पृथ्वी ग्रहमा मेरो यो यात्रा

२०४१ मा गरेको नेपाल प्रवेश रहरले नभएर बाध्यताजन्य परिस्थितिको उत्पति थियो। भारतमा सिख उग्रवादमा परी प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको १३ औं दिन १३ नोभेम्बरमा पिताजी घर छाडेर हिँड्नुभयो। केही महिनापूर्व ‘एल्केमी’को एउटा प्रयोगका दौरान उहाँलाई हृदयाघात भएको थियो। उहाँ हिँड्नुका अन्य महत्वपूर्ण कारणहरु मध्ये आर्थिक कारण पनि थियो। अर्थोपार्जन क्षेत्रमा उहाँ जीवनभरि असफल रहनु भयो।

उहाँ हिँडेपछि आर्थिक कारण लगायत मेरो स्वच्छन्द संगतले पूर्खाभूमि नेपाल फर्किन विवश तुल्यायो। सात जनवरी १९८५ का दिन सात हजार भारतीय रुपैयाँ बोकी आमा र चारजना भाइबहिनीलाई लिई मैले नयाँ ठेगानाको खोजीमा मातृभूमि भारतलाई अलविदा गरी पुर्खाभूमि नेपालका लागि कूच गरेँ।

काठमाण्डूको इन्द्रचोकको भट्टराई खलकबाट कुनै शाहवंशी युवतीको बिहेमा मुग्लान गएका (उत्तर प्रदेश राज्यको शाहजहाँपुर जिल्लाको पुवायां तहसील, तत्कालीन पुवायां रियासत) लक्ष्मीनारायण भट्टराईका छोरा नारायण भट्टराई, उनका छोरा मोहन भट्टराई र उनका तीन भाइ छोरामध्येको जेठो छोरा सत्यदेव भट्टराईको जेठो छोराले परिवारसहित १० जनवरी १९८५ मा जोगवनी नाका हुँदै बिराटनगर नेपाल प्रवेश गर्‍यो। मलाई यसबारे एकपटक मातृकाप्रसाद कोइराला बाबाले भन्नु भएको थियो- इन्दिरा राज्यलक्ष्मीदेवी शाहको बिहे भएको थियो त्यहाँ। यसको थप पुष्टि त कुनै बेला काठमाण्डूको एलो प्यागोडा होटलका मालिक केशव वर्मा र उनका सन्तानले नै गर्न सक्छन्। केशव वर्मा ती नेपाली युवतीका पुत्र थिए, उनी रियासत छाड़ी त्यही बेला नेपाल फर्केका थिए।

एउटा रमाइलो प्रसंग कहिलेकाहिँ भट्टराई थरका कुनै साथीको घर जाँदा मसँग प्रश्न हुने गर्छ- तपाईँहरु कहाँको भट्टराई? म हाँस्दै भन्छु- म इण्डियाको भट्टराई। यस विषयमा खोजीनीति गर्ने चासो मलाई कहिल्यै भएन तर यति भने थाहा छ सोल्टी मोड़मा घर हुने भट्टराईहरुकै शाखाप्रशाखा हौँ हामी।

मेरा मामाहरु पुर्ख्यौली थलो खोटाङबाट भर्खरै तराई प्रवेश गरेका थिए। विराटनगरमा डेरामा बस्थे, मधुमाराको मामाहरुको डेराघर नै हाम्रो शरणस्थली बन्यो। नियतिका अनेकौँ भोग भोग्दै भाइबहिनी र आमाको भविष्यका लागि संघर्ष प्रारम्भ भयो। दिदीले दर्शनशास्त्रमा डिग्री गरेकी थिई, विराटनगरमा कुनै काम उपलब्ध हुन नसकेपछि उसलाई काठमाडौं पठाइयो। काठमाडौंमा उसको संघर्षको आफ्नै कथा थियो।

नेपाल आएपछि पनि एकपटक भागेर पुनः भारत गएँ तर त्यहाँ जाँदा थाहा भयो, मेरो समूह र अर्को समूहबीच ठूलै संघर्ष भएछ। अर्कोपट्टीका सात र हाम्रोबाट एकजना ‘मेरो सबैभन्दा मिल्ने साथी अजय वर्मा’ मारिए। दुबै पक्षका अधिकांश सदस्य जेलमा र बाहिर रहेका प्रतिशोधात्मक भिडन्तको मौका पर्खाइमा थिए । मेरो साथी लल्लाले (अरविन्दकुमार शर्मा) मलाई त्यहाँ नबस्न अनुरोध गर्‍यो। भन्यो- ‘पिताजी गएपछि अब घरपरिवार तेरो जिम्मा छ, तँलाई केही भयो भने सबको बिजोग हुन्छ।’ लुकीछिपी बसी सात दिनमै मैले धनगढ़ी हुँदै पुनः विराटनगर फर्किनु पर्‍यो।

