सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको अनुभव

कोरोनाले एक महिना मलाई थला नै पार्‍यो

अहिले म सञ्चो भएको छु,

म त्यो दिन सम्झन्छु, जुन दिन मैले भगवानसँग प्रार्थना गरेको थिएँ, मेरो शरीरमा औषधिले काम गरोस् भनेर। किनकि मलाई अस्पतालमा सुरुका ३ दिन असाध्यै गाह्रो भएको थियो। मलाई लाग्यो मेरो बाँच्ने दिन यत्ति रहेछ कि क्या हो। मैले जनताको सेवा गर्न ५ वर्षको शपथ लिएको थिएँ, १७ महिना बाँकी रहँदै म रहन्न कि झैँ लागेको थियो।

धन्न म बाँचे।

अहिले मैले औषधिको मात्रा सक्काएको छु। मेरो अवस्था बिस्तारै राम्रो भएको छ।

म नागरिकले चुनेर बनेको सूर्यविनायक नगरपालिकाको प्रमुख थिएँ। कोभिड महामारी शुरु भएपछि नियन्त्रणको लागि मैले खटिनु नै पर्ने थियो। विकास निर्माणको शिलशिला जारी नै थियो, अहिले पनि छ। कोरोना एक दुई जनाबाट धेरैमा फैलन थाल्यो।

संक्रमितको उपचारको व्यवस्था अनि कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव परिक्षणको लागि घुम्ती शिविर सञ्चालन गरेका थियौँ, निशुल्क। शिविर व्यवस्थापनको शिलशिलामा म विभिन्न ठाउँमा गएको थिए, जानु आवश्यक थियो। जनतालाई अफ्ठेरो परेको बेलामा नगरप्रमुख नै गएन भने अरु प्रतिनिधि र कर्मचारीलाई पनि गाह्रो थियो। त्रासमो वातावरणमा नगरपालिकाका हामी ५४ जनाको टोली नै लागिपरेका थियौँ।

यही क्रममा केही कर्मचारी साथी अनि वडा अध्यक्षलाई कोरोना संक्रमण भयो। मैले मास्क लगाएको थिएँ, स्यानिटाइजर साथमा नै हुन्थ्यो। डब्लुएचओ र नेपाल सरकारले लागू गर्न भनिएका सबै सुरक्षा सतर्कता सकेसम्म अपनाएको थिएँ।

मेरो छोरा अमेरिकामा बस्छ, कोरोनाबाट अति प्रभावित देशमा। उसले कोरोनाबाट बच्न आफू बसेको ठाउँमा गरिएको अभ्यास हामीलाई पनि सिकाइरहेको थियो। मैले छोरासँग सिक्न नपाएको समयमा श्रीमतीले मलाई सिकाएकी थिइन्। हेलचेक्र्याइँ नगर्नु, बाहिर नजानू भन्ने परिवारको इच्छा हुन्थ्यो। तर नगरप्रमुखको हैसियतले नगरबासीको सुविधाको काममा म जानुपर्‍यो नै।

जसरी हामी आफ्नो संगतका मानिसलाई संक्रमण हुँदा परिक्षण गराउँथ्यौ, मैले आफूलाई पोजेटिभ आउनु अगाडि ३ पल्ट पिसिआर गरिसकेको थिएँ। नगरपालिकाहरुको सम्मेलन हुँदा काठमाडौँ र ललितपुर महानगरपालिकाका मेयरसँग भेट भएको थियो, दुवैलाई कोरोना संक्रमण हुँदा म कन्ट्याक ट्रेसिङमा परेँ। अनि एकपल्ट मलाई सामान्य रुघा खोकी ४ दिनसम्म निको भएन। कोरोना हो कि भनेर परिक्षण गर्दा नेगेटिभ आएको थियो।

चौथोपल्ट परीक्षण गर्दा पनि मलाई नेगेटिभ नै आउँछ जस्तो भएको थियो । हल्का जीउ दुखेको थियो। खाना रुचेको थिएन, अनि मलाई बल नआउने भएको थियो। ज्वरो ९८ थियो, १०० माथि थिएन। मैले सोचेँ- मेरो शरीरले चिसो थाम्न सकेन। कार्यालयमा दुई दिन आराम गर्छु भनेर बिदा लिएर बसेँ। प्रमुख प्रशासकीय अधिकृत कृष्ण जनावलिले ‘कोरोना हो कि, ढुक्क हौँ!’ भनेर ल्याबका साथीलाई घरमा नै पठाउनुभयो। रिपोर्ट आएपछि म छक्क परेँ। कोरोना पोजेटिभ नआउँदासम्म खासै गाह्रो भएको थिएन, तर पोजेटिभ आएपछि स्वाद पनि गयो। फिल्डमा जाँदा अथवा नगरपालिकामा आउँदा कता संक्रमण भयो थाहा पाउनै सकिन।

फेसबुकमा जानकारी गराए, ताकि मेरो संगतमा परेका सबैले ढुक्क हुन पाउँन्।

तर म आफू छक्क थिएँ, एक मिटर दूरीमा बस्दा, मास्क लगाउँदा सर्दैन भनिन्थ्यो । फरक हुने रहेछ, कोहीलाई लाग्ने कोहीलाई नलाग्ने, कोहीको परिवारलाई नै लाग्ने हुने रहेछ। फेरि मैले मसँग जो जो संगत गरेको थिए, उनीहरु कसैलाई पनि संक्रमण भएन। यतिसम्मकि एउटै टेबलमा बसेर खाना खाने मेरो परिवार, ड्राइभर अनि फिल्डमा सँगै हिड्ने साथीहरु, वडा अध्यक्ष, प्रमुख प्रशासकीय प्रमुख, माननीय महेश बस्नेतज्यू, कसैलाई पनि संक्रमण देखिएन।

