नतिजा उल्ट्याउने ट्रम्प चाहनाले निम्त्यायो राजधानीमा हिंसा

ट्रम्पका हतियारधारी समर्थकले गरे संसद भवनमा आक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजित भएको चुनावमा आफू विजयी भएको भन्दै गर्दै आएका प्रमाण बिहीन दाबीका कारण हिंसात्मक प्रदर्शनको भएको छ ।

संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले प्रदर्शन तथा आक्रमण गरेका हुन् ।

हतियारधारी ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसी स्थित संसद भवनमा प्रवेश गरेर आक्रमण गरेका हुन् । उनीहरुले तोडफोड गरेका छन् । प्रदर्शनकारी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका छन् ।

ट्रम्पले आफ्ना समर्थकको गतिविधिको बचाउ गर्दै प्रमाण बिहीन आरोप लगाएका छन् । आफूले जितेको चुनाव धाँधली गरेर खोसिएका कारण यस्तो भएको दाबी उनले गरेका छन् ।

ट्रम्पले बिना प्रमाण लगाएको धाँधलीको आरोपका कारण प्रदर्शनले हिंसात्मक रुप लिएको हो । उनले आफ्ना समर्थकलाई घर फर्किन भने पनि प्रमाण बिहीन आरोप भने लगाएका छन् ।

प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा एकजनाको ज्यान गएको छ ।

सयौँ हतियारधारी ट्रम्प समर्थक चुनावको नतिजा उल्ट्याउनका लागि कांग्रेस भवनमा प्रवेश गरेपछि इलेक्टोरल मतलाई आधिकारिकता प्रदान गर्ने सदनको कार्यक्रम केही समयका लागि रोकिएको छ ।

झण्डै तीन घण्टासम्म हतियारधारी ट्रम्प समर्थकले संसद भवनमा नियन्त्रण कायम गरेका थिए । प्रहरीले सांसदहरुलाई भवनबाट निकालेका थिए । त्यसपछि स्थानीय समय अनुसार बुधबार बेलुका साढे पाँच बजे प्रहरीले भवनमा नियन्त्रण कायम गरेको छ ।

सुरक्षा व्यवस्थाका लागि झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । शहरमा कर्फ्यू लागु भएको छ । अहिलेसम्म १३ जना पक्राउ परेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ट्रम्पका समर्थकबाट भएको गतिविधि बिद्रोही गतिविधि रहेको बताएका छन् ।

तस्बिरहरु : द न्यूयोर्क टाइम्स

पुस २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्