लल्लासँग त्यो भेट नै मेरो अन्त्मि भेट भयो। एक-डेढ वर्षपछि फेरी प्रहरी हिरासतमा पर्दा जेलभित्रै उनलाई सिध्याइयो।

हुलास वायर इन्डस्ट्रिजमा जागिर पाएपछि मैले विराटनगरमा छुट्टै डेरा लिएँ। भाइबहिनीले भाषा परिवर्तन भएकाले र राम्रो स्कुलमा पढ़ाउने आफ्नो हैसियत नभएकाले पढ्न सकेनन्।
दिदीले काठमाडौंमा पनि कुनै काम पाउन सकेकी थिइन। कीर्तिपुरमा रहेको कृष्ण अर्याल अकंलको स्कुलमा बसेर ‘क्यारियर’ बनाउन संघर्ष गर्दै थिई। मेरो पनि परिवार एकै ठाँउमा होस् भन्ने मनशायले काठमाडौं आउने सोच थियो, तर जागिर नभई कसरी आउनु?

२०४५ सालको दशैंपछि एकजना पञ्जावी कुलदीप अरोरासँग भेट भयो विराटनगरमा। उनले मलाई काठमाडौंमा ‘मार्केटिङ लाइनको’ जागिर ‘अफर’ गरे, त्यो स्वीकार गरी म काठमाडौं आएँ।
नयाँ बानेश्वरको संगम चोकभित्र एउटा कोठाबाट ‘काठमाडौं यात्रा’ प्रारम्भ भयो। २५ वर्ष सम्म डेरा सर्दै २०७० मा आएर दिदीले आफ्नो घर बनाएर आमालाई घरसुख दिन सकी, मैले आमालाई यो सुख दिन सकिन। म काठमाडौं आएको केही महिनापछि दीदीले ‘मोडर्न इन्डियन स्कुल’मा हिन्दी ‘टिचर’को जागिर पाएपछि एउटा कोठा छाडी हाम्रो हैसियत दुइटा कोठामा बस्ने बन्न पुग्यो। पछि उसले ‘ट्युसन’ पढाउन थालेकाले दुइटा कोठा पनि अपर्याप्त भएकाले हाम्रो भाग्यमा ‘फ्ल्याट’ सुख फलित भयो।

२०४८ मा जेनतेन माइली बहिनी सुनीताको बिहे गर्‍यौँ, दिदी र मेरो न बिहे गर्ने मनस्थिति थियो, न परिस्थिति नै। २०५३ मा आएर नियति र भाग्यको बिडम्बनाले दिदी बिहे गर्न तत्पर भई कृष्ण अंकलका एकजना साथी छवि निरौलासँग। नेपाली कांग्रेसको नयाँ बानेश्वरस्थित पार्टी कार्यलयमा उहाँसँग मेरो पहिलो भेट भएको थियो।

एकदिन अंकलले घरमा आई दिदीसँग बिहे गर्ने प्रस्ताव गर्नुभयो। मलाई मात्र थाहा छ- दिदीले किन बिहे गर्ने स्वीकृति दिएकी थिइन् त्यो बेला!

दिदीको बिहेपश्चात ममाथि बिहे गर्ने दबाब आउन थाल्यो, घरपरिवार, नाता गोता, इष्ट मित्र सबैको नचाहिँदो सुझाव सल्लाह र दबाबले घरको माहौल नै बिग्रिन थाल्यो। मेरो भने कुनै पनि हालतमा बिहे गर्ने मानसिकता थिएन। कान्छी बहिनीको बिहे र पढ्न नसकेको भाइलाई विदेश पठाएर स्वच्छन्द जीवनमा हिड्ने सुषुप्त प्रबल आकांक्षा थियो मभित्र।

भाइलाई भिनाजु छवि निरौलाले अथक प्रयास गरेर कोरिया पठाउनु भयो। कोरिया जाँदा भएको ऋण ऊ स्वयम्‌ले तिर्‍यो र कान्छी बहिनी संगीताको बिहे खर्च पनि भाइ केशवले नै ब्यहोर्‍यो।
बिहे गर्ने सोच नै थिएन ममा, मलाई आश्चर्य हुन्थ्यो- मानिसभित्र किन बिहे गर्ने यति बढी लालसा हुन्छ? मेरै पाँचजना मामाले म नेपाल आएपछि बिहे गर्नुभयो। बिहेका लागि तत्पर हुँदा उहाँहरुको कुनै आर्थिक अवस्था थिएन, न कुनै स्थायी जागिर नै। साहिँलो पुरुषोत्तम मामाले बिहे गर्दा भएकै जागिर गुमाउनुपरेको थियो। बिहेपछि उनको र शीला माइजूको जीवन संघर्ष कहालीलाग्दो थियो। मामा नीलराजले लहडमै बिहे गर्नु भयो र बिहे उपरान्त थपिएको आर्थिक बोझले उहाँले भोगेको आर्थिक सामाजिक पीडाको साक्षी नै थिएँ म। गुणराजले झन बिहे गरेर आफ्नो जीवन नै खत्तम बनायो।

