खेलकुदमा विकृति

सीमित खेलाडीको स्वार्थमा आजीवन प्रोत्साहन भत्ता: ओलम्पिक खेले मात्र पनि भत्ता, हरेक पदकको बेग्लाबेग्लै भत्ता

नवनियुक्त खेलकुदमन्त्री दावा लामालाई ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका प्रतिनिधि।

काठमाडौँ- गत वर्ष पुस तेस्रो साता घरेलु भूमिमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अनपेक्षित सफलता हात पार्‍यो। नेपालले ५१ स्वर्ण र ६० रजत र ९६ कास्य जित्यो। धेरै खेलमा राष्ट्रिय कीर्तिमान बने, पदकका।

त्यसमा पनि पौडीकी गौरिका सिंहले जितेको चार स्वर्णमा धेरैवटा कीर्तिमान बने। यसअघि सागमा कुनैपनि नेपाली पौडी खेलाडीले एकल स्पर्धामा स्वर्ण जित्न सकेका थिएनन्। यसअघिका सागमा नेपालका एउटै खेलाडीले एकै संस्करणमा दुईवटा स्वर्ण जित्न सकेका थिएनन्।

गौरिका र दुई/दुई स्वर्ण जितेका कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यको सफलताले सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता (साग, एसियाली खेलकुद-एसियाड र ओलम्पिक खेलकुद)मा पदक जित्ने खेलाडीलाई पुरस्कार तथा सम्मानका लागि ल्याएको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ को व्यवस्थामा अन्योल उत्पन्न भयो।

कार्यविधिमा दक्षिण एसियाली खेलकुद प्रतियोगिताको एकै संस्करणमा एउटा स्वर्ण पदक जित्नेका लागि नौ लाखका दरले र दुई वा दुईभन्दा बढी स्वर्ण पदक प्राप्त गर्नेका लागि एघार लाख रुपैयाँका दरले पुरस्कृत गर्ने व्यवस्था छ।

तेह्रौँ सागमा जितेका चार स्वर्णसहित गौरिका सिंह।

 

यी तीन जना खेलाडीले हरेक स्वर्णका लागि ११/११ लाख पाउने कि सबै स्वर्णका लागि एकमुष्ट ११ लाख रुपैयाँ पाउने भन्ने विवाद लामो समयसम्म चल्यो। अन्तत: सरकारले एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई हरेक स्वर्ण पदकका लागि ११/११ लाख रुपैयाँ दियो। गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य(तीनवटै टिम स्पर्धा)का लागि कुल ६२ लाख रुपैयाँ पुरस्कार पाइन्। आयशा र मण्डेकाजीले २२/२२ लाख रुपैयाँ पाए।

सरकारले अब कम्तिमा एउटा कुरा बुझेको छ- सागका एकै संस्करणमा नेपाली खेलाडीले एउटाभन्दा बढी स्वर्ण पदक पनि जित्ने रहेछन्।

अनि सरकारले यो सँगसँगै बुझ्नुपर्ने अर्को कुरा के हो भने निकै कम खेलमा मात्र एउटा खेलाडीले कुनै एक संस्करणमा एकभन्दा बढी स्पर्धामा भाग लिन पाउँछ। यो सुविधा प्राय: जसो खेलमा  खेलाडीलाई सम्भव हुँदैन। तर निर्विवाद छ, त्यसरी एकै संस्करणमा एकभन्दा बढी स्पर्धामा भाग लिन पाउने पौडीजस्ता खेलमा गौरिकाले प्राप्त गरेको सफलता ती खेलको हकमा भने स्वर्णिम अक्षरले इतिहास लेखिने निश्चित छ।

कार्यविधिमा एसियाड र ओलिम्पिकमा नेपाली खेलाडीले एकै संस्करणमा एकभन्दा बढी स्वर्ण पदक जित्ने कल्पना गरिएको छैन।

