प्रदेश-१ मा २६ जना कोरोना संक्रमित थपिए, २४० जना डिस्चार्ज

मोरङ-प्रदेश १ कोरोना भाइरसका २६ जना नयाँ संक्रमित थप भएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेशमा गरिएको ३ सय १७ जनाको पिसिआर परिक्षणका क्रममा ११ महिला र १५ पुरुषको गरि कुल २६ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

यसक्रममा मोरंग र सुनसरीमा समान ६, धनकुटा र झापामा समान ४, खोटांगमा २, ताप्लेजुंगमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगर महानगरपालिकामा २, सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिकासंगै कानेपोखरी र बुढीगंगा गाँउपालिकामा समान १ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिकामा ३, इटहरी उपमहानगरपालिकामा २ र रामधुनी नगरपालिकामा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

झापाको कनकाई नगरपालिकामा २, कमल गाउँपालिका र स्थानीय तह नखुलेकामा समान १ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

पहाडी क्षेत्रतर्फ धनकुटाको धनकुटा नगरपालिकामा ४, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेकामा समान १, ताप्लेजुङको सिदिङ्वामा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ। यससंगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ७ सय ५५ पुगेको छ।

अर्कोतर्फ, गएको २४ घण्टामा प्रदेशमा २ सय ४० जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन्। यससँगै प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १ सय ८० पुगेको छ।

पुस १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्