बबई प्रभावित क्षेत्र: तङ्ग्रिँदै विस्थापित बस्ती

बबई–१ धोवाघाट गाउँ । जुन गाउँ बाढीका कारण विस्थापीत भएको थियो। तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

दाङ – बबई नदी अलि पर थियो। नदीको तिरमा घरहरु थिए। ठूलो बाढी आएको इतिहास २०७१ साल भन्दा अघि थिएन। त्यही भएर बबई गाउँपालिका–१ धोवाघाटका प्रेमबहादुर डाँगी बबई नदीको बाढी ठूलो नआउनेमा ढुक्क थिए ।

तर, २०७१ साल साउन २७ गते देखि २९ गतेसम्म लगातार झरी पर्‍यो । त्यो झरीले अहिलेसम्मकै ठूलो बाढी बबई नदीमा आयो । डाँगीको घर, गोठ सबै लग्यो । धोवाघाटमा लस्करै १४ घर थिए । सबै बबई नदीको बाढीले लगेपछि डाँगी विस्थापित भए । पाल टाँगेर दिनहरु कटाउनु पर्‍यो ।

‘सोच्दै नसोचेको विपत्ति आइलाग्यो । उतिबेला खाने अन्न समेत बचेको थिएन । हेलिकोप्टरबाट राहत आइपुगेको थियो’ उनले विगत सम्झदै भने–‘बर्खा सिजन सुरु हुँदा विगतको त्रासदीको याद अझै आउँछ ।’

बाढीकै कारण विस्थापित भएका मध्ये ११ जना त धोवाघाट गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन । ४ घरको बसाइँ यही गाउँमा छ । ‘मानिसहरु बाढीले सताएपछि थातथलो नै छाड्ने अवस्था आयो । घर खेत बगायो । बाढीबाट बचेको केही जग्गा जमिनका कारण हामी अहिले पनि यहीँ गाउँमा छौँ’, डाँगीले भने, ‘बाढीले ठूलो पाठ सिकाएर गयो ।’

बाढीको उच्च जोखिममा भए पनि धोवाघाटका मानिसलाई थाहा थिएन । तत्कालिन समयमा कुनै विपद् जोखिम न्यूनिकरणको बारेमा कार्यक्रम पुगेको थिएन । सामुदायिक विपद व्यवस्थापन समिति गठन गरेर त्यसको नेतृत्व सम्हालेका डाँगीले गाउँमा विपद् जोखिम न्यूनिकरणको बारेमा अरुलाई सिकाउनेसम्मको क्षमता विकास गरेका छन् ।

‘बाढी आउँदा बच्नको लागि सुरक्षित ठाउँ चाहिन्छ । त्यसको छनौट पहिले नै गरेका छौँ,’ उनले भने, ‘विगतमा यही कुरा सिक्न पाइएन । २०७१ को बाढीको त्रासदीमा परेका हामीलाई २०७४ को बाढीले पनि लखेट्यो ।’

२०७१ सालमा आएको बाढीले आफ्नो घर भत्काएको ठाउँ देखाउदै सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर डाँगी। तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

२०७४ सालमा पनि बबई नदीमा बाढी आयो । ०७१ सालको बाढीले पुर्‍याएको क्षति न्यूनिकरण गर्न खोलामा तार जाली लगाउने काम भएको थियो । तर, त्यो तारजाली समेत ०७४ को बाढीले बगाईदियो । त्यसपछि धोवाघाटमा तटबन्धको कार्यक्रम सुरु हुन सकेन ।

विपद् व्यवस्थापन समितिको तर्फबाट आवाज उठाउन भने छोडिएको छैन । ०७४ को बाढीले तटबन्ध भत्काउँदा नदीको सतह फैलन पुग्यो । यो गाउँमा बर्खाकाे समयमा बाढीको त्रास हुन्छ । तर, यो त्रासबाट बच्न समुदाय स्तरमा विपद् जोखिम न्यूनिकरण योजना बनाएपछि भने सजिलो भएको छ । बाढीको जोखिमबाट जोगिन योजनावद्ध रुपमा लागेका छन् ।

पहिला विपद् सम्बन्धी ज्ञान भएका मान्छे गाउँमा थिएनन् । बर्खा लाग्दा मात्रै बाढीको विपद्को बारेमा चिन्ता गर्ने गरिन्थ्यो । तर, अहिले हिउँदमा पनि स्थानीयले बाढीबाट हुन सक्ने हानी नोक्सानीबाट कसरी जोगिने भन्नेमा छलफल र योजना बनाउने गरेका छन् ।