म घरमा नै थिएँ, सूर्यविनायक नगर अस्पतालका चिकित्सक, नर्सले ख्याल गरिरहनु भएको थियो। ७ दिनसम्म मलाई सास फेर्न गाह्रो भयो, मलाई निमोनिया भएछ। स्वाश फेर्दा धेरै भुकलुकभुकलुक भएपछि मलाई अस्पताल भर्ना गरियो।

कमजोरीपना बढ्दै गयो, सास फेर्न गाह्रो हुन थाल्यो, मुटु कलेजो नै बाहिर आउला जस्तो लाग्यो। ह्वाक्क ह्वाक्क भएपछि सारै गाह्रो भयो। अस्पताल गएपछि पनि सास फेर्न सजिलो भएको थिएन। ‘मैले औषधिले म्याच गरोस् भनेर पुकारिरहे, किनकि औषधिले म्याच गर्‍यो भने मात्र म बाँच्छु भन्ने लागेको थियो।’

यो भन्दा पहिला म गम्भिर बिरामी भएको थिइन, अस्पताल धेरै गएको पनि छैन। रक्तचापको बाहेक अरु औषधि खाएको थिइन, ज्यानमा सुई पनि नघोचेको, सलाइन पानी नचढाएको मान्छेलाई औषधिले नछुन पनि सक्थ्यो। मलाई औषधिले कही रियाक्सन गरिरहेको थिएन। मैले सोँचे १७ महिना नगरवासीको सेवा गर्न बाँकी नै थियो, अर्को जुनीमा आउनुपर्छ कि क्या हो ।

खुसीको कुरा ४ दिनपछि मलाई राम्रो भयो, म आफै ट्वाइलेट जान सकेँ जुन मेरो लागि ठूलो खुसीको कुरा थियो। त्यो बेला मलाई मैले अझै जनताको सेवा गर्नुपर्छ, केही गर्न बाँकी छ जस्तो लाग्यो। सकारात्मक हुन खोजिरहेँ। केही होला भनेर चाहिँ सोचिन। त्यसपछि मलाई सास फेर्न सजिलो हुँदै गयो, अक्सिजन ६ लेभलबाट घटाएर क्रमश ३,२,१ मा आयो, पछि आफै सास फेर्न सक्ने भएँ। एकसातापछि म घर आएँ।

गएको मंसिर ९ गते मलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो, ठ्याक्कै १ महिनामा मेरो रिपोर्ट नेगेटिभ आयो । २८ दिनसम्म म पोजेटिभ भएँ, ६ दिन मेडिसिटी अस्पतालमा भर्ना भएँ, अनि बाँकीको समय मैले घरकै आइशोलेशनमा बिताएँ, सुरक्षा साथ। मैले फेसबुकबाट स्वास्थ्यको अपडेट दिइराखेको थिएँ।

अहिले मलाई दुई समस्या छ,

एउटा झनक्क रीस उठ्ने र अर्को बिर्सने।

बेलाबेलामा रिंगटा लागिरहेको हुन्छ। तर अहिले मेरो रक्तचाप ठीक छ, चिनीको मात्रा पनि ठीक छ। अरु केही समस्या छैन। कहिलेकाहिँ स्वाँस्वाँ आउँछ।

कोरोना नेगेटिभ आएपछि म त्यही दिन अति आवश्यक काम निप्ट्याउन नगरपालिका आएँ। मैले कार्यालयमा सबै कर्मचारीलाई नागरिकको काम नबिगार्नुहोस् भनेर भनेको अस्पतालमा हुँदा पनि भनेको थिएँ। नगरबासीको काम रोकिएन। अहिले बैठक चलिरहेको छ, समयमा नै नगरसभा पनि हुन्छ।

कोभिड त अझै १, २ वर्ष पनि सम्म रहला जस्तो छ, विकासको काम रोक्न मिल्दैन ।

सूर्यविनायक नगरबासी र सम्पूर्ण नेपालीलाई के अनुरोध छ भने, कोभिडलाई ख्याल ख्याल नगरौँ। मास्क लाउने, स्यानिटाइजर दल्ने, १ मिटर दूरी कायम अनिवार्य गरौँ। किनकि कोरोना लागिसकेपछि कि मृत्यु कि ४ महिना असाध्यै गाह्रो हुने रहेछ। म ६० वर्ष पनि नपुगेको उमेरमा मृत्युको मुखमा पुगेर आएँ। मेरो सिटी भ्यालु जम्मा १२ थियो, त्यसमाथि निमोनियाले खतनाक अवस्थामा पुर्‍यायो। नेपाल सरकार र डब्लुएचओले बनाएको मापदण्डको पालना गरौँ, केही महिना यो नियमको पालना गरे सुरक्षित हुन सकिन्छ भन्ने मेरो विश्वास छ।

भिडियो हेर्नुहोस्:

प्रस्तुति: सुजाता खत्री

पुस १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्