अमेरिकाको संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका हतियारधारी समर्थकले आक्रमण गरे । संसद भवनमा तोडफोड तथा झडप भयो ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका जो बाइडेन (डेमोक्र्याट) तथा उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसको इलेक्टोलर कलेज मतलाई आधिकारिकता प्रदान गर्न सदनको संयुक्त सत्र बसेको थियो ।

प्रदर्शनकारीको आक्रमणपछि रोकिएको सो प्रक्रिया अहिले जारी छ ।

तर संसद भएमा भएको आक्रमणपछि वासिङ्गटन डिसीमा कर्फ्यू लागेको छ । संसद भवनमै भएको झडपको क्रममा गोली लागेर एक महिलाको मृत्यु भएको छ ।

राष्ट्रपतिमा निर्वाचित बाइडेन, पूर्व राष्ट्रपति जर्ज डब्लु बुस तथा सिनेटर मिट रोमिनीसहितले ट्रम्प समर्थकबाट भएको आक्रमण बिद्रोही आक्रमण रहेको बताएका छन् । उनीहरुले सो हिंसाका लागि ट्रम्प जिम्मेवार रहेको बताएका छन् ।

ट्रम्पले बिना प्रमाण चुनावमा धाँधली गरेर आफूबाट नतिजा खोसिएका कारण बुधबारको घटना भएको बताएका छन् । ट्रम्पले लगातार हिंसा भड्काउने तथा प्रमाण बिहीन आरोप लगाएपछि ट्वीटर र फेसबुकले उनलाई तत्कालका लागि ‘लक’ गरेका छन् । ट्वीटर, फेसबुक तथा युट्युबबाट उनको भिडियो हटाइएको छ ।

लामो समयदेखि उनको साथ दिँदै आएका रिपब्लिकन नेताहरु पनि उनको विरोधमा उत्रिएका छन् । मन्त्रीमण्डलका सदस्यहरुले उनलाई राष्ट्रपतिबाट हटाउने विकल्पबारे छलफल थालेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् ।

अमेरिकी इतिहासमा प्रजातन्त्रमाथि भएको आक्रमणका रुपमा चित्रित गरिएको छ । उनीहरुले बुधबारको घटनालाई ‘आन्तरिक आतंकवाद’ भनेका छन् ।

संसद भवनमा भएको हिंसाका घटनाका केही तस्बिरहरुः

तस्बिरहरुः रोयटर्स, गेट्टी इमेज र इपिए