इन्द्रधनुषी सडकमा एक दिन

इन्द्रेणी रंगहरुमा आफ्नो कथाको खोजी

सम्भव क्षेत्री गणेश मन्दिरअघि उभिएका छन् । नेपाल वायुसेवा निगम हुँदै भुगोलपार्क (न्यूरोड) जाने बाटो व्यस्त छ, यात्रु र गाडीचाप बढेकाले।

उनी बाटोपारिको भिड हेरिरहेका छन् । मन्दिरअघिको पेटीमा साइकल अड्याएर बाटो पारि नै हेरिरहेका बेला उनकै आडमा उभिएको थिएँ ।

केहीबेर पारिको रंगिन दृष्य र भिड हेरेपछि भनेँ, ‘यो सडक त साँच्चै रंगीन भएछ ।’ सम्भवले मतिर हेरे। ‘भिड देख्दा डर लाग्छ । तर इन्द्रेणी छाताहरुले यो ठाउँलाई सुन्दर बनाएछ । फुरुङ्ग भएको छ मन ।’

केहीबेर त्यहीँ उभिएर टेबहालको दृष्य हेरेँ । सम्भवसँग कुरा हुँदै थियो । उनले कुरैकुरामा आफ्नो बारे बताए ।

काठमाडौँमा जन्मिहुर्केका उनी पछिल्लो केही वर्षदेखि अध्ययनका लागि भारतको नयाँ दिल्ली बस्ने रहेछन् । हालै घर फर्किएका उनी सामाजिक सञ्जालमा धेरै चर्चा भएको देखेर पुरानो टेबहालको नयाँ स्वरुप हेर्न आएका थिए ।

उनलाई टेबहालको सडकमाथि राखिएका इन्द्रेणी छाताहरुले आफ्नो प्रतिनिधित्व गरे जस्तो लागे छ ।

उनले खुलाउँदै गए, ‘यो मार्ग लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजिबिटिआइक्यू प्लस) समुदायको सारथी बनेछ, कम्तिमा मलाई यस्तो लाग्दैछ । त्यो भिड (टेबहालको मार्गमा ठेलमठेल हुनेगरि उभिएकाहरु) लाई थाहा छ–छैन इन्द्रेणी रंगले बोकेको एउटा गर्वको कथा, मलाई भने मेरो कथाको प्रतिनिधित्व लाग्दैछ यो सबै दृष्य ।’

२७ वर्षीय सम्भव चिकित्सा विज्ञानका विद्यार्थी हुन् । कुराकानी हुँदै जाँदा उनले आफ्ना बारेमा बताए । ‘म समयौनिक पुरुष हुँ । र यो इन्द्रेणी रंगका छाताहरुले म र म जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको स्वतन्त्रता बोले जस्तो लागेको हो’, सम्भवले भने ।

सम्भवसँगको कुराकानीको बिचमा मैले आफ्नो परिचय दिएको थिएँ । कुरा सुन्दै गएपछि ‘भाइरल’ बनेर ‘अम्ब्रेला स्ट्रिट’ का नामले चिनिन थालेको टेबहाल मार्गले सम्भव र अरु सम्भवहरुलाई दिएको फरक अपनत्व र स्वतन्त्रताको चित्र उतार्ने रहर जाग्यो ।

उनलाई योजना सुनाएर थप बिस्तारमा कुरा गर्न प्रस्ताव गरेँ । उनी राजी भए । परिवारका सदस्य र केही नजिकका साथीभाइमा आफ्नो यौनिकता खुलाएका सम्भवलाई अझैसम्म सार्वजनिक रुपमा जीवनको नितान्त व्यक्तिगत पाटो खुलाउने आँट आइसकेको छैन ।

उनले कुरा गर्ने तर आफ्नो परिचय परिवर्तन गरेर प्रस्तुत गर्न आग्रह गरे । सोही अनुसार उनी यो सामग्रीमा सम्भवका रुपमा प्रस्तुत गरिएका छन् ।

बाटोपारि अर्थात टेबहाल मार्गतिर…


मोबाइल तथा क्यामरालाई हेरेर मुस्काइरहेका वा नाचिरहेकाहरुको भिडतिर जान व्यस्त बाटो काट्नु पर्ने थियो । बाटो काट्ने भन्दा पनि कोरोना भाइरसको महामारीको काल भएकाले त्यो भिडमा जान आँट आइरहेको थिएन ।

