‘ट्रम्पका सबै दाबी तथा आरोपहरु स्पष्ट रुपमा गलत र झुट हुन्’

अमेरिकाको जर्जिया राज्यका उच्च निर्वाचन अधिकारी ब्राड राफेनस्पगरले राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पष्ट रुपमा झुट बोलेको बताएका छन् ।
ट्रम्पले जर्जियामा आफू विजयी भएको दाबी गर्दै त्यसका लागि चाहिने मत ‘खोज्न’ भनेका थिए । ट्रम्पले टेलिफोन संवादमा ब्राड राफेनस्पगरलाई आफ्नो जित प्रमाणित गर्नका लागि चाहिने ११ हजार ७८० मत खोज्न दबाब दिएका थिए ।
त्यसपछि उनले ट्रम्पको सबै दाबी स्पष्ट रुपमा झुट रहेको बताएका हुन् । जर्जियाको निर्वाचन जिम्मेवारी सम्हालेका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरसँगको टेलिफोन संवाद बाहिरिएपछि ट्रम्पको आलोचना थप तीव्र बनेको छ ।
ट्रम्पको टेलिफोन संवाद तथा नतिजा उल्ट्याउनका लागि दिइएको दबाब जर्जियाका दुई सिनेट रनअफ चुनावमा आफू विरुद्ध काम गर्ने डर केही रिपब्लिकनहरुमा देखिएको छ । जर्जियामा मंगलबार सिनेटका दुई सिटका लागि रनअफ चुनाव हुँदैछ ।
माथिल्लो सदन सिनेटको शक्ति सन्तुलनका लागि यो चुनाव अति महत्वपूर्ण छ । दुवै सिटमा जित निकाले डेमोक्र्याटले सिनेटमा पकड कायम गर्न सक्ने छन् ।

राफेनस्पगरले टेलिफोन संवादबारे एबिसी न्यूजसँग भनेका छन्, ‘उहाँले अधिकांश समय बोल्नु भयो । हामीले सुन्यौँ । तर यो कुरा म स्पष्ट पार्न चाहन्छु कि उहाँसँग भएका तथ्य तथा तथ्यांकहरु स्पष्ट रुपमा झुट हुन् ।’
हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिफोन संवादमा नोभेम्बर ३ मा भएको चुनावको नतिजा उल्ट्याउनका लागि आवश्यक मत ‘खोज्न’ उच्च निर्वाचन अधिकारी राफेनस्पगरलाई ‘आदेश’ दिएका थिए ।
दुई महिनाअघि भएको चुनावमा ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका हुन्। बाइडेनले ३०६ तथा ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका छन् ।
सो मत इलेक्टोरल कमिटिबाट प्रमाणिकरण भएको छ र अब सदनले पारित गर्ने तयारी छ । बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन् ।
तर ट्रम्पले बिना कुनै प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।
उनी र उनको टिमले दायर गरेका मुद्दाहरु प्रमाणको अभावमा अदालतले खारेज वा विपक्षमा फैसला गरेका छन् ।
ट्रम्प भने अझै पनि प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । केही रिपब्लिकन सांसदहरु त्यसकै पछि लागेका छन् ।
ट्रम्पले नतिजा उल्ट्याउनका लागि अहिलेसम्म गरेका सबै प्रयास विफल भएका छन् । उनले पछिल्लो पटक जो बाइडेनको जितका लागि महत्वपूर्ण साबित भएको ‘स्वीङ्ग स्टेट’ जर्जियाका उच्च निर्वाचन अधिकारीलाई आफ्नो जितका लागि चाहिने मत ‘निकाल्न’ दबाब दिएको टेलिफोन संवाद बाहिरिएको हो ।
टेलिफोन संवादको क्रममा ट्रम्पले सेक्रेटरी अफ स्टेट राफेनस्पगरलाई नतिजा उल्ट्याउनका लागि चाहिने ११ हजार, ७८० मत खोज्न भनेका हुन् । जर्जियामा बाइडेन साँघुरो मत अर्थात ११ हजार ७७९ मतले विजयी भएका थिए ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले रिपब्लिकन सेक्रेटरी अफ स्टेट राफेनस्पगरलाई टेलिफोनमा भनेका छन्, ‘म मात्रै ११ हजार ७८० मत खोज्न चाहन्छु ।’ सेक्रेटरी अफ स्टेट राफेनस्पगरले जर्जियाको नतिजा सही र सत्य रहेको जवाफ दिएको टेलिफोन संवादमा सुनिन्छ ।
जर्जियामा तीन पटक मतगणना भएको थियो, त्यसमा बाइडेन विजयी भएका थिए ।
ट्रम्पको टेलिफोन संवाद बाहिरिएपछि जर्जियाका मतदान प्रणाली कार्यान्वयन व्यवस्थापक गाब्रिएल स्टर्लिङ्गले सोमबार पत्रकार सम्मेलन गरि राष्ट्रपति ट्रम्पका सबै दाबी स्पष्ट रुपमा गलत र झुट रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले जर्जियाका बासिन्दाको चुनावी प्रक्रियामाथिको विश्वासलाई खण्डित बनाउने प्रयासमा लागेको भन्दै उनले चेतावनी दिएका छन् । उनले मंगलबारको चुनावमा मतदान गर्न सबैसँग आग्रह पनि गरेका छन् ।