मेस्सी दर्शक बनेको खेलमा बार्सिलोना जित बिहीन

लियोनल मेस्सी बिनाको बार्सिलोना बराबरीमा रोकिएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनालाई एइबरले १–१ को बराबरीमा रोकेको हो ।

चोटका कारण मेस्सी यो खेलमा मैदानमा थिएनन् । उनले रंगशालाबाट हेरिरहेका थिए ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बराबरी गोल फर्काए पनि थप गोल गर्न सकेन । ५७ औँ मिनेटमा किकेले एइबरका लागि गोल गरि सुरुवाति अग्रता दिलाए ।

त्यसको १० मिनेटपछि बार्सिलोनाका लागि उसमान डेम्बेलेले बराबरी गोल गरे । खेलको अन्त्यतिर पाएको पेनाल्टीमा मार्टिन ब्रेथवेटले गोल गर्न सकेनन् र बार्सिलोना जित बिहीन बन्यो ।

बराबरीपछि १५ खेलबाट २५ अंकसहित बार्सिलोना छैटौँ स्थानमा पुगेको छ । १६ खेलबाट १६ अंकसहित एइबर १५ औँ स्थानमा छ ।

ला लिगा अन्तर्गत मंगलबार राति भएका अरु खेलमा सेभिल्लाले भिल्लारियललाई २–० तथा लेभान्टेले रियल बेटिसलाई ४–३ ले पराजित गर्दा काडिज र रियल भालाडोलिडले गोलरहित बराबरी खेलेका छन् ।

पुस १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्