नतिजा उल्ट्याउने ट्रम्प चाहनाले निम्त्यायो राजधानीमा हिंसा

अमेरिकी प्रजातन्त्रमाथि आक्रमण भएको भन्दै विश्वका नेताले गरे निन्दा

अमेरिकी संसदमा भएको आक्रमण तथा झडपको विश्वका नेताहरुले निन्दा गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरेर हिंसात्मक गतिविधि गरि सदनको संयुक्त सत्रमा अवरोध गरेका थिए ।

जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट सांसदहरुलाई रोकी नतिजा उल्ट्याउने प्रयासमा ट्रम्पका समर्थक लागेका हुन् । सो क्रममा संसद भवनमा भएको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ । वासिङ्गटनमा कर्फ्यू लागेको छ ।

विश्वका नेताहरुले सो घटनाको निन्दा गर्दै अमेरिकी प्रजातन्त्रमा विश्वास रहेको उल्लेख गरेका छन् । उनीहरुले संसद भवनमा भएको आक्रमण डरलाग्दो र प्रजातन्त्रमाथिको आक्रमण रहेको बताएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सदनमा भएको आक्रमण शर्मनाक भन्दै निन्दा गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘अमेरिकाको परिचय विश्वमा प्रजातान्त्रिक गतिविधिका लागि चिनिन्छ र अहिले सो कुरा अति महत्वपूर्ण भएको छ । सत्ताको शान्तिपूर्ण र नियमित हस्तान्तरण हुनु पर्छ ।’

बेलायतका विपक्षी नेता सन केइ स्टार्मरले पनि सो घटनाको निन्दा गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडियनहरु ‘प्रजातन्त्रमाथि भएको आक्रमण’ बाट गम्भीर रुपमा स्तब्ध भएको बताएका छन् । उनले ट्वीट गरेका छन्, ‘जनमतलाई ओझेलमा पार्न कहिल्यै पनि हिंसा सफल भएको छैन । अमेरिकी प्रजातन्त्र स्थापित हुनु पर्छ र हुनेछ ।’

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले जनताले प्रजातान्त्रिक अधिकार प्रयोग गरि दिएको मतलाई भीडले कहिल्यै पनि हत्याउन नसक्ने भन्दै घटनाको निन्दा गरेका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले घटनाको निन्दा गर्दै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुने अपेक्षा रहेको बताएका छन् ।

यसैगरि स्पेनिस प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाको निन्दा गरि अमेरिकी प्रजातन्त्रमा विश्वास रहेको र नयाँ राष्ट्रपति जो बाइडेनले अहिलेको अँध्यारो समयबाट देशलाई निकाल्ने विश्वास रहेको उल्लेख गरेका छन् ।

फ्रान्स, टर्की तथा जर्मनीका विदेश मन्त्री, नेटोका महासचिव तथा युरोपियन युनियन परिषदका अध्यक्षले पनि घटनाको निन्दा गरेका छन् ।

यसैगरि अर्जेन्टिना तथा चिलेका राष्ट्रपति क्रमशः अल्बेर्तो फेर्नान्डेज र सेबास्तियन पिनेराले पनि घटनाको निन्दा गरेका छन् ।

पुस २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्