मैले घर परिवारमा मात्र बिहेको विरोध गरेको थिइन, आफ्ना महिला मित्रहरुसँग पनि बिहे नगर्ने, मनशाय जाहिर गरेको हुन्थेँ। लक्ष्मी लामै समयसम्म मेरो मित्र रहिन्, विदेश नजाँदासम्म उनीसँग मेरो दिनहुँ भेट हुने गर्थ्यो तर न हामीबीच प्रेम थियो, न कुनै किसिमका बाचा बन्धन।

सुपात्रासँग पनि मेरो लामो सम्बध रह्यो, उनलाई पनि पहिलो भेटमा ‘म प्रेम र बिहेमा विश्वास नगर्ने मानिस भएको प्रष्ट’ पारेको थिएँ। उनीसँग मात्रै मित्रता शारीरिक सम्बन्धमा अघि बढ्यो। उनी मेरो लेखनको प्रसंशक थिइन्। उनी काठमाडौंमा आफ्नो दाइसँग बस्थिन्, दाइलाई उनको कुनै केटा (म) सँग सम्बन्ध रहेको पत्तो लागेछ, उनले रोक्ने, सम्झाउने प्रयास गरे, तर उनी नमानेपछि दाइले घरबाट निकालिदिए। उनी पशुपतिनजिक बस्ने आफ्नो एकजना भाइकोमा गई बसिन्।

केही साथीहरु र म स्वयंको प्रयासले उनको इजरायल जाने बाटो खुल्यो। उनी इजरायल गइन्, म स्वछन्द जीवनमा हिँडे। उनीसँगको एउटा प्रसंग मेरो जीवनको कहिल्यै नबिर्सने याद बन्यो। उनले हाम्रो सम्बन्ध रहुन्जेल कहिल्यै मेरो कुनै कुरा काटिनन्, उनी सधैं मेरा लागि जे पनि गर्न तयार हुन्थिन्। एक दिन हामी दुबै ओशो तपोवन पुगेका थियौं, ओशो समाधिमा बस्दाबस्दै ओशोको ‘सम्भोग से समाधि’को सम्झना आयो। मैले उनलाई केही नभनी आफूतिर तानेँ, उनले कुनै प्रतिकार गरिनन्।

हाम्रो तपोवनको क्रिडाबारे साथी पदम गौतमलाई भनेँ, उनले एउटा साप्ताहिकमा मेरो र यस घटनाबारे एउटा लेख नै लेखेर छापिदिए। लेख हात पर्‍यो स्वर्गीय डा. दुर्गाप्रसाद भण्डारीको, उहाँले त झन् सगरमाथा रेडियोको आफ्नो कार्यक्रम नै यस घटना र ममाथि बोलेर पूरा गर्नुभएछ। उहाँले बोलेको मैले सुन्न पाइन, साथी प्रकाश सायमीले यसबारे जानकारी गराएका थिए।

घरको दबाबमा बिहेका लागि तत्पर नभए पनि मेरो त्यो बेलाको आदर्श पुरुष बन्नु भएको थियो पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई। उहाँको अभिव्यक्ति ‘म विवाहित नभए पनि कुमार भने होइन’ ले मलाई झंकृत गरेको थियो। सुपात्रालाई मेरा सबै पत्रकार साथीहरुले चिनेका थिए, उनी मलाई भेट्न दिनहुँ बागबजार आउने गर्थिन्। उनी इजरायल गएपछि पनि केही वर्षसम्म हाम्रो मित्रता रह्यो, म सन्यासी भइसकेको थाहा पाएर उनले नेपाल आई बिहे गरिन्। अहिले काठमाडौंमै कतै बस्छिन्।

बेलामौकामा घरका सदस्यले बिहेबारे दबाब दिइ नै रहेका थिए। यस्तैमा मेरो ठूलो उद्धारक बनी आउनुभयो त्रिचन्द्र क्याम्पसका ‘हिस्ट्री लेक्चरर’ कृष्णबहादुर राजभण्डारी। उहाँ केबी उदयका नामले लेख लेख्नु हुन्थ्यो। पत्रकार शिव ढकाल दाइ उहाँको सहकर्मी मित्र एवम् ज्योतिष ज्ञानको मुरीद हुनुहुन्थ्यो।

