उद्योग वाणिज्य महासंघ प्रदेश–१ को निर्वाचनका लागि बाटो खुल्यो

मोरङ– उच्च अदालत विराटनगरले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ को निर्वाचन प्रक्रिया गर्न बाटो खुला गरिदिएको छ।

मंगलबार न्यायाधीशद्वय प्रेमराज ढकाल र रेणु शाहको संयुक्त इजलासले महासंघको निर्वाचन स्थगित गर्न परेको निवेदन खारेज गरेपछि निर्वाचनका लागि बाटो खुला भएकोहो।

उच्च अदालतका प्रवक्ता एवं सूचना अधिकारी ओमराज सुवेदीले निर्वाचन प्रक्रिया स्थगितका लागि गर्ग प्रिन्टर्सका अन्ताज हुसेनले दिएको निवेदन अदालतले खारेज गरेको जानकारी दिए।

हुसेनले पौष ११ गते अदालत समक्ष निर्वाचन स्थगितको लागि अन्तरिम आदेशको माग गरेका थिए। अदालतले निर्धारित मितिमा निर्वाचन स्थगित भइसकेको हुँदा सो अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने आवश्यकता नरहेको जनाएको छ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले साधारणसभा र निर्वाचन प्रक्रियाको आगामी मिति महासंघमा छलफलपछि तय गर्ने जनाएका छन्।

गत शुक्रबार अदालतले शनिबारका लागि निर्धारित गरिएको साधारणसभा र निर्वाचन स्थगित गर्दै मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। मंगलबारको छलफलपछि अदालतले हुसेनले दायर गरेको निवेदन खारेज गरेको हो।

पुस १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्