एक किसानको जिन्दगी

ती उखुकिसान जसले सत्ताको लाचारीका कारण ज्यान नै गुमाए

तस्बिरहरु: पूर्णिमा बिक।

हमरा बिच बाटमै छोडके चला गेलल्, हम्रा साथमे लेकर जावना, हमरा लोगके कौन देख्बे ? देख रे बाबु !’

(हामीलाई बिच बाटोमा छोडेर गयौ, मलाई पनि साथमा लगेर जाऊ, हामीलाई अब कसले हेर्छ ?)

पुर्पुरोमा हात लाउँदै एक महिला रुँदै सहिद गंगालाल अस्पतालको प्राङ्गणमा थचक्क बसिन्। रंगिएको सिउँदो, पहेँलो सारी लगाएकी उनी भक्कानिएर छाती पिट्दै रुन थालिन्। उनी तिनै उखु किसान नारायण राय यादवकी श्रीमती सुनादेवी यादव हुन् जसको श्रीमान्‌को मंगलबार बिहान ६५ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो।

उनी अस्पताल परिसरमा श्रीमानलाई देख्न नपाउँदा निकै छट्पटाएर रोइरहेकी थिइन्। आफ्ना नाति रमेशलाई रुँदै भनिरहेकी थिइन्, ‘एकबेर देखल दे हम्रा राजा के’अर्थात मलाई एक पटक श्रीमानलाई हेर्न देऊ। तर उनका नाति  यसमा असमर्थ थिए। रमेश उनकी छोरीका छोरा हुन्।

उनी निरास हुँदै भनिरहेका थिए, ‘बिहान फोन आउँदा नाना (हजुरबुवा) लाई ठीक छ भनेर अस्पतालबाट खबर आयो। त्यसपछि नानी (हजुरआमा), म अनि मामा काठमाडौँका लागि हिँड्यौँ। करिब ११ बजे ‘नाना’को मृत्यु भएको खबर पायौँ। यो कुरा हामीले नानीलाई भनेका थिएनौँ। तर नानीले फोनमा कुरा गरेको सुन्नुभयो।’

अस्पतालमा उपचार भइरहेको श्रीमान्‌को अचानक मृत्यृ भएको खबरले उनले होस गुमाइन्। ‘नानीलाई हामीले निकै सम्हालेर काठमाडौँ ल्याउनु पर्‍यो’, उनी निन्याउरो मुख लगाएर भनिरहेका थिए, ‘नानी भावविह्वल भएर रोइरहनु भएको थियो।’

नरुन् पनि कसरी ? उनको त संसार उजाडिएको छ। सर्वस्व नै गुमेको थियो। उनलाई उनका श्रीमानले छिट्टै आउँछु भनेका कबुल जो गरेका थिए। तर उनी आफ्नो श्रीमान्‌लाई नभई उनको शव लिन काठमाडौँ पुगेकी थिइन्। आफ्नो जीवनसाथीलाई त्यस्तो हालतमा लिन आउनु पर्दा र जीवनसाथीले त्यसरी चटक्कै छोडेर जाँदा कुन नारीको मन नरोला र !

उनको यो आँसुको कारण को त ? जवाफ एउटै थियो, ‘उखुको बक्यौताको रकम र उखु मालिक।’

उनका श्रीमान् नारायण यादव १७ दिनअघि उखुको बाँकी रकम भुक्तानीको मागसहित सर्लाहीको रामनगर गाउँपालिकाको छोटवल गाउँदेखि अरु किसानसँगै काठमाडौँ आइपुगेका थिए चिसो मौसमलाई चुनौती दिँदै।

चिनी मिल उद्योगीहरुले उखु किसानहरुको भुक्तानी नदिएपछि उनीसहित उनका साथीहरु आन्दोलनका लागि पुनः काठमाडौँमा जम्मा भएका थिए।

गतवर्ष पनि पुसको कठ्याङ्‌ग्रिदो जाडोमा उखुको बक्यौता भुक्तानीका लागि काठमाडौँ आए उनीहरु। करिब १५-१६ दिन आन्दोलन गरे। उनीहरुको त्यो आन्दोलनले सफलता पायो। आन्दोलनको फल स्वरुप उनीहरुलाई बक्यौता रकम दिने सम्झौता पनि भयो।

सरकार र चिनी मिलका उद्योगीहरुले उनीहरुले उखुको बक्यौता रकम दिने वाचा कबुल गर्‍यो। तर अफसोस! किसानहरुलाई गरेको वाचा नै पूरा गरेनन् चिनी उद्योगीहरुले। वर्ष दिन पुग्दा समेत रकम पाएनन्। बरम्बार उनीहरुले सरकारलाई झक्झक्याए। तर हात लाग्यो शून्‍य। त्यसपछि उनीहरुले दृढसंकल्प लिए- ‘अब फेरि काठमाडौँमै सडक आन्दोलन तताउने।’

गतवर्ष पुनःआन्दोलन गर्न आएको तर कोरोना भाइरसका कारणले त्यो सम्भव नभएको उखु किसान राम बिलास महत बताउँछन्। ‘हामीले यसबारे सरकारलाई धेरै पटक भन्यौ’, उनले भने, ‘तर सरकारले हाम्रो कुरा सुनेन। त्यसपछि हामी आन्दोलन गर्न गत वर्ष चैतमा आएका थियौँ। तर कोरोना भाइरसको कारणले बन्द भयो। त्यसैले घर फर्कियौँ।’