‘केही घर अझै नदी तटिय क्षेत्रमा छन् । ती घरका मानिसहरुको पूर्ण विवरण हामीसँग छ । बाढी आईहाल्यो भने पनि सुरक्षित स्थानमा लैजाने योजना हामीले बनाएका छौँ,’ डाँगीले भने,‘पहिला त यस्तो योजना थिएन । बाढी आयो भने आत्तिने, हतास हुने गरिन्थ्यो । तर, बाढी आउँदा झनै जोखिममा पर्ने व्यक्तिको रुपमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका रहेको कुरा थाहा भयो । पहिला उहाँहरुलाई सुरक्षित स्थानमा लैजाने काम हुन्छ ।’

विपद् व्यवस्थापन समितिको जिम्मेवारी भित्र जोखिमको नक्साङ्कन गर्ने र जोखिम न्यूनिकरणको योजना बनाउने रहेको छ । लगातार पानी पर्‍यो । माथिल्लो तटिय क्षेत्रमा पनि उस्तै भारी वर्षा भयो भने त्यसको सूचना समुदायमा आइपुग्छ । बाढी आउने खतरा देखिनासाथ साइरन बज्छ । र मानिसहरुलाइ सुरक्षित स्थानमा जान भनिन्छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी, बालबालिका सबैको जानकारी पहिले नै हुने भएकाले त्यस्ता व्यक्तिलाई पहिले नै सुरक्षित स्थानमा लैजाने अभ्यास अहिले धोवाघाटका स्थानीयले जानेका छन । यी क्रियाकलापको बारेमा सामुदायिक विपद् व्यवस्थापन समितिको योजना भित्रै राखिएको हुनाले समुदायका नागरिक यस कार्यमा अग्रसर रहन्छन् ।

धोवाघाट दाङको विकट गाउँमा पर्छ । यहाँ पुग्न सजिलो छैन । बाढीले विस्थापित गराउँदा सुरक्षा निकाय र सरकारी अधिकारी पुग्न समय लागेको थियो । तत्कालको लागि दिइने राहत पुर्‍याउन हेलिकोप्टर प्रयोग गर्नु परेको थियो । मोटरबाटो थिएन । पाँच/छ वर्षको अन्तरालमा हिउँदमा मोटरगाडी पुग्ने अस्थायी सडक सञ्जालसँग जोडिएको छ ।

समुदायका नागरिकहरुको आग्रह र समस्याका आधारमा स्थानीय सरकारले विपद् न्यूनिकरणलाई सहयोग पुग्ने गरी आफ्ना योजना अघि सारेको पाइएको छ । ‘बाढीले वितण्डा मच्चाउँदा चाहेर पनि त्यहाँ समयमा पुग्न सकिएको थिएन । प्रहरी, सेना समयमा पठाउन सडकले रोकेको थियो । तर, हामीले सधैँ भरी सञ्चालन हुन सक्ने सडक बनाउने योजनामा छौँ,’ बबई गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलले भने, ‘स्थानीयको लगातारको खबरदारी र हाम्रो अग्रसरतामा काम भैरहेको छ । अहिले स्थानीय विपद् व्यवस्थापन समिति समेत गठन भएको छ । यो समितिले पालिकाभरीको विपद् न्यूनिकरणको योजना समेत बनाएको छ । पहिला समिति थिएन ।’

स्थानीय जनप्रतिनिधिको जोडबल पनि बाढीबाट प्रभावित क्षेत्रलाई पुरानै लयमा फर्काउने र राज्यको सुविधा पुर्‍याउने अठोट छ । ‘पहिला जान सक्ने अवस्था थिएन । अहिले गाउँसम्म गाडी पुगेको छ’, बबई गाउँपालिका वडा नम्बर १ का अध्यक्ष खड्गबहादुर कवरले भने, ‘बाढीबाट जोगिने उपायको बारेमा रेडक्रससँग समन्वय छ । समुदायलाई विपदबाट जोगाउने योजनाकासाथ काम भएका छन्।’

बनचरे, गंगटे, धोवाघाट, क्यूरेनी, जिला, सिमलकुना गाउँबाढीबाट प्रभावित गाउँ हुन् ।

तबटन्धको लागि पहल

धोवाघाट गाउँ अहिले पनि बाढीको जोखिममा छ । जनताको तटबन्ध कार्यक्रममार्फत गरिएको तटबन्ध २०७४ सालको बाढीले क्षति पुर्‍याएको छ । त्यसपछि यो गाउँमा तटबन्धको कार्यक्रम आएको छैन। ‘म लमही कार्यालयसम्म पुगे । फाइल बुझाए तर, अझै कार्यक्रम आएन’, प्रेमबहादुरले भने, ‘अब कहिले हुन्छ थाहा छैन।’

