विस्तृत रिपोर्ट

संघर्ष सशक्त चर्काउन साथ खोजेकाहरुबाट नेकपा प्रचण्ड-नेपाल पक्ष आलोचित, आत्मालोचना नगरे साथ नदिने

काठमाडौँ- केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमविरुद्धको संघर्षलाई थप सशक्त बनाउन कसरत गरेको नेकपा प्रचण्ड–नेपाल पक्षले विपक्षी दल र नागरिक समाजसँग अन्तरक्रिया र संवादलाई निरन्तरता दिएको छ।

तर संसद विघटनका मामिलामा नागरिक समाजको आलोचना र प्रश्नको घेरामा ओली जस्तै यो पक्ष पनि पर्न थालेको छ।

दुई तिहाई बहुमत भएपनि आफ्नो निर्दिष्ट उद्देश्यबाट बिचलित भएको सरकारलाई सच्याउन दबाब नदिनु, पदका लागि बार्गेनिङ गरिरहनु र ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न ढिला गरेर खेल्नुले परिणाममा ओलीले संसद विघटन गरेको नागरिक समाजका अगुवाहरुले निष्कर्ष निकालेका छन्।

र, आफूबाट भएका गल्ती, कमीकमजोरीलाई लिएर आत्मलोचना गरेर जनतासँग माफी मागेको खण्डममा मात्रै अब नेकपा प्रचण्ड–नेपाल पक्षलाई ओली कदमविरुद्ध साथ दिने उनीहरुले शर्त अघि सारेका छन्।

उनीहरुले भनेका छन्–पहिल्यै जनतसँग माफी माग्नुहोस् अनि हामी सँगै ओली कदमविरुद्ध लडौँला।

बिहीबार बानेश्वरमा नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा आयोजित संसद विघटनको असंवैधानिक कदमविरुद्ध नागरिक समाजसँग अन्तर्क्रियामा संवोधनका क्रममा प्राय सबै नागरिक समाजका अगुवाहरुले यो विषयलाई प्राथमिकता दिए।

कतिपय अगुवाहरुले प्रश्नैप्रश्न तेर्साएर अन्तरक्रियामा उपस्थित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलाई हालयकायल बनाए। हाँसो र ताली पनि बटुले। सबैभन्दा खरो उत्रिएका थिए पूर्वसभामुख दमनाथ ढुंगानाले।

उनले घुमाउरो रुपमा पछिल्लो व्यवस्था छनौटमा नेपाली जनतालाई बञ्चित गराएको समेत बताए।

ढुंगानाले सुरुवातमै प्रश्न गरे,‘हामीलाई किन बोलाउनु भयो? तपाईँहरु फोहोर गर्ने अनि नागरिक समाजलाई सफा गर्न बोलाउने? फोहोरमा तपाईँहरु कति सम्मिलित हुनुहुन्छ? त्यो हामीलाई थाहा छ।’

ढुंगानाले एउटै पार्टीमा रहँदा प्रधानमन्त्रीले संसद विघटनको तयारी गर्दै गरेको तपाईँहरुलाई थाहा थिएन? के तपाईँहरु मदहोस भएर बस्नु भएको थियो? जस्ता अनेक प्रश्न तेर्साए। उनले भने,‘फोहोर गर्नेलाई भन्दा हेर्नेलाई बढी दोषी ठान्छु।’

दमननाथ ढुंगाना।

ढुंगानाले नागरिक समाज र नेकपाबीच तीतो अनुभव भएको भन्दै पछिल्लो पटकको परिवर्तनमा आफूहरुलाई कतै पनि संलग्न नगराएको आरोप लगाए। पदीय झगडाका कारण नेकपा फुटेको र अब आफूहरुले साथ दिएमा र मौका पाएमा प्रचण्ड–नेपाल पक्षबाटै फेरि प्रधानमन्त्री हुन दौडिने निश्चित भएको उनले बताए।

उनले भने,‘अब पदका लागि हामी मरिहत्ते गर्दैनौँ, जनताका लागि काम गछौँ भन्ने कुरामा जनतालाई नै आश्वस्त बनाउनुहोस्, त्यसपछि हामी तपाईँहरुलाई साथ दिन्छौँ।’

उनले ओलीले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेर भयानक गल्ती गरेको तर उनलाई त्यो अवस्थामा पुर्‍याउन  र्याउन नेकपा प्रचण्ड–नेपाल पक्षले कुस्ती खेल्दै भित्तामा पुर्याएको आरोप लगाए।

मुलुक थप संकटमा पर्नुमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति पनि उस्तै दोषी रहेको निष्कर्ष निकाले।