तर कुराकानीमा मस्त सम्भव ट्राफिक प्रहरीको सहयोगमा बाटो काटेर टेबहाल सडकतिर लागे । उनलाई पछ्याउँदै म पनि इन्द्रेणी रंगतर्फ हानिएँ ।

सडक प्याक छ । छेउको पेटी केही खुकुलो छ । मास्क राम्रोसँग लगाएका सम्भव पेटीमा उभिए । भिडको तस्बिर खिचे । आकाशतिर मोबाइल तेर्स्याएर माथि टाँगिएका छाताहरु खिचे । त्यसपछि भने, ‘इन्द्रेणी रंगको झण्डालाई एलजिबिटिक्यूआईप्लस समुदायले आफ्नो गौरव र स्वतन्त्रताको प्रतिकका रुपमा लिन्छन् । यो मार्ग अहिले त्यसैको प्रतिक बनेको जस्तो लाग्दैछ ।’

सम्भवले प्राइड फ्ल्यागको इतिहास र अर्थहरुबारे बताउँदै गर्दा हामी टेबहालको छाताले ढाकिएको मार्गको यात्रा पूरा गर्दै थियो ।

हिँड्दै गर्दा साथीलाई मोबाइल दिएर नाच्दै गरेकी युवतीलाई केहीबेर अलमलाएर मैले सोधेको थिएँ । आँकलन अनुसार नै उनले टिकटक बनाउँदै थिइन् । दोस्रोपटक आएकी रहिछन् । ‘टिकटकमा भाइरल देखेर आएको, आज दोस्रो पटक हो । टिकटक नै बनाउँदै छु’ उनले भनिन् ।

मैले इन्द्रेणी रंगले बोल्ने अर्थहरुबारे जान्ने प्रयास गरे उनीबाट । एकछिन रोकिएर ती युवतीले भनिन्, ‘अँ…अब यो त इन्द्रेणी भयो । यस्तो रंगिन टीका तिहारमा लगाइन्छ । त्यही त हो ।’

उनका तीन साथीहरुले पनि त्यसैमा स्वर मिलाए । उनीहरुले एलजिबिटिआइक्यूप्लस समुदाय र इन्द्रेणी रंगको सम्बन्धबारे जानकारी नरहेको बताए ।

यो सबै सुनिरहेका सम्भवले भने, ‘उहाँहरुलाई थाहा भएन भनेर मेरो मन सानो हुँदैन । हामीले धेरै कुरा जान्न बाँकी छ र त्यो क्रम चलिरहन्छ । उहाँहरुलाई पनि यसको त्यो पाटो थाहा छैन । भोलि थाहा होला ।’

त्यसो त छाता राख्ने संकटा क्लबलाई नै इन्द्रेणी रंगले बोकेको गौरवको कथा थाहा रैनछ । क्लबका सचिव आशीषमान श्रेष्ठले सर्वसाधारणको आकर्षणका लागि छाता राखिएको बताए ।

सम्भवले बाटोको छेउमा चिया पकाउँदै गरेकी आमासँग छाता राखिएपछि बढेको भिड र उनको व्यापार बारे जान्न खोजे ।

दूधको प्याकेट काटेर डेक्चीमा खन्याउन व्यस्त आमाले भनिन्, ‘मान्छे मात्रै बढेका छन्, यिनीहरुले चिया खाने होइनन् । मेरो व्यापारमा केही फरक परेको छैन । पुराना ग्राहक जति हुन् त्यति नै छन् मेरो चियाका ।’

आमा केट्लीमा उम्लिँदै गरेको चिया चलाउँदै थिइन् । उनी विगत ३० वर्षदेखि सोही पेटीमा चिया बेच्दै आएकी छन् । चियाका ग्राहक नथपिए पनि छाताले थपेको सडकको रौनकताले उनलाई केही रमाइलो लागेको पक्कै छ । तर त्यो भन्दा धेरै संक्रमणको त्रास दिएको छ ।