११ औँ सागसम्म स्वर्ण पदक जित्ने खेलाडीले नगद पुरस्कारबाहेक राष्ट्रिय खेलकुद परिषद्- राखेपमा प्रशिक्षकको जागिर नै पाउने गर्थे।  दीपक बिष्ट, दीपक श्रेष्ठ, कुशल श्रेष्ठ, आयशा शाक्य, राजकुमार रसाइली, विनोद शाक्य, प्रकाश थापामगरलगायतले सागमा स्वर्ण जितेबापत राखेपमा जागिर पाएका हुन्। त्यसभन्दा अघि ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भए मात्र पनि जागिर पाउने चलन थियो। नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेका एथलेटिक्सका जितबहादुर केसीले त्यसैका लागि जागिर पाएका थिए।

उनले सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको एसियन ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। एसियाली स्तरको अफिसियल प्रतियोगितामा पदक जित्नु नेपाली खेलाडीका लागि कम्ता गाह्रो थिएन भन्ने स्पष्ट उनीपछिको इतिहासले बताउँछ। एथलेटिक्सकै बैकुण्ठ मानन्धरले साग (तत्कालीन साफ गेम्स) का लगातार तीन संस्करणमा स्वर्ण जितेका छन्। सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितिन्।

एसियाडमा नेपाली खेलाडोको  यो सफलता ‘बराबरी’ गर्न पनि २० वर्ष लाग्यो। सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा आयोजित एसियाडमा नेपाली प्याराग्लाडिङ टोलीले टिम क्रस कन्ट्री स्पर्धामा रजत जित्यो। नेपाल एसियाडको प्याराग्लाडिङमा पहिलोपटक सहभागी थियो।

त्यसअघि तेक्वान्दोकी संगिना बैद्यले एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्। दुई वर्षअघि आयोजित एसियन युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण जितेर नेपाली एथलेटिक्स इतिहासमा ऐतिहासिक सफलता हात पारेका थिए।

एसियाली खेलकुदको महाकुम्भ एसियाडमा नेपालले हालसम्म २२ कास्य र दुई रजत जितेको छ। बक्सिङले ६ कास्य , तेक्वान्दोले एक रजत र १३ कास्य तथा  कराँतेले तीन कास्य हात पारेका छन्।

१३ औँ साग नेपालका लागि वास्तवमै खास रह्यो। एथलेटिक्समा तीन स्वर्ण,२ रजत र चार कास्य जित्यो। तेक्वान्दोमा १२ स्वर्ण, ६ रजत र १० कास्य हात पार्‍यो। बक्सिङमा तीन स्वर्ण, ६ रजत र ६ कास्य प्राप्त भयो। साइक्लिङमा चार स्वर्ण, चार रजत र २ कास्य हात पार्‍यो। कराँतेमा १० स्वर्ण, चार रजत र पाँच कास्य जित्यो। उसुमा पाँच स्वर्ण, ६ रजत र पाँच कास्य हात पर्‍यो। गल्फमा २ स्वर्ण, जुडोमा २ स्वर्ण, ट्रायथलनमा दुई स्वर्ण, भारात्तोलनमा दुई स्वर्ण तथा कुस्ती र पुरुष फुटबलमा एक एक स्वर्ण जित्यो। साइक्लिङको माउन्टेन बाइक स्पर्धा पहिलोपटक सागमा समावेश गरिएको थियो जसमा नेपालले एसियालीस्तरमै राम्रो प्रदर्शन गर्ने गर्दछ। यी खेलमा नेपालले जितेका सबै पदक माउन्टेन बाइकका क्रस कन्ट्री र डाउन हिल स्पर्धामा हुन्। बक्सिङ, कराँते, तेक्वान्दोजस्ता खेलमा एउटा खेल जिते मात्र पनि पदक पक्का थियो। कराँतेमा पहिलो चरणमै हारेका खेलाडीलाई पनि कास्य पदक निश्चित भयो!

