
काठमाडौँ – कोभिड–१९ को महामारीका बेला सबै भन्दा जोखिममा मुख स्वास्थ्य क्षेत्र रह्यो। अन्य रोग सम्बन्धी काम गरिरहेका विशेषज्ञ चिकित्सकलाई भन्दा दन्त चिकित्सकलाई कोरोना भाइरस संक्रमणको डर धेरै थियो। किनकी उनीहरु सिधै मुख स्वास्थ्यसँग जोडिएर काम गर्छन्।मास्क खोलेर बिरामीको जाँच गर्छन्।
हुन त उनीहरुले सुरक्षा सतर्कता अपनाएर काम गरिरहेका हुन्छन्। तर पनि यस्तो महामारीमा मात्रै नभएर अन्य विभिन्न संक्रामक रोगको चपेटामा पर्ने गरेका छन्। विभिन्न रोगसँग जोडिएको यही मुख स्वास्थ्य ओझेलमा परेको छ। महामारीका बेला कसरी काम गर्ने? संक्रमित बिरामी उपचारका लागि अस्पताल पुगे कसरी सेवा दिने? मुख स्वास्थ्यको ख्याल कसरी गर्ने भन्ने बारेमा ओम समाज डेण्टल अस्पतालका संस्थापक अध्यक्ष डा. सुवास घिमिरेसँग कुराकानी गरिएको छ।
कोरोना भाइरस संक्रमणका बेला मुख स्वास्थ्यसँग जोडिएर काम गर्न कतिको गाह्रो रहेछ?
नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष हुन लाग्यो। सुरुवातको अवस्थामा नेपालमा लकडाउन भयो। त्यो बेला कोरोना भाइरस संक्रमित कम भेटिएका थिए। तर डरको तह एकदमै धेरै थियो। मानिसहरु असाध्यै डराइरहेका थिए।
बिरामी देखेर चिकित्सक समेत भाग्ने अवस्था थियो।
हामीले कोरोना भाइरस संक्रमण सुरु हुने बित्तिकै भनेका थियौँ ‘चिकित्सक भएर कुनै पनि रोगको उपचारदेखि भाग्नु हुँदैन। हामी भनेका समाजका उपज हौँ। हामीलाई समाजले नै डाक्टर बनाएको हो। समाजमा समस्या आइपर्दा मुख मोड्नु हुँदैन।’
एउटा चिकित्सकको हैसियतले भन्नु पर्दा उसको दायित्व भनेकै समाज र बिरामीलाई बचाउनु हो।
तपाईँहरु मुखसँग सिधै जोडिएर काम गर्ने भएकाले संक्रमित हुने सम्भावना बढि हुन्छ होला नि?
भाइरस कुनै माध्यम बिना सर्दैन। मुख स्वास्थ्य अत्यन्तै जोखिमको क्षेत्र हो। हाम्रो मुखबाट निस्किने ड्रपलेट अर्थात थुकका साना–साना थोपाहरुबाट नै भाइरस सर्ने हो। नत्र छोएर मात्रै सर्दैन। ड्रपलेटकै माध्यमबाटै सर्ने हो भन्ने कुरा हामीले विभिन्न खोजहरुमा माध्यमबाट पत्ता लगायौँ।
हामी उपचार गर्नबाट पछाडि हट्नु हुँदैन, भाग्नु हुँदैन भन्ने भयो। हामीले उपचार दिन आवश्यक थियो, र छ पनि। त्यसका लागि सवधानी अपनाउन आवश्यक थियो। चिकित्सकले पनि र बिरामीले पनि। कोभिड–१९ को एउटा लक्षण छ, जस्तो कि ८०% मानिसहरुलाई लक्षण नै देखिदैन, २०% मानिसलाई मात्रै लक्षण देखिन्छ।
जसलाई लक्षण देखिन्छ, उसलाई देखिएपछि मात्रै थाहा भएको हो। बाँकी ८०% लाई लक्षण नदेखिँदा थाहा हुने भएन। त्यसैले ८०% मानिसबाट संक्रमणको जोखिम उच्च रह्यो। भाइरसको माध्यम भनेको मुख नै हो।
मुख माध्यम हुने भएपनि हामीले कसरी सुरक्षा अपनाउछौँ भन्ने कुरा बुझ्न जरुरी छ। मास्कले भाइरस रोक्दैन। मास्कको छिद्र भन्दा भाइरस सानो छ। त्यसबाट भाइरस छिर्न सक्छ। मास्कले रोक्ने भनेको ड्रपलेटलाई हो। जुन मास्कको छिद्र भन्दा ठूलो हुन्छ। ड्रपलेट जुन माध्यमबाट जान्छ। त्यसले मात्रै रोक्न सक्छ।
बिरामी हेर्दा हामी मास्क लगाउछौँ। फेस सिल्ड लगाउछौँ। यसो गर्दा डाक्टर लक्षण बिहिन छन् र उनी संक्रमित रहेछन् भने बिरामीलाई सर्दैन। फेरी बिरामी नै लक्षण बिहनि छन् र संक्रमित रहेछन् भन्नेमा चाहिँ बिरामीको निस्केको थुक चिकित्सकसम्म पुग्दा मास्क र फेस सिल्डले रोक्छ।
जसले गर्दा चिकित्सक र बिरामी दुवै जना सुरक्षित हुने भयौँ।
हामी समाजको सेवाका लागि चिकित्सक बनेका होैँ। त्यसैले हामीले सुरक्षाका उपायहरु अपनाएर बिरामकिो सेवा कसरी गर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै काम गरिरहेका छौँ।
यो अवस्थामा कोरोना भाइरस संक्रमित बिरामी सेवा लिन आएको खण्डमा कसरी उपचार गर्नु हुन्छ?