स्टीलको गिलासमा चिया हाल्दै उनले भनिन्, ‘धेरैपछि मान्छेको यस्तो भिडभाड देख्दा रमाइलो त नलागेको होइन । तर कोरोनाको डरले छोडेको छैन । यी यसरी ठेलमठेल छन्, के गरेका हुन् कुन्नी दिनभरि नाच्छन् मात्रै ।’

सम्भव चियाका पारखी रहेछन् । आमाबाट पेपर कपमा चिया लिए, हामी अघि गएकै तिर लाग्दै थियौँ ।

चिया बेच्ने आमासँग सम्भवले गरेको कुराकानीले मलाई कपडा व्यापारीसँग कुरा गर्न उक्सायो । बाटोको भिड हेर्दै बसेका रेडिमेड कपडा पसलेले व्यापारमा खासै वृद्धि नभएको प्रतिक्रिया दिए । चहलपहल हेर्न भने मज्जा लागेको उनीहरु भन्दै थिए ।

हामी पुनः न्यूरोड सडकको पेटीमा आइपुग्यौँ । सम्भव भूगोलपार्क तिर लागे । ‘इन्द्रेणी झण्डाबारे लेख्दा यससँग जोडिएका अरु अर्थहरु छन् भने पनि खोज्न नभुल्नु है’ भन्दै उनी बिदा भए । म पुनः बाटो काटेर साइकल भएको तिर गएँ ।

इन्द्रेणी रंगको झण्डा र एलजिबिटिआइक्यू प्लस


विशेष गरी जुन महिना (प्राइड मन्थ) मा विश्वभरका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले स्वतन्त्रता र अधिकारको प्राप्ति तथा त्यसका लागि त्याग गर्नेहरुको स्मरणमा र्‍यालीसहितका गौरव यात्रा गर्ने गर्छन् ।

विश्वभर त्यस्ता अभियानमा इन्द्रेणी रंगको झण्डा तथा सोही रंगको ब्याण्ड प्रयोग बढी हुन्छ । एलजिबिटिक्यूआइ प्लस समुदाय तथा उनीहरुसँग ऐक्यवद्धता जनाउनेहरुले इन्द्रेणी रंगको झण्डा तथा व्याण्ड प्रयोग गर्छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारसँग इन्द्रेणी झण्डाको सम्बन्धको इतिहास सन् १९६९ को स्टोन वाल प्रदर्शनसँग जोडिएको छ ।

अमेरिकाको न्यूयोर्क स्थित ग्रीनविच भिलेजमा रहेको स्टोनवालमा प्रहरी र समयौनिक अधिकारकर्मीहरुबिच भएको हिंसात्मक भिडन्त (२८ जुन १९६९) को स्मरण तथा सम्मानमा जुन महिनालाई प्राइड अर्थात गौरवको महिनाका रुपमा मनाइन्छ ।

स्टोनवाल आन्दोलनले जगाएको अधिकारको आन्दोलनलाई प्रतिनिधित्व गर्ने प्रतिकको खाँचो थियो । सन् १९७८ मा कलाकार गिल्बर्ट बाकर (समयौनिक पुरुष) ले पहिलो इन्द्रेणी झण्डा बनाए ।

उनलाई समयौनिक समुदायको गौरवको प्रतिक बनाउनका लागि अधिकारकर्मी हार्बी मिल्कले भनेका थिए । मिल्क अमेरिकाको इतिहासमा पहिलो समयौनिक निर्वाचित अधिकारी हुन् ।

गिल्बर्टले गौरव प्रदर्शन गर्ने सबैभन्दा शक्तिशाली माध्यमका रुपमा झण्डा ठानेर इन्द्रेणी झण्डा बनाए । उनले एक अन्तर्वार्तामा भनेको कुरा ब्रिटानिकाले यसरी उद्धर्त गरेको छ, ‘समयौनिक व्यक्तिका रुपमा हाम्रो काम भने बाहिर आउनु, देखिनु, सत्यमा बाँच्नु अनि झुटहरुबाट मुक्त हुनु हो । झण्डाले त्यो मिशनको साँचो प्रतिनिधित्व गर्छ । यसबाट आफ्नो पारदर्शिता दाबी गर्न सकिन्छ।’

गिल्बर्टलाई आकाशमा देखिने आफूहरुको स्वतन्त्रता र गौरवको प्राकृतिक झण्डा लाग्यो र त्यही बनाए ।