मेरो दिदीको वैवाहिक जीवन बडो अशान्त थियो। एक दिन उसलाई सान्त्वना दिने हेतुले ‘पाटनमा एकजना ज्योतिषी छन्’ भेट्न जाउँ भनेँ। शिव ढकाल, म र दिदी केबी उदयकहाँ पुग्यौं। दिदीका बारे उनले अनेकौं कुरा भन्दै ‘स्थान परिवर्तन नभएसम्म गृहस्थ जीवनमा शान्ति, सौहार्दता नहुने’ बताए।’

अकस्मात दिदीले मेरो बारेमा सोधी, ‘यो बिहे गर्न मान्दैन, यसको बारेमा पनि केही उपाय गरिदिनु पर्‍यो।’

‘सुनारको सय चोट लुहारको एउटै’ भने जस्तै उदयजीले हुँदै नभएको समस्या र त्यसको वितण्डा सदाका लागि समाप्त पारिदिनुभो । उदयजी संसारको आफ्नो यात्रा गरी पञ्चतत्वमा विलीन भइसक्नु भयो, मेरो सन्यासी जीवनको एउटा ‘पिलर’ थप्ने कार्य उहाँले गर्नु भयो, उहाँलाई धन्यवाद भन्ने अवसर पनि पाइन।

के.बी. उदयले ‘यो बिहे गर्दैन, यसले अरुको जस्तो जिन्दगी बाँच्दैन। तिमी यही बुझ यो पृथ्वी ग्रहको मानिस नै होइन, गल्तीले यहाँ आइपुग्यो। तिमीले, घरपरिवारले सिलौटोमा टाउको फोडे पनि यसले बिहे गर्दैन, यसलाई तिमीहरुले छाडी दिनै बेश हुनेछ’ भनी दिनुभयो।

‘सुनारको सय चोट लुहारको एउटै’ भने जस्तै उदयजीले हुँदै नभएको समस्या र त्यसको वितण्डा सदाका लागि समाप्त पारिदिनुभो । उदयजी संसारको आफ्नो यात्रा गरी पञ्चतत्वमा विलीन भइसक्नु भयो, मेरो सन्यासी जीवनको एउटा ‘पिलर’ थप्ने कार्य उहाँले गर्नु भयो, उहाँलाई धन्यवाद भन्ने अवसर पनि पाइन।

मभित्र अध्यात्मप्रतिको रुचि भने कहिल्यै ओरालो लागेन। ओशोका अतिरिक्त श्री अरबिन्दो, रमण महर्षि, योगानन्द, रामकृष्ण परमहंस, अनेकन रहस्यदर्शी संत, सुफी फकीर एवम् विभिन्न दार्शनिकहरुका पुस्तक खोजीखोजी पढ्ने गर्थेँ।

एक दिन कुनै मित्रले स्वामी चन्द्रेशको विषयमा चर्चा गर्नु भयो। मलाई चर्चाले उहाँलाई भेटौँभेटौँ जस्तो लाग्यो।

म बुढानीलकण्ठस्थित उहाँको आश्रममा भेट्न पुगेँ। पहिलो भेटमै उहाँ मसँग बडो आत्मीयतासाथ पेश आउनुभयो। त्यो आत्मीयता आजका मितिसम्म कायम छ। म फुर्सद हुनासाथ स्वामीजीलाई भेट्न पुग्थेँ। उहाँसँग राजयोग, क्रियायोग, मन्त्रयोग, तन्त्रयोग आदिका बारे प्रश्न गर्दै कौतुहल मेट्ने गर्दथेँ। सन्यासी भएर बाह् वर्ष भ्रमण गरी बटुलेको अनुभवका आधारमा भन्न सक्छु- स्वामी चन्द्रेश जतिको उच्च कोटिको प्रज्ञावान सन्त भारतमै भेट्न असम्भव नभए पनि दुर्लभ पक्कै हुन्छ।

उहाँले आफ्नो जीवनमा अनेकौं साधना गर्नुभएको मलाई बताउनु भयो। उहाँ भन्नुहुन्थ्यो- ‘हेर अच्युत पढेर होइन, प्रयोगात्मक अध्ययन चाहिन्छ।’ मैले शास्त्र वर्णित कुरालाई प्रयोग गरेर हेरेको छु। ती सबै सटीक एवं सत्य रहेको पाएँ। उहाँसँग मेरो चर्चा अध्यात्ममा मात्र सीमित हुन्न थियो। धर्म, राजनीति, समाज, साहित्य, विज्ञान, कला, संगीतलगायत धेरै मानवीय वृत्ति लोभ, हिंसा, क्रोध, यौन, बह्रमचर्य, रागद्धेष, भय, ज्ञात, अज्ञात आदिबारे उहाँमा रहेको स्पष्टता एवम् फरक दृष्टिकोण मैले दृष्टिगोचर गरेँ।