तेक्वान्दोको पुम्से विधामा सागमा पहिलोपटक समावेश गरिएको थियो। भर्खरै सुरु भएको पुम्से (प्रदर्शनी) मा नेपाली खेलाडीहरु स्तरीय देखिए। यसअघि क्युरोगी (फाइट खेल्नुपर्ने) प्रतिस्पर्धा गर्दै आएकी आयशासहित चार खेलाडीले पुम्सेको एकल स्पर्धामा स्वर्ण जिते। आयशाले पुम्सेको टिम स्पर्धामा पनि स्वर्ण जितिन्। अन्य दुई पुम्से टिम स्पर्धामा पनि नेपालले स्वर्ण हात पार्‍यो। आयोजकका रुपमा आफूले चाहेका खेल वा विधा थप्ने चलन अन्तर्राष्ट्रिय खेलकुदमा पुरानै हो।

साग बक्सिङमा नेपालले २० वर्षपछि स्वर्ण जितेको हो। त्यसमा पनि नेपाली महिला खेलाडले पहिलोपटक स्वर्ण हात पारे। ‍साग एथलेटिक्समा नेपाली महिला खेलाडीले पहिलोपटक स्वर्ण पदक जिते। ट्रायथलन र गल्फमा पहिलोपटक स्वर्ण जित्यो भने आर्चरीमा पहिलोपटक फाइनल पुग्यो। महिला भारात्तोलनमा पहिलोपटक स्वर्ण जित्यो। नेपाली महिला भलिबल र बास्केटबल टोली पहिलोपटक सागको फाइनल पुगे। लन टेनिसको एकल स्पर्धामा नेपालले पहिलोपटक पदक जित्न सक्यो।

टेबल टेनिसको पुरुष एकल स्पर्धामा पनि पहिलोपटक पदक जित्यो। यीमध्ये धेरै खेलमा भारत, श्रीलंका, बंगलादेशलगायत टोली एसियाली र विश्वस्तरमा पदक दाबेदारी प्रस्तुत गर्दै आएका छन्। नेपाली खेलाडीलाई सेमिफाइनलसम्म पुग्नु नै चुनौती बन्ने गरेको थियो। तर यसपटक यी खेलमा नेपाली खेलाडीको प्रदर्शन सराहनीय रह्यो। भलै, भारतले पछिल्लो समय सागलाई कम प्राथमिकता दिने गरेको र पहिलो रोजाइका खेलाडीलाई पठाउन छाडेको टिप्पणी सुनिने गर्छ,देखिने गर्छ। तर पदक जितेपछि त्यसको ‘महिमा’ बेग्लै हुन्छ र स्वभाविक पनि हो।

 

यसअघि सागमा एक स्वर्ण जितेकी आयशा अब नेपाल सरकारबाट आवास सुविधाबापत २५ लाख रुपैयाँ पाउन योग्य भएकी छिन्। सागमा कम्तिमा तीनवटा स्वर्ण पदक जित्ने खेलाडीले खेल जीवनबाट सन्यास लिएमा निजको जीवनभर एकपटकको लागि एकमुष्ट २५ लाख रुपैयाँ पाउने कार्यविधिमा व्यवस्था छ। यसअघि तेक्वान्दोकै दीपक विष्ट र एथलेटिक्सका बैकुण्ठ मानन्धरले यस्तो सुविधा पाइसकेका छन्। सागमा दीपकले चार र बैकुण्ठले तीन स्वर्ण जितेका छन्। यसपटक, आयशा मात्र होइन गौरिका पनि यो सुविधाका लागि योग्य भइसकेकी छिन्।

अब कुरा आजीवन भत्ताको 

खेलाडीको हकहितका लागि भन्दै स्थापना भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधिकारी केही दिन अघि नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामालाई भेट्न मन्त्रालय पुगे।

मन्त्रीलाई शुभकामना दिने एजेण्डा त स्वभाविक थियो तर मुख्य कुरा चालु आर्थिक वर्षदेखि रोकिएको आजीवन प्रोत्साहन भत्ताबारे उनीहरुको गम्भीर चासो थियो। त्यसबारे थप लेख्नुअघि केही तथ्यहरु उल्लेख गर्नु जरुरी हुन्छ।

नेपालले यसै वर्ष जापानको टोकियोमा खेल्ने एथलेटिक्सका एक जना र पौडीका दुई जना खेलाडी छनोट गरिसकेको छ। ओलम्पिक खेलकुदमा  पौडी र एथलेटिक्सका खेलाडीहरु अन्तर्राष्ट्रिय छनोट नखेली पनि सहभागी हुन्छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलले ओलम्पिक खेलकुदमा हरेक देशको  प्रतिनिधित्व होस् भनेर पौडीमा २ र एथलेटिक्समा २ जना (यसपटक एक जना मात्र) खेलाडीलाई कोटा दिने गरेको छ।

