली, नेदरल्याण्डस र अस्ट्रेलियामा पनि देखिएको छ।

पुस १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्