संक्रमित व्यक्तिको उपचार गर्नु पर्यो भने पहिलो कुरा त सबै सुरक्षाका मापदण्ड अपनाउन जरुरी छ। त्यस्तो बिरामीले हाछ्यूँ गर्न सक्छ। त्यसैले सम्बन्धित व्यक्ति र अरुले पनि मास्क अनिवार्य रुपमा लगाउनु पर्छ।
मास्कले भाइरस रोक्ने भन्दा पनि थुक रोक्ने काम गर्छ। थुकमा भाइरस जाने गर्छ।
हामी कोभिडको बिरामी नभएपनि मास्क, फेस सिल्ड, पञ्जा लगाउने गछौँ। कोभिड भएको बिरामीको हकमा भने अझ बढि सजक हुन जरुरी हुन्छ।
सेवा दिइसकेपछि बिरामीको उपचार गर्दा प्रयोग गरिएका सामानहरु सहि ढङ्गले ‘डिस्पोज’ गर्नु पर्छ।
पीसीआर टेस्ट सत प्रतिशत भरपर्दो छैन। कहिले काही पोजेटिभ केशमा पनि नेगेटिभ आइदिन सक्छ। त्यसमै निर्भर भएर हामीले यो व्यक्ति सुरक्षित छ भन्ने सक्दैनौँ।
त्यसैले सबै बिरामीको उपचार गर्दा सुरक्षाका उपायहरु अपनाएर सेवा खटिनु पर्छ।
हामीले चाँही कोही संक्रमित व्यक्ति नै उपचारका लागि आएमा छुट्टै ठाउँमा राखेर उपचार गर्ने व्यवस्था गरेको छौँ।
मुख स्वास्थ्यको ख्याल नराख्दा रोगको संक्रमण फैलिने सम्भावना कति रहन्छ?
मुख भनेको प्रमुखद्वार हो। राम्रो कुरा अथवा नराम्रो जाने कुरा पनि मुखबाट नै हो। यतिसम्म कि व्याक्टेरिया पनि मुखबाटै छिर्ने गर्छन्। जसले गर्दा धेरै सरुवा रोग सजिलै सर्न सक्छ। तपाईँले मुख स्वास्थलाई मात्रै ख्याल राख्दिनु भयो भने मात्रै ९० प्रतिशत रोग लाग्नबाट बच्न सकिन्छ।
खाने कुरा आफैमा ब्रस हो। यसले मुलाई पनि सफा गर्छ र शरीरलाई पनि सफा गर्छ। त्यसैले हामीले सधैँ भन्ने गरेका छौँ, ‘जसको दाँत सबल उसको जीवन सफल।’
अहिलेको अवस्थामा मुख स्वास्थ्यको ख्याल कसरी राख्नु जरुरी छ?
खानपिनमा धेरै ध्यान दिनु पर्छ। प्राकृतिक कुरा र पानीको सेवन धेरै मात्रामा गर्नु पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा धुम्रपान मध्यपान र जंकफुडलाई खान बन्द अत्यावश्यक छ।
भिटामिन ‘डी’ को कमी हुन नदिन घाममा बस्नु पर्छ। र अर्को महत्वपूर्ण कुरा मज्जाले निन्द्रा पुग्ने गरी सुत्दा अरु स्वास्थ्यको साथसाथै मुख स्वास्थ्यलाई पनि राम्रो गर्छ ।
मुख स्वास्थ्यका लागि हाइजिनमा अत्यन्तै ध्यान दिनु पर्छ।