एक दिन उहाँको आश्रममा पुग्दा उहाँले मलाई वाल्मिकी रामायण पढ्न भन्नु भयो, उहाँ श्रोता बन्नु भयो। पुस्तक पल्टाएर पढ्न थाल्दा प्रसंग कैकेयीको थियो। रामको हुन गइरहेको राज्यारोहणले असन्तुष्ट बनी उनी कोपभवन जान्छिन्, थाहा पाएर दशरथ उनलाई फकाउन पुग्छन्। रानीले दशरथसँग बाचा स्मरण गराउँदै दुइटा कुरा भन्छिन्, रामको सट्टा आफ्नो छोरा भरतलाई युवराज घोषणा गर्ने र रामलाई चौध वर्षको वनवास।

कैकेयीको वचन सुनेर राजा अचेत भई भूइँमा खस्छन्। कैकेयीले बुझ्छिन्- ‘वचन पूरा नगर्ने निहुँमा उनले नाटक गर्दैछन्।’ अचेत भएका दशरथलाई राम भेट्न जान्छन्, कैकेयीले राजासँग मागेका दुइटा वरदानले गर्दा यो अवस्था सिर्जना भएको उनलाई ज्ञान हुन्छ। उनी वचन पूरा गर्न राज्याभिषेक त्यागेर वनगमन गर्छन्।

स्वामीजीले मलाई विराम लिन भन्दै भन्नुभयो- यो रामको कस्तो मर्यादा पुरुषोत्तम चरित्र? पिता दशरथले उनीसँग एक शब्द बोलेका छैनन्, अनि माता कैकेयीले पनि उनीसँग केही भनेकी छैनन्। माता कैकेयीले त रामलाई उनका पिता, आफ्ना पतिसँग भएको सम्बाद सुनाएकी हुन्। अनि राम कसको आज्ञा पालन गर्न वन हिँडेका?

‘राजा दशरथ पनि अचेलका राजा सरह नै रहेछन्। आफ्नो स्वार्थमा देश भाड्न तत्पर भएकी रानीलाई कारबाही गर्न सट्टा लम्पसार पर्ने?’ बिरामी राजालाई छोडेर वन जानु रामको कर्तव्य परायणता हो कि कर्तव्य विमुखता?? यहाँ लेखक नराम्ररी चुकेका छन्। प्रतिष्ठित धर्म ग्रन्थमाथि स्वामीजीको बेवाक टिप्पणीले मलाई हतप्रभ बनायो।

उहाँसँग जुन विषयमा पनि स्वयंको चिन्तन र गहिरो अन्तरदृष्टि रहेको पाएँ। एकपटक योगानन्द लिखित पुस्तकमाथि चर्चा गर्दै उहाँले भन्नुभयो- योगानन्द अमेरिकामा बसेको हुनाले महावतारबाबा र जिसस क्राइस्ट सँगसँगै हिड्ने गरेको उल्लेख भयो, कुनै मुस्लिम वा यहूदी देशमा भएको भए के महाअवतार बाबाका दौँतरी ती धर्मका विशिष्ट पुरुषहरु हुने थिए?

मेरो मित्र हालिनाको उहाँको बारेमा भनाई थियो- ‘ही इज अ स्प्रिचुअल रोरिंग लायन।’ वास्तवमै उहाँ गर्जिदो सिहं नै हुनुहुन्छ। धेरै पटक म स्वयंले र मेरा कैयन पत्रकार मित्रले मसँग गई उहाँसँग अन्तर्वार्ता लिएका थियौं। उहाँ जुनसुकै प्रश्नको दायाँबायाँ नगरी खुलस्त जवाफ दिने गर्नुहुन्थ्यो।

एकपटक मित्र वेदप्रसाद घिमिरे आफ्ना गुरुको स्मारिका प्रकाशित गर्ने क्रममा मसँग स्वामीजीलाई भेट्न जानुभयो। आफ्ना गुरुका बारेमा एउटा लेख लेखी दिन अनुरोध गर्नु भयो। स्वामी चन्द्रेशले स्पष्टसँग भन्नु भयो – म नारायणदत्त श्रीमालीलाई चिन्दछु, यो निखिलेश्वरको बारेमा मलाई केही थाहा छैन। तपाईँ नै यो निखिलेश्वरको बारेमा यी को हुन्, के हुन्? मलाई केही भन्नुस्। अब वेदजी यस बारेमा के भन्न सक्थे!?

