बाइबाइ २०२०

अर्थतन्त्र: रिकभरी प्लानको आशा

ठमेलका व्यापारीहरु।

अन्य देशको तुलनामा नेपालको अर्थतन्त्र कमजोर भएका बेला कोरोना कहरले त्यस घाउमा थप नूनचुक छर्ने काम गर्‍यो। कमजोर अर्थतन्त्रलाई माथि उकास्न सरकारले रणनीति बुनिरहेका बेला कोरोना त्यसको बाधक बन्यो। जसको प्रत्यक्ष उदाहरण हो- ‘भ्रमण वर्ष २०२०।’

नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित जनवरी १ मा भव्य कार्यक्रम गरी ‘भ्रमण वर्ष २०२०’ को भव्यताका साथ सुरुवात गर्‍यो। तर त्यो कार्यक्रम कोरोनाको मारमा पर्‍यो। उक्त कार्यक्रम मात्र होइन, नेपालको पर्यटन क्षेत्र नै धरापमा पर्‍यो। सबैभन्दा मार खाएको पर्यटन क्षेत्र कहिले पुरानै लयमा फर्कने हो भन्ने यकिन अझैसम्म गर्न सकिएको छैन।

पर्यटन क्षेत्रमा काम गर्ने अधिकांशले रोजगारी गुमाएका छन् भने यससँग सम्बन्धितले आफ्नो व्यापार व्यवसाय बन्द गर्नु परेको छ। यही पुस ६ गते कोरोनाकै कारण आम्दानी कम खर्च बढी भएको भन्दै पाँचतारे होटल डेला अन्नपूर्ण त बन्द नै गर्नु परेको होटलका सञ्चालक तथा होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्षले तीतो अनुभव सुनाइन्।

होटल व्यवसायीहरुले कर्मचारीहरुलाई न्यूनतम तलब समेत दिने अवस्था नरहेपछि होटल चलाउनुको कुनै अर्थ नभएको व्यवसायीहरु बताउँछन्। होटल एसोसिएसन अफ नेपाल (हान) सँग होटल व्यवसायीहरुले कर्मचारीलाई २०२० को अन्त्यसम्म मात्र न्यूनतम तलब दिने सम्झौता गरेका थिए । त्यो सम्झौता डिसेम्बर ३१ मा सकिएको छ । अब ती कर्मचारीको तलबका बारेमा भने अन्यौल सिर्जना भएको छ ।

त्यस्तै पर्यटन क्षेत्रकै अर्को पाटो हो हवाइ उडान । नेपाल–चीन उडान गरिरहेका अधिकतर हवाई सेवाले तत्काल आफ्नो उडान स्थगित अथवा कटौती नै गर्नुपर्‍यो भने नेपाल आउने सबै अधिकांश चिनियाँ पर्यटकहरुको नेपाल घुम्ने सपनामा तुषारापात भयो। नेपाललाई भने अर्बौँको आर्जनमा रोक लाग्यो। चिनियाँहरु अरु पर्यटकभन्दा धेरै खर्च गर्छन् नेपाल घुम्न आउँदा। नेपाल राष्ट्र बैँकले सन् २०१० मा सार्वजनिक गरेको तथ्यांकका अनुसार नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले दैनिक करिब ८० अमेरिकी डलर खर्च भने अन्य देशका पर्यटकले ४३ डलर मात्र खर्च गर्छन्।

पर्यटन क्षेत्र पनि राजस्वको स्रोत भएकाले पछिल्लो समय विदेशी पर्यटक त्यति नभित्रिए पनि आन्तरिक पर्यटन बढेकाले पर्यटन क्षेत्रका लागि केही आशाको किरण भएको अर्थविदहरुको विश्लेषण छ। अर्थविद शंकर शर्माका अनुसार सेवा क्षेत्रमा आन्तरिक पर्यटनलाई बढाउन सहुलियतपूर्ण काम गर्न सके नेपालको पर्यटन क्षेत्र माथि उठ्न सक्ने आधारहरु छन्।

उनी भन्छन्, ‘चालु आर्थिक वर्षमा पर्यटन अर्थतन्त्रमा सुधार हुने सम्भावना निकै कम छ।’

यस्तै कोभिड १९को भ्याक्सिन सन् २०२२ र २०२३ सम्म नआएमा देशको अर्थतन्त्र कुन दिशामा जाने भन्नेबारे अहिले नै भन्न सक्ने स्थिति नरहेको उनी बताउँछन्।

