वायु प्रदूषण बढेको हुँदा बिहानीपख नहिँड्न विराटनगर महानगरको आग्रह

मोरङ– विराटनगर महानगरपालिकाले वायु प्रदूषण बढिरहेको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

महानगरपालिका मेयर भीम पराजुलीले वायु प्रदूषणबाट जोगिन सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका हुन्। उनले केहीदिनका लागि बिहानपख हिड्ने कार्य, शारीरिक व्यायामका कार्य स्थगित गर्न सुझाव दिएका छन्।

यसक्रममा उनले केहीदिका लागि निर्माण व्यवसायका कार्य, धुवाँधुलो उडाउने कार्य रोक्न आग्रह गर्दै अत्यावश्यक बाहेक सवारीसाधनसमेत कम चलाउन पर्नेमा जोड दिएका छन्।

वायु प्रदूषण मापक मूख्य सूचाङ्क विराटनगरस्थित सव–डिभिजन वन कार्यालयमा राखिएको छ। जसमा मुलुकका विभिन्न स्थानको प्रदुर्षणबारे जानकारी दिने कार्यालयका सूचना अधिकारी राम लखन ठाकुरले जानकारी दिए।

उनका अनुसार विराटनगर महानगरपालिकामा बुधबार बेलुकाबाट बिहीबार दिउँसोसम्म प्रदूषणको अवस्था स्थिर रहेकोछ। सूचना अधिकारी ठाकुरका अनुसार बिहीबार दिउँसो विराटनगरको प्रदूषण १ सय ५७ एयर क्वालिटी इन्डेक्स (एक्युआई) रहेको छ। बुधबार बिहान भने १ सय ७४ एक्युआई देखिएको ठाकुरले जानकारी दिए। सामान्यतया शुन्यदेखि ५० सम्मलाई श्वास फेर्न योग्य वायुका रुपमा लिइने उनले बताए।

त्यसैगरि ५१ देखि १०० एक्युआई मध्यम वायु, १ सय १ देखि १ सय ५० बृद्धबृद्धा, बालबालिकालाई असर पुग्ने, १ सय ५१ देखि २ सय एक्युआई रेड जोन अर्थात उच्च प्रदूषणका रुपमा मानिन्छ। सूचना अधिकारी ठाकुरले अहिले विराटनगर महानगरपालिकाको वातावरण खराब र वायु प्रदूषणको अवस्था उच्च रहेको जानकारी दिए।

लकडाउनपछि यातायातको चाप, सडक निर्माणसँगै धुलोधुवाँ, इटाभट्टा तथा कलकारखाना लगायतको सञ्चालनले महानगरपालिकामा वायु प्रदूषण देखिएको सव डिभिजन वन कार्यालय विराटनगरले जनाएको छ।

पुस २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्