‘स्वामीजीले म यस्ता छदमरुपीका बारेमा केही लेख्न सक्दिनँ, अध्यात्मलाई धन्दा बनाई पसल चलाउनेहरुको निन्दा र आलोचना बाहेक म केही गर्न सक्दिन’ भनेर स्पष्टतासाथ भनी दिनुभयो। गएका मित्र खिन्न बनेर निराश भई स्वामीजीलाई तथानाम भन्दै फर्किए। रामकोसम्म आलोचना गर्न पछि नपर्नेले स्वामी चन्द्रेशले कलियुगी गुरुहरुको हुर्मत लिन के बाँकी राख्नु हुन्थ्यो?

नेपालका एकजना ‘ब्यूरोक्रेट’ ले स्वामीजीलाई हदैसम्म दुख दिए। आश्रममा छापा मार्न प्रहरी पठाए, रुखकाटेको निहुँमा जेल पनि पठाए। खबर थाहा पाएर म उहाँलाई भेट्न गए। अहिले हिन्दु धर्म स्थापना गर्न चाहेका त्योबेला सक्रिय राजाले आफ्नो शासनकालमा हिन्दू धर्मको बलियो आधार स्तम्भ एउटा सन्यासीलाई आफ्ना एउटा भारदारको रिस फेर्ने निहुँमा जेल हालेको घटनामा मौन भई बसेको सम्झिँदा वितृष्णा लाग्छ। आफ्नो सत्ता गुमेपछि अब धर्मको ख्याल आयो राजन!

के भन्नुहुन्छ दुर्गा पोखरेल दिदी? अब त खोल्नुस् स्वामी चन्द्रेशको सिफारिस गर्न जाँदा तपाईँलाई तत्कालीन धृतराष्ट्रले के भनेका थिए? मलाई कसैले सोध्छ भने भन्नै मन लाग्छ- देशमा जतिसुकै ‘राजा आऊ देश बचाऊका नारा गुञ्जायमान भए पनि’ स्वामी चन्द्रेश बाँचुञ्जेल नेपालमा राजतज्त्र फर्किँदैन।

स्वामीजीले जेलबाट फर्केर ती ‘ब्यूरोक्रेट’लाई केही भन्नु भएन, यतिमात्र थियो उहाँको अभिव्यक्ति- ‘साधु सन्यासीको अपमान गर्ने शासन सत्ता धेरै दिन टिक्दैन।’ अन्ततः त्यही भयो, दुई शताब्दी भन्दा लामो राजवंश इतिहासको पानामा दर्ज हुन पुग्यो।

उहाँसँगका मेरा धेरै अनुभूति र संस्मरण छन्, कहिल्यै रात्रि दुई बजेसम्म फिल्म हेरेको छु, कहिल्यै घण्टौं उहाँले बजाएको ‘बाहुलिन’ सु्नेको छ, उहाँले प्रारम्भ गरेको वैदिक विधि अनुसारको शुभ जन्मोत्सब कार्यक्रममा सहभागी भएको छु, यज्ञ हवन गरेको छु।

एक पटक एकजना मित्रले उहाँसँग मेरो कुरा लाएछन् – ‘ऊ केही कुरामा गंभीर छैन, कसैको सम्मान गर्दैन, धर्मग्रन्थ, योग विधि माथि पनि आलोचना गर्न तम्सिन्छ।’

उहाँले ती मित्रलाई, ‘नबिर्स ऊ ब्राह्मण रगत हो, ब्राह्मण भनेकै आफ्नो मार्ग आफैं बनाउनु हो। तिमीले तीन महीना लगाएर कुनै क्रियामा दक्षता पाउँछौ भने ऊ तीन दिनमै त्यो हासिल गरेर त्यसलाई पनि त्यागी ‘चरैवेति चरैवेति’ भन्दै अगाडि बढ्ने सामर्थ्य राख्छ’ भन्नु भयो । मित्रले आएर मलाई सारा वृतान्त सुनाउँदै भने – ‘ही इज लाइक योर फादर, प्रोटेक्ट यू इन एभरी वे।’

उहाँ एउटा कुशल वक्ता पनि हुनुहुन्छ। कैयन अवसरमा उहाँको यस अभूतपूर्व कलाको श्रवण गर्ने अवसर पाएको छु । अरविन्द जयन्तीका अवसरमा ‘अरबिन्दो आश्रम थानकोट’ले आयोजना गरेको कार्यक्रममा उहाँले श्री अरबिन्दो एवम् माताजी, उहाँको कर्मयोग, रहस्ययोगबारे धाराप्रवाह संभाषण गर्नु भएको थियो । उहाँको वाणीको ओज एवम् डी.पी. भण्डारीको वाणी लालित्यको म ‘फ्यान’ नै थिएँ। ‘ट्विन टावर काण्डको’ तेह्रौं दिन दुर्गा पोखरेलले आयोजना गर्नु भएको सभामा स्वामी चन्द्रेशले हिंसा र शान्तिबारे व्यक्त गरेको विचार मननीय थियो । उहाँले ‘अमेरिकाले चाल्ने कदमको पूर्व घोषणा गर्दै त्यसले पनि हिंसा र आतकंवादको अन्त्य हुन नसक्ने दावी गर्नु भएको थियो, जुन सत्य साबित भयो’ । लादेनको अन्त्यले पनि आतकंवाद कहाँ अन्त्य भयो?