न्यूरोड।

सरकारले कोरोनाको भ्याक्सिनलाई प्राथमिकतामा राखेर ‘बुक’ गर्नु पर्ने भए पनि त्यतातर्फ ध्यान नदिँदा अर्थतन्त्रले कुनै कदम चाल्न नसके उनको भनाइ छ । कोरोनाको कारण देशको अर्थतन्त्र कहिले सुधार हुन्छ भन्नेमा अझै अन्यौल हुने शर्मा बताउँछन्।

अर्थतन्त्रमा सुधार ल्याउन सरकारले ‘रिकभरी प्लान’ ल्याएर लागू गर्नुपर्ने उनी बताउँछन्। कोरोना कहरबाट उम्किन नपाउँदै देशमा भएको राजनीतिक घटनाक्रमका कारण अर्थतन्त्रले अर्कै मोड लिएको छ । नयाँ सरकार निर्माणका लागि चुनावमा जाने प्रक्रियाले अनावश्यक खर्चको भारी हुने शर्माको भनाइ छ।

चुनावमा हुने खर्च उत्पादन क्षेत्रमा नहुने भएकाले अर्थतन्त्रमा ठूलो धक्का पर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘चुनावले अर्थतन्त्रलाई झन तनाव दिन्छ। यसको असर पनि नराम्रोसँग आर्थिक क्षेत्रमा देखा पर्छ । गाँउ–गाँउ, टोल–टोलमा पैसा पुगे पनि उत्पादन क्षेत्रमा पनि पुग्न सक्दैन।’

अहिलेको समयमा निजी क्षेत्र कोरोना कहरबाट बाहिर निस्कने प्रयास गरिरहेका बेला राजनीतिक किचलोले र अब आउने चुनावले निकै ‘प्रेसर’ थपिएको व्यवसायीहरुको गुनासो छ।

नेपालको अर्थतन्त्रमा सबैभन्दा राजस्व बुझाउने निजी क्षेत्र चुनावका कारण मारमा पर्ने भन्दै उनी भन्छन्, ‘चुनावका समयमा नयाँ तथा पुराना पार्टी चन्दाका लागि उनीहरुको ढोका ढक्ढक्याउने गर्छन्। तर यस्तो विषम परिस्थितिमा निजी क्षेत्रले कहाँबाट पैसा ल्याउँछ?’

अहिलेको समयमा निजी क्षेत्र कोरोना कहरबाट बाहिर निस्कने प्रयास गरिरहेका बेला राजनीतिक किचलोले र अब आउने चुनावले निकै ‘प्रेसर’ थपिएको व्यवसायीहरुको गुनासो छ।

उनीहरुलाई राहत दिनुपर्ने तथा कार्यान्वयन गर्नुपर्ने अवस्थामा सरकार ‘न’ को बराबर छ । जसका कारण निजी क्षेत्रमात्र होइन, विकास निर्माणका काम रोकिने, बजेटको अभाव हुने, भ्रष्टाचार बढ्ने, सरकारी काममा ढिलासुस्ती हुने लगायतका समस्या आउने अर्थविद् शर्मा बताउँछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोरोना भाइरसका कारण अर्थतन्त्रमा त्यस्तो असर नगरेको बताएका थिए। निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण देशको अर्थतन्त्रमा खासै असर नपुर्‍याएको भए पनि केही असर भने देखिएको बताएका थिए।

अर्थविद्हरुका अनुसार कोरोनाले छिमेकी मुलुकसँगको व्यापारमा शिथिलता आएको छ भने छिमेकी मुलुक चीनसँग सरकार र निजी क्षेत्रको व्यापार तालमेल बिग्रिएको छ । चीनले बन्द गरेको तातोपानी नाकाका कारण व्यापारीहरुले नोक्सानी दिन दुईगुणा रात चौगुणा बढेको छ । उनीहरुलाई व्यापार खोल्ने भन्दा पनि बन्द गर्नेसम्मको स्थिति आइसकेको भान भइरहेको छ ।

यदि अर्थतन्त्रलाई लयमा ल्याउने हो भने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने, आइटी सेक्टरमा जोड दिनुपर्ने, सेवा मूलक क्षेत्रमा लगानी बढाउनु पर्ने तथा कृषि क्षेत्रको पूर्वाधारहरुको अधिकतम विकास गर्नुपर्नेमा अर्थविदहरुको जोड छ।

पुस १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्