प्रदेश-१ मा पनि दलभित्रै आरोप-प्रत्यारोप

प्रदेश-१का आन्तरिक मामिला मन्त्री कार्कीले गरे सरकारको बचाउ

मोरङ-नेकपाभित्रको राजनीतिक फुटसँगै प्रदेश-१ मा दलभित्रै आरोप प्रत्यारोप सुरु भएको छ। प्रधानमन्त्री ओलीपक्षबाट मुख्यमन्त्री शेरधन राईपछि आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले समेत प्रदेश सरकारको बचाउ गरेका छन्।

सो क्रममा प्रचण्ड नेपाल पक्षधरले प्रदेश संसदीय दलको नेताविरुद्धको प्रदेश सभा सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्ताव विधान विपरीत रहेको उनले बताएका छन्।

केहीदिनअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारीवहन गरेका आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले अविश्वासको प्रस्ताव दर्ता विधान विपरीत भएको जनाउदै मुख्यमन्त्री शेरधन राईको बचाउ गरेका हुन्।

विराटनगरको एक होटलमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्कीले दलको नेताबाट हटाउने प्रस्ताव दलका प्रमुख सचेतकमार्फत आउनु पर्नेमा त्यसरी नआएकाले विधान विपरित भएको दाबी गरेका थिए।

संसदीय दलको नेता हटाउने प्रस्ताव उपनेता टंक आङबुहाङले बहुमतका आधारमा प्रमुख सचेतक बुद्धि बहादुर राजभण्डारी मार्फत संसदीय दलमा पेश गर्नुपर्ने व्यवस्था रहेको कार्कीले प्रष्टाएका छन्।

मुख्यमन्त्री शेरधन राईको बचाव गर्दै मन्त्री कार्कीले मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्ने भएकाले वर्तमान सरकारले निरन्तरता पाउने दाबी गरेका थिए।

पुस १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्