यति लामो आत्मीय संगत भए पनि उहाँले कहिल्यै मप्रति गुरु दृष्टिले हेर्नु भएन, शिष्यभाव राख्नु भएन। सधैं मित्रवत व्यवहार गर्नु भयो । कहिल्यै उहाँसँग फुटवल खेलिन्थ्यो, ‘इभनिङ वाक’ गरिन्थ्यो, आफ्ना लेख रचना सुनाइन्थ्यो, घण्टौँ अनेकन विषयमाथि चर्चा गरिन्थ्यो। तन्त्रबारे सरल सहज ज्ञान उहाँले नै दिनु भयो, कुण्डलिनी विद्याको सम्यक ज्ञान पनि उहाँबाटै प्राप्त भयो। राजयोग-क्रियायोगको गोपनीयता उहाँले नै पुष्ट बनाउनु भयो। मेरो धृष्टता पनि उहाँले सधैं क्षमा गर्नु भयो, आफुलाई चित्त नबुझेको कुरामा म भन्थेँ- ‘स्वामीजी आइ ह्याब अ ननसेन्स क्वेस्चन।’ उहाँको प्रतिउत्तर हुन्थ्यो, ‘डोन्ट वरी माइ डियर आइ ह्याब थाउजेन्ड्स ननसेन्स आन्सर्स।’तर एक दिन प्रकृतिले मलाई स्वामीजीप्रति गुरुभाव जन्माइ छाड्यौँ। गुरुपूर्णिमाको दिन थियो, म उहाँलाई भेट्न पुगेको थिएँ, त्यो दिन पनि खाली हात जाने ममात्र थिए। उहाँ आफ्नो कक्षमा बसी राख्नु भएको हुनुहुन्थ्यो, आठ दस जना अन्य व्यक्ति पनि थिए। सरासर कक्षमा प्रवेश गरी उहाँलाई ढोगेर म एउटा कुनामा बसेँ।

चलिरहेको चर्चालाई विराम दिँदै उहाँ मसँग बोल्न थाल्नु भयो। मेरो पुणे बसाइको समयकाल थियो त्यो, उहाँले मित्र ग्रेगोर र हालिनाका बारेमा सोध्नुभयो। यस अवधिमा कुन कुन ठाँउ घुमेको, कसलाई भेटेको सोध्नुभयो। आमाको स्वास्थ्यबारे सोध्नु भयो, ‘लाईफ’ कसरी ‘मेन्टेन’ भइरहेको सोध्नु भयो? मेरो उपस्थितिले त्यहाँ चलिरहेको अध्यात्म चर्चाको पुरै ‘ट्रान्सफर्मेशन’ भएर व्यक्तिगत र सांसारिक चर्चामा झर्‍यो। उपस्थितजन पनि मेरो प्रवेशले अवाक बने। एक डेढ घण्टा सम्म विभिन्न चर्चा चलिरहे।

अकस्मात ढोकाबाट आँधी आए सरह एकजना महिला हुत्तिदै आइन, ‘क्षमा स्वामीजी आउँदा आउँदै ढिलो भयो। आजको दिन भ्याइ नभ्याइ भयो। बिहानीको पूजापाठ सकेर पशुपति दर्शन गर्न गएँ, आखिर हाम्रा आदि गुरु त शिवजी नै हुन, होइन र महाराजजी?’

तर स्वामीजी उत्तरको कुनै परवाह नगर्दै उनी बोल्दै गइन्। पशुपतिबाट साइ केन्द्र गएँ, त्यहाँ दुइ चार वटा भजन गाएर साधना केन्द्र गएँ। कस्तो रमाइलो त्यहाँको कार्यक्रम, त्यहाँको कार्यक्रममा सरिक भएपश्चात हाम्रो घरको सन्यासी गुरु आश्रममा दर्शन भेटी चढाउन पुग्नैपर्यो, अहिले यहाँ आउँदा बाटोमा यसो नारायण थान परिक्रमा गर्दै कमलगुरुकोमा पसेर आएकी हुँ। अझै धेरै ठाँउ जान बाँकी छ। यसो हजुरलाई एक दुइटा भजन सुनाएर म हिँडिहाल्छु, कस्तो भ्याइ नभ्याइ भयो आजको दिन!