उनले राष्ट्रपति भण्डारीले पनि मुलुकलाई संकटमा पार्न महत्वपूर्ण भूमिका खेलेको उनले आरोप लगाए। ढुंगानले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन बिलम्ब गरेर खेल्दा ओलीले संसद विघटन गर्न पुगेको बताए।

अन्तरक्रियामा अख्यितयार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त सूर्यनाथ उपाध्यायले नेकपाको किचलोले जनताले फेरि पनि दुःख पाएको र त्यसको भागीदार नेकपाका दुवै पक्ष भएको बताए।

लीलामणि पौडेल।

उनले भने,‘ अहिले मुलुकमा संकट परेको छ। संसद विघटनविरुद्धको संघर्ष सफल पार्न गल्ती गर्नेहरुले आत्मालोचना गर्नुपर्छ। अनि मात्रै हाम्रो पूर्ण समर्थन हुनेछ।’

उनले मुलुकमा कानुनको शासन लागू गर्नुपर्नेमा जोड दिए। ओलीको कदम गैरकानुनी र अनुत्तरदायी भएको उपाध्यायको भनाइ छ। राष्ट्रिय माधवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले विगतमा राजनीतिक पार्टीबाट भएका कमीकमजोरी सच्याउनुपर्ने बताएकी छन्।

उनले संविधानसँगै नागरिकको मतको रक्षाको अहिलेको आवश्यकता भएको बताइन्। उनले भनिन्, ‘नागरिकले बाँच्न पाउने अधिकार विस्तारै कुण्ठित हुँदैछ। यसबाट नागरिकलाई बचाउने सबैभन्दा ठूलो दायित्व नेकपाकै हो।’

मोहना अन्सारी।

अन्सारीले नेकपाको आन्तरिक झगडाले संसद नै भंग हुनु मुलुकका लागि विडम्बना भएको बताइन्। योसँगै उनले द्वन्द्वकालीन पीडितलाई कहिले न्याय दिने भन्दै प्रश्न गरेकी थिइन्।

नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले ओलीको कदम संसद विघटनमै मात्रै सीमित नहुने ठहर गरे। उनले भने, ‘ओलीबाट अझै खतरनाक कदम चल्ने सम्भावना छ। त्यसैले नेकपाको अर्को पक्षले आफ्ना कमजोरी सच्याउनु पर्ने र संयुक्त संघर्षको विकल्प छैन।’

दीपेन्द्रबहादुर क्षेत्री।

 

यता राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटाले नेकपाको अर्को पक्ष र प्रतिपक्ष दलहरुले ओलीका सम्भावित कदम रोक्न नसकेको आरोप लगाए।

देवकोटाले ठूलो षडयन्त्रबाट ओलीले संसद विघटनको निर्णयमा पुगेको आरोप लगाएका छन्।

नेकपा प्रचण्ड-नेपाल पक्षले पुस १८ यता ओली कदमविरुद्ध दोस्रो चरणको आन्दोलन स्वरुप निरन्तर विभिन्न नागरिक समाजका अगुवाहरुसँग अन्तरक्रिया गरिरहेको छ।

पत्रकार एवं लेख नारायण वाग्लेले संविधानमाथि भएको घातको विपक्षमा सबै क्षेत्रमा नागरिक एक हुनुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।

कृष्ण पहाडी।

त्यसलाई समर्थन गरेका थिए नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले। उनले प्रधानमन्त्री ओलीबाट चालिएको असंवैधानिक कदमका विरुद्धको सञ्चारजगतले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जानकारी दिएका थिए। र, ओलीको असंवैधानिक कदमविरुद्ध सँधै उभिने प्रतिवद्धता पनि उनले जनाएका थिए।

पार्टीभित्रको विवाद थेग्न नसकेपछि ओलीले यही पुस पाँच गते संसद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका थिए अनुमोदनका लागि। राष्ट्रपति भण्डारीले पनि तत्कालै उक्त सिफारिसमा ल्याप्चे लगाएकी थिइन्।

त्योसँगै ३० महिना अघि एक भएको नेकपा विभाजित भएको थियो। र, नेकपा प्रचण्ड-नेपाल पक्षले ओली कदमविरुद्ध कानुनी उपचार र सडक आन्दोलन दुवैलाई अघि बढाउने, त्यसलाई सशक्त बनाउन प्रतिपक्ष दलहरु र नागरिक समाजको साथ लिने घोषणा गरेको थियो।

तर यो पक्षलाई न प्रमुख प्रतिपक्ष दलहरुले साथ दिएका छन्, न नागरिक समाजले। तर, संयुक्त संघर्षका लागि यो पक्षले प्रयास जारी राखेको छ।

पुस २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्