यी दुवै खेलमा ककसलाई पठाउने भन्ने निर्णय सिद्धान्तत: सम्बन्धित खेलका संघ र राष्ट्रिय ओलम्पिक कमिटी बसेर गर्छन्। जुन स्पर्धामा कम्तीमा पनि  नयाँ राष्ट्रिय कीर्तिमान वा सुधारको सम्भावना हुन्छ, ती स्पर्धामा सहभागी गराइनुपर्ने सैद्धान्तिक मान्यता रहन्छ। अन्य खेलमा सहभागी हुन एउटा बाटो छनोट चरण पार गर्नुपर्ने हुन्छ।

सम्बन्धित खेलका अन्तर्राष्ट्रिय महासंघले आयोजना गर्ने अफिसियल प्रतियोगिताहरुमा प्राप्त हुने नतिजाले त्यसको निर्क्योल गर्छ। त्यस्ता प्रतियोगितामा खेलाडीले अंक प्राप्त गर्छन्। नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको ओलम्पिक तयारी समितीका संयोजक निलेन्द्रराज श्रेष्ठ कतिपय प्रतियोगितामा सहभागी भए मात्र पनि अंक प्राप्त हुने बताउँछन्। यस्तै कतिपय खेलका अन्तर्राष्ट्रिय महासंघले खेलाडीको ‘र्‍याङ्किङ’ निकाल्ने गर्छन्।

अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने सहभागिता र प्राप्त हुने नतिजामा खेलाडीको ‘र्‍याङ्किङ’ निर्भर हुन्छ। हालसम्म नेपालमा छनोट चरण पार गरेर तेक्वान्दोका दीपक विष्ट र संगिना बैद्यले मात्र ओलम्पिक खेलेका छन्। बाँकी खेलाडीलाई ‘वाइल्ड कार्ड’मार्फत सहभागी गराइएको हो। वाइल्ड कार्डबाट खेल्ने खेलाडीको छनोट गर्न आयोजक देश, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र सम्बन्धित खेलको विश्व महासंघ सम्मिलित त्रिपक्षीय समिति हुन्छ।

 

यो समितिले वाइल्ड कार्डका लागि विभिन्न मापदण्ड तयार गर्छ। वाइल्ड कार्डका लागि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा प्राप्त गरेको अंक र र्‍याङ्किङ महत्वपूर्ण हुने श्रेष्ठ बताउँछन्। तीबाहेक राष्ट्रिय ओलम्पिक कमिटीले गर्ने लबिङ पनि महत्त्वपूर्ण हुने बताइन्छ। टोकियो ओलम्पिक खेलकुदका लागि नेपालले कराँते, तेक्वान्दो,आर्चरी, बक्सिङ र सुटिङका १० खेलाडीका लागि वाइल्ड कार्डको माग गरेको छ।

अघिल्लो ओलम्पिक खेलकुदमा पौडी र एथलेटिक्सबाहेक जुडो, तेक्वान्दो र आर्चरीका एक एक जना नेपाली खेलाडीले भाग लिएका थिए। उनीहरुका लागि नेपाल ओलम्पिक कमिटीले लबिङ गरेको थियो। ती खेलमा भाग लिने खेलाडी छनोट गर्न कुनै राष्ट्रिय प्रतियोगिता भएको थिएन।

टोकियो ओलम्पिक खेलकुदमा पौडीका गौरिका सिंह र एलेक्सेण्डर शाह तथा एथलेटिक्सका गोपिचन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ। अर्को के पनि निश्चित भइसकेको छ भने यी तीनै जना खेलाडीले सरकारबाट आजीवन मासिक ४/४ हजार रुपैयाँ पाउने छन्। कारण- खेलाडीलाई प्रोत्साहन भत्ता दिन बनाइएको कार्यविधिको व्यवस्था जसले भन्छ- ओलम्पिक खेलकुदमा सहभागी भएमात्र पनि मासिक चार हजार रुपैयाँ आजीवन भत्ता सरकारले उपलब्ध गराउँछ।