सन्यासी समुद्र जस्तै हो, जहाँ गँगा पनि मिसिन्छ, गंदा नाला पनि । के समुद्रले कहिल्यै भेदभाव गर्छ,गंदा नालालाई नआऊ भन्छ कि गंगाको अंगालो मारेर स्वागत गर्छ? कदापि होइन उसलाई सबै समान छन् । सन्यासी पनि समुद्र झै हुनु पर्दछ, म सन्यासी हो भेदभाव गर्न सक्दिन । आश्रम र सन्यासीले शरण नदिए यस्तालाई कसले शरण दिन्छ ? बरु म एकपटक ज्ञानीलाई – सदाचारीलाई बहिष्कार गर्न सक्छु, अज्ञानीको – कुमार्गीको तिरस्कार गर्दिन।

कोठाभित्र तुफान पसेकाले ‘तुफान ध्वनि’ बाहेक सम्पूर्ण शान्ति छायो। महिला स्वयंले स्वामीज्युको खाट छेउको हारमोनियम तानेर कुन भजन गाउँ? आज गूरु पूर्णिमाको दिन! गुरु वन्दना बाटै श्री गणेश गर्छु भनी गाउन थालिन्। तीनवटा भजन गाएर उनले गायनबाट विराम लिँदै भनिन्- गुरुदेव अब आज्ञा दिनुहोस, मलाई सारो हतारो छ। धेरै ठाउँ पुग्नु छ , फेरी कुनै दिन समय लिएर आउछु। महिला बाहिरिइन, हामी सबैले चैनको सास फेर्‍यौँ। महिलाको आगमन,बोली,व्यवहारले हामी सबैलाई ‘इरिटेट’ बनाएको थियो ।

मैले भनेँ, स्वामीजी मैले ती महिलाको प्रवेश हुनासाथ यी हाउडे हुन भनी थाहा पाइसकेको थिए, उनको व्यवहारले यो छर्लगं पनि भयो। तपाई के यति कुरा पनि बुझ्न सक्नु हुन्न? बकवास महिला हाम्रो सबै लय नै भंग गरिदिइन।’

स्वामीजीले जवाफ दिदैं भन्नुभयो- हेर यो आश्रम हो र म सन्यासी। यहाँ तिमीहरु जस्तो ज्ञानी र ज्ञानाकाँक्षी पनि आउँछन्, ती महिला जस्तो व्याभिचारिणी – भक्तिधारिणी पनि । म न कसैको स्वागत गर्छु, न कसैको तिरस्कार ! सन्यासी समुद्र जस्तै हो, जहाँ गँगा पनि मिसिन्छ, गंदा नाला पनि । के समुद्रले कहिल्यै भेदभाव गर्छ,गंदा नालालाई नआऊ भन्छ कि गंगाको अंगालो मारेर स्वागत गर्छ? कदापि होइन उसलाई सबै समान छन् । सन्यासी पनि समुद्र झै हुनु पर्दछ, म सन्यासी हो भेदभाव गर्न सक्दिन । आश्रम र सन्यासीले शरण नदिए यस्तालाई कसले शरण दिन्छ ? बरु म एकपटक ज्ञानीलाई – सदाचारीलाई बहिष्कार गर्न सक्छु, अज्ञानीको – कुमार्गीको तिरस्कार गर्दिन। के थाहा कुन दिन कुन कुराले उसको मन मस्तिष्क परिवर्तन हुन सक्छ !

स्वामीजीको जवाफले मलाई लज्जित तुल्यायो र उहाँप्रति अगाध श्रद्धा एवम् गुरुभाव जाग्रत भयो। साँच्चै सन्यासी र गुरु उहाँले भने जस्तै सागर सरह हुनु पर्छ।

स्वामीजी यस मूढ़ले मूढ़ता गर्‍यो। तपाईँलाई पनि थाहा थियो यस अराजकले कुनै न कुनै दिन वितण्डा मचाउँछ। अहिले देशमा पुनः धृतराष्ट्रका पक्षमा यशगान हुँदैछन्। तपाईँ पूर्ण सन्यासी हो, ब्रह्मनिष्ठ हो। मेरो हैसियत भने योगभ्रष्ट भन्दा बढी छैन। तपाईले निसर्त क्षमादान गरे पनि मेरो मन आत्माले यस्तो महानता प्रदर्शित गर्न सक्दैन। वर्तमानका कुशासकसँग जतिसुकै क्रुद्ध भए पनि पूर्वका धृतराष्ट्रले तपाईँसँग क्षमा याचना नगरेसम्म मभित्र क्षमा भाव जाग्रत हुन सक्दैन। र , म यदि साच्चै नै तपाईँले भनेको ब्राह्मण पथानुगामी हो भने प्रकृतिले मेरो चित्त नबुझाएसम्म कुनै परिवर्तन गर्ने सामर्थ्य राख्दैन। मेरो प्रणाम स्वीकार गर्नुस्।

पुस १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्