स्थानीय नागरिकको मागको आधारमा नेपाल रेडक्रस सोसाइटीले प्राक्टिकल एक्सनको सहयोगमा विपद् पूर्वतयारी बाढी पूर्वसूचना प्रणाली सवलिकरण परियोजना र बबई गाउँपालिकामार्फत उच्च जोखिम क्षेत्रमा तटबन्ध गर्ने योजना छ । दाङ जिल्लामा राप्ती र बबई नदी जलाधार क्षेत्रमा पर्ने ९८ समुदाय बाढीको उच्च जोखिममा छन्।

यी समुदायको क्षमता अभिवृद्धिको लागि विगतमा कार्यक्रम गरिएका थिए । समुदायको क्षमता अभिवृद्धिमा काम गरिएको र समुदाय आफै बाढी लगायतको विपद्को प्रतिकार्यमा संलग्न भएको परियोजना संयोजक सन्तोष ढकालले जानकारी दिए ।

नयाँ ठाउँमा सारियो विद्यालय

२०७१ मा ७३ घरधुरी बाढीबाट विस्थापित हुनुपर्‍यो । दुई वटा विद्यालय समेत बाढीले बगाएको थियो । पहिला विद्यालय भएको ठाउँ बबई नदीको बगरमा परिणत भएको छ । नयाँ ठाउँमा विद्यालय सारिएको छ । सरस्वती माध्यमिक विद्यालय गंगटेको भवन बाढीले बगाएपछि दुई वर्ष पाल टाँगेर पठन पाठन सञ्चालन गरियो । अहिले विद्यालय सुरक्षित ठाउँमा पक्की संरचना बनाएर सञ्चालन गरिएको छ ।

पहिला सरस्वती माध्यमिक विद्यालय भएको ठाउँ । जहाँ अहिले बबई नदीको बगर छ । तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

‘अभिभावकले आफूले भोग चलन गर्दै आएको जग्गा विद्यालयलाइ दान दिनुभयो । त्यसपछि यहाँ सबैको सहयोगबाट सात वटा टिनको छानो भएको भवन बनाएर पठनपाठन सुरु छ’, विद्यालयका प्रधानाध्यापक नरेन्द्र सारुले भने, ‘संरचना थप्दै विद्यालय चलाउँदै गरेका छौँ।’

धोवाघाँटको प्राथमिक विद्यालय पनि बबई नदीमा आएको बाढीले विस्थापित भएको थियो । अहिले सुरक्षित ठाउँमा विद्यालय सारिएको छ । तर, विद्यार्थी संख्या न्यून छ ।

अहिले सुरक्षित ठाउँमा सरेको सरस्वती माध्यमिक विद्यालय । तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

शिशु कक्षा देखि चार सम्म रहेको यहाँको विद्यालयमा जम्मा १८ जना विद्यार्थी भर्ना भएका छन् । ‘बाढीले गर्दा बसाइँसराइ भयो । विद्यार्थीको संख्या पनि घट्न पुग्यो’प्रधानाध्यापक विष्णु आलेले भने, ‘विद्यार्थी थोरै छन्। शिक्षक कर्मचारी पनि तीन जना मात्रै छौँ।’

विपद् उत्थानशिल समुदाय

विपद् न्यूनिकरण गर्न समुदायलाई उत्थानशिल बनाइएको छ । राप्ती र बबई जलाधार क्षेत्रमा ९८ समुदायलाई उत्थानशिल बनाइएको छ । उत्थानशिल बन्न विभिन्न ९ ओटा सूचक पुरा गर्नुपर्ने हुन्छ । स्थानीय समुदायमा संस्थागत संरचना अन्तर्गत सामुदायिक विपद् व्यवस्थापन समिति गठन भएको छ ।

यो समितिले स्थानीय सरकार लगायत अन्य नागरिक समाज लगायतका संघ संगठन संग समन्वय गर्ने, पूर्व सूचना प्रणालीको अभ्यास गर्ने, विपद् जोखिम व्यवस्थापनाको योजना बनाउने काम गर्छन् । यसैगरी समुदायमा पूर्वसूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र विपद् प्रतिकार्यका लागि सामूहिक पहलका लागि तालिमप्राप्त जनशक्ती समुदायमा छन् ।

एउटा कार्यदलमा कम्तीमा ४/५ जनाको दक्ष जनशक्ती छ । ‘हाम्रो समुदायलाई विपद्को जोखिमबाट सुरक्षित राख्न उत्थानशिलका सबै उपायहरु अपनाएका छौँ,’ सामुदायीक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर डाँगीले भने,‘विपद् आईपरे त्यसबाट सुरक्षित हुनका लागि कार्ययोजना पनि छ । त्यो कार्ययोजना पालना गर्छौँ।’

पुस २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्