तत्कालिन राखेप सदस्यसचिव केशव विष्टका पालामा पाँच वर्षअघि अन्तर्राष्ट्रिय खेलकुदमा सफलता हात पार्ने खेलाडीलाई आर्थिकरुपमा केही सहज होस् भनेर आजीवन प्रोत्साहन भत्ता राखेप बोर्डको सिफारिसमा खेलकुद मन्त्रालय हुँदै अर्थमन्त्रालयले स्वीकृत गरेको थियो र त्यसमा मन्त्रिपरिषद्ले सहमति जनाएको थियो। त्यसअघि राखेपले खेलाडीको पक्षमा बोल्दै आएका खेलाडीसँग पनि छलफल गरेको स्रोत बताउँछ।

‘केही सीमित खेलाडीहरुको अनुहार हेरेर उनीहरुलाई खुसी बनाउन राखेपले हचुवाका भरमा निर्णय गरेको थियो’, आजीवन प्रोत्साहन भत्ताका मापदण्डलाई लिएर आश्चर्यता व्यक्त गर्दै एक पूर्व क्रिकेटर भन्छन्।

सागको स्वर्ण र एसियाडको स्वर्ण बराबर, हरेक पदकलाई भत्ता

कार्यविधिमा सागमा स्वर्ण जित्ने खेलाडीलाई मासिक ६ हजार रुपैयाँ भत्ता हुने व्यवस्था गरेको छ। एसियाडमा जुन सुकै पदक जित्ने खेलाडीलाई पनि मासिक ६ हजार रुपैयाँ आजीवन प्रोत्साहन भत्ता हुने व्यवस्था छ।

तेह्रौँ सागमा दुई स्वर्ण जितेपछि श्रीमान दीपक बिष्टसँग आयेशा।

ओलम्पिक प्रतियोगिता खेले मात्र पनि आजीवन मासिक ४ हजार रुपैयाँ आइरहने निश्चित छ। पहिलो कुरा, पहिलो खेलमै हार्दा पनि कास्य निश्चित हुन सक्ने सागको स्वर्ण र एसियाका सबै देश सहभागी हुने एसियाडको स्वर्ण पदकलाई एकै रुपमा हेरिएको छ। जतिबेला यो निर्णय गरिएको थियो, त्यतिबेला एसियाडमा नेपालका नाममा एउटा रजत पदक थियो। त्यसयता प्याराग्लाइडिङले पनि एउटा रजत थपेको छ।

दोस्रो कुरा, लामो समयदेखि सागमा नेपाल बलियो रहेका खेल र कमजोर रहेका खेलहरुलाई एकैरुपमा हेरिएको छ।

‘यो निर्णयले नेपाली क्रिकेटमा आजीवन प्रोत्साहन भत्ताको कल्पना गर्न गाह्रो छ। क्रिकेट मात्र होइन, अन्य धेरै खेलमा यो अवस्था छ। भारतले धेरै खेलमा विश्वस्तरमै चुनौती दिन सक्छ भन्ने कुरा बिर्सन हुँदैन’, क्रिकेटका ती पूर्व खेलाडी भन्छन्, ‘पहिल्यैदेखि बलिया रहेका खेल र अन्य खेललाई एउटै मापदण्डमा राखियो भने त्यसले खेलाडीलाई विभेद् गर्छ। यसमा सरकार गम्भीर बन्नुपर्छ।’ उनी पहिल्यैदेखि बलिया खेलका रुपमा तेक्वान्दो, बक्सिङ, कराँते, उसु, भारात्तोलनलगायत खेललाई इंगित गर्दै थिए। सागको स्वर्ण र एसियाडको स्वर्णलाई एउटै व्यवहार भएको प्रति खेलाडी संघले समेत बोलेको देखिदैन।

तेस्रो कुरा भने निकै अचम्मको छ- हरेक पदकका लागि आजीवन भत्ता। तेक्वान्दोका दीपक विष्टले ६ वटा पदकका लागि छुटाछुट्टै आजीवन भत्ता लिन्छन्। उनले सागमा चार स्वर्ण र एसियाडमा दुईवटा कास्य जितेका थिए। उनले ओलम्पियनका रुपमा समेत