गिल्बर्टले बनाएको झण्डामा आठ रंग थिए र ती हरेक रंगको आफ्ना अर्थहरु पनि । गाढा गुलाबी रंग यौनको प्रतिक, रातो जीवनको प्रतिक, सुन्तला रंगले ‘हिलिङ्ग’, पहेँलोले सूर्यको किरण, हरियोले प्रकृति, समुद्री निलो रंगले कला, इन्डिगो रंगले सौहार्दता तथा वैजनी (भ्वाइलेट) रंगले आत्माको प्रतिनिधित्व गर्छ ।

इन्द्रेणी रंगको झण्डा पहिलो पटक सन् १९७८ को जुन २५ मा सन फ्रान्सेस्सको गे फ्रिडम डे परेडमा फहराइएको थियो । गिल्बर्ट र उनका साथीहरुले हातैले सो झण्डा बनाएका थिए ।

अहिले विश्वव्यापी रुपमा एलजिबिटिक्यूआई प्लस समुदायले प्रयोग गर्दै आएको झण्डामा ६ रंग छन् । गुलाबी र समुद्री निलो रंग हटाइयो र इन्डिगोलाई निलो रंगले प्रतिस्धापित गरेको छ ।

सबैभन्दा माथि रातो भागसहित इन्द्रेणी जस्तै झण्डा अहिले विश्वव्यापी रुपमा।

झण्डामा रहेका विविध रंगहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भित्रको विविधतालाई प्रतिनिधित्व गर्छ । यस्तै इन्द्रेणी रंगले स्वच्छन्दता र स्वतन्त्रताको प्राकृतिक स्वरुपलाई पनि दर्शाउँछ ।

सन् १९९४ मा आएर इन्द्रेणी रंगको झण्डा एलजिबिटिक्यूआई प्लस समुदायको प्रतिकका रुपमा राम्रोसँग स्थापित भयो ।

त्यसयता विश्वभर झण्डासहित सो रंगका लुगा, ब्याण्डहरु तथा अरु विविध सामग्रीहरुलाई पनि एलजिबिटिक्यूआइ प्लस समुदायको स्वतन्त्रता, गौरव र त्यागको प्रतिनिधिका रुपमा प्रस्तुत गरिन्छ।

टेबहाल मार्गको पारीपट्टी न्यूरोड सडक (महांकाल तर्फबाट जाँदा) को दायाँ तर्फ रहेको गणेश मन्दिर अघि उभिएर सम्भवले देखेको प्रतिनिधित्वको कुरा यहि इन्द्रेणी झण्डासँग जोडिएको छ ।

इन्द्रेणी रंगको छाताले मार्ग ढाकिएको देख्दा उनलाई यौनिक तथा लैंगिक अल्पसंख्याकहरुको स्वतन्त्रता, गौरव र पारदर्शिता उजागर भएको जस्तो महसुस भएको हो ।

विशेष गरि बर्खा याममा आकाशमा देखिने इन्द्रेणी सम्भवलाई खुबै मन पर्छ, उनी भन्दै थिए । इन्द्रेणी पर्नुको वैज्ञानिक कारण पनि छ । मौसमविद शान्ति कँडेलका अनुसार वायुमण्डलमा बर्खायाममा पानीका कण हुन्छन्, घामको किरण हावाबाट ती पानीका छिटामा प्रवेश गर्ने क्रममा प्रतिबिम्ब बनेर इन्द्रेणी पर्छ ।

इन्द्रेणी छाताले ढाकिएको टेबहाल मार्ग हेरेर बिदा हुने बेला सम्भवले हालै अनुभूत गरेकाे आनन्दको अर्को कारण पनि खुलाएका थिए । संयोगले सो कारण पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्वसँग जोडिएको थियो ।

‘केही दिन अघि मात्रै निरञ्जन कुँवरको मेमोयर बिट्वीन क्वीन्स एण्ड द सिटिज पढेको थिएँ । निकै आनन्द आयो । अहिले यो इन्द्रेणी मार्ग हेर्दा प्रफुल्ल भएँ’ गएको शनिबार टेबहालबाट बिदा हुने बेला सम्भवले भनेका थिए ।

पुस १८, २०७७ मा प्रकाशित