कोरोना महामारी भए पनि आफूहरु ऋणमा डुब्न लाग्दा फेरि आउन बाध्य भएको उनी बताउँछन्। यही बाध्यतामा महतले आफ्नो साथी पनि गुमाएका छन्। ‘उखुले मेरो साथीको ज्यान लियो। पैसा लिन आएको थियो। तर पैसा नलिइकनै हामीलाई छोडेर गयो,’ गहभरि आँशु झार्दै उनले भने, ‘उनको अझै बक्यौता लिन बाँकी छ। तर साथी पैसा नलिइकनै छाडेर हिँड्यो।’

यस पटकको आन्दोलनले उनको ज्यान लियो।

पुसको ठिहिर्‍याउने जाडोमा उनले १७ दिनसम्म आन्दोलन गरे। आन्दोलनमा क्रममा उनी जोरपाटीको कृष्णमन्दिरमा बस्थे। ‘दादा माछा मासु नखाने भएकाले जोरपाटीको कृष्णमन्दिरमा बस्नु हुन्थ्यो’, उनका नाति रन्जित यादवले भने।

यसपटक पनि उनको संघर्षले रंग ल्यायो। सरकार र उखु किसानबिच बक्यौता फिर्ता गर्ने सम्झौता भयो। तर पहिलेको जस्तै अवस्था हुने शंकाले उनी चिन्तित भएको रन्जितले बताए। ‘यता धेरै चिसो पनि भयो। बैंकको लोनको पनि चिन्ता थियो उहाँमा। पहिले पनि यसरी नै सम्झौता गरेर पैसा दिएनन् उखु मालिकले। हामीसँग धोखाधडी गर्‍यो पटक-पटक’, उनले भने।

अन्नपूर्ण मिलले २०७४-०७५ को २४ लाख ६४ हजार उखुको बक्यौता रकम दिन बाँकी रहेको रन्जित बताउँछन्। उनका अनुसार उक्त मिल दुई वर्षदेखि बन्द नै रहेको छ। नारायणको परिवार उखुकै आम्दानीबाट चल्छ। उखु नै उनीहरुको मुख्य आम्दानीको स्रोत हो।

‘हाम्रो उता सबैले उखु लगाउँछन्। सबैको आम्दानीको स्रोत नै उखु हो’, उनले भने, ‘त्यही पैसाबाट घर खर्च, बैंकको लोन अनि सबैको पढाइ गर्नुपर्छ। तर पैसा नै नभएपछि कसरी गर्ने यी सब आवश्‍यकता पूरा?’

नारायणलाई करिब १८ लाख रुपैयाँको ऋण छ। तर यसबारे उनले आफ्ना परिवारलाई कहिल्यै केही बताएनन्। ‘हजुर बुबाले हामीलाई कहिले केही भन्‍नु हुन्‍नथ्यो। सबै काम आफैँ गर्नुहुन्थ्यो’, रन्जितले सुक्सुकाउँदै भने।

अरु काम सुटुक्कै गर्ने नारायणको ज्यान पनि सुटुक्कै गयो, कसैलाई खबरै नगरी। बक्यौता रकम लिन काठमाडौँ आएका कफनमा घर फर्के। तर उनको आडमा अरुले हात भर्न खोजेको उनका आफ्न्त महेन्द्र राय यादवको आरोप छ। ‘जब उहाँ भुक्तानीको लागि आन्दोलन गर्दै हुनुहुन्थ्यो त्यो समयमा ठूलाबडा बोलेनन्’, उनी आक्रोशित हुँदै भन्छन्, ‘तर अहिले उहाँको ज्यान गएपछि लासमाथि राजनीति गर्न खोजिदैछ। लासलाई ढाल बनाएर पैसा खान खोजिदैँछ।’

किसानको मुत्यु भएपछि ठूला नेताहरु पनि आइपुगेको र त्यसमा पनि आन्दोलन गर्नुपर्ने सुझाव दिइरहेको उनले बताए। त्यहाँ आएका प्रदेश मामिलाका सभापति अशोक यादवले नारायणको शव माइतीघर मण्डलामा लैजाने र उनलाई सहीद घोषणा गर्नुपर्ने बताए। यसै विषयलाई लिएर उनी र प्रहरीबीच भनाभन पनि भएको थियो। तर उनको सुझावलाई उनका परिवारले अस्वीकार गर्दै आएका छन्। उनीहरु नारायणको लासलाई घर लैजाने निर्णय गरेका छन्।

नरायणको परिवारलाई उद्योग मन्त्रालयले क्रिया खर्च बापत २५ हजार रुपैयाँ प्रदान गरेको छ। उद्योग मन्त्रालयका सह-सचिव नारायण रेग्मीले उक्त रकम परिवारलाई हस्तान्तरण गर्दै उनलाई पछि केही राहत दिने बताएका छन्।

कस्ता व्यक्ति थिए नारायण यादव ?


नारायणलाई उनको गाउँमा सबैले मान्‍थे। उनी गाउँलेलाई अप्ठेरो पर्दा अघि सर्ने स्वभावको भएको उनका साथीहरु बताउँछन्।

त्यतिमात्र होइन, उनी आयुर्वेदका जानिफकार पनि थिए। सानोतिनो औषधिमूलो स्वयम् बनाउँथे।

रन्जितका नानी (हजुरआमा) का अनुसार हजुरबुबा (नाना)ले आफैँ आयुर्वेद सम्बन्धि तालिम लिएर आफैँ औषधि बनाउँथे।

यसका साथै नारायण भेटनरीको पनि उपचार गर्थे। तर बहुमुखी प्रतिभाका धनी नारायणले भने उपचारकै क्रममा ज्यान गुमाउनु पर्‍यो।

भिडियो पनि हेर्नुहोस्:

पुस १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्