
अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टी शक्तिमा आउने मार्गमा देखिएको छ।
तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा बहुमतमा रहेको डेमोक्र्याटिक पार्टीलाई सिनेटमा पडक कायम गर्नका लागि दुई सिट आवश्यक पर्छ ।
जर्जिया राज्यमा भएको सिनेटका दुई सिटको रनअफ चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जितको मार्गमा छन् ।
गएको नोभेम्बर ३ मा भएको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि मंगलबार रनअफ चुनावमा मतदान भएको हो ।

मतगणना अन्तिम चरणमा पुग्दा एक सिटमा डेमोक्र्याटिक उम्मेदवार राफायल वार्नक विजयी हुने प्रक्षेपण प्रमुख अमेरिकी सञ्चारमाध्यमले गरिसकेका छन् । उनले रिपब्लिकन सिनेटर केली लेफ्लरलाई पराजित गर्ने लगभग निश्चित भएको जनाइएको छ ।
यस्तै अर्को सिनेट प्रतिस्पर्धामा डेमोक्र्याटिक उम्मेदवार जोन असफले साँघुरो अग्रता लिएका छन् ।
गन्न बाँकी मतमा असफले अग्रता कायम गर्ने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन् । वार्नक र असफ विजयी भएमा माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका समान ५०–५० सदस्य हुने छन् ।
निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले सिनेटको अध्यक्षको हैसियतमा टाइब्रेक गर्ने छिन्, यसको अर्थ डेमोक्र्याटिक पार्टी सिनेटको शक्तिमा फर्किने छ । तर असफ रिपब्लिकन सिनेटर डेविड पर्ड्यूसँग पराजित भएमा सिनेट रिपब्लिकनको पकड कायम रहने छ ।

राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्र्याट जो बाइडेनलाई आफ्ना एजेण्डा पास गर्नका लागि तल्लो सदनसँगै माथिल्लो सदन सिनेटमा पनि बहुमत चाहिएको छ ।
बाइडेनले जनवरी २० मा अमेरिकाको राष्ट्रपतिका रुपमा शपथ लिँदै छन् ।
जर्जियाको सिनेट रनअफ चुनावमा अश्वेत अमेरिकीको मत डेमोक्र्याटहरुको जित र अग्रका लागि महत्वपूर्ण साबित भएका छन् ।
सन् २०१८ मा राज्यको गभर्नरमा पराजित भएकी नेतृ स्टेसी अब्राहमको भूमिका डेमोक्र्याटको जितमा महत्वपूर्ण रहेको छ। लामो समय रिपब्लिकनको पकडमा रहेको जर्जिया पहिलो पटक डेमोक्र्याटिक पार्टीको पक्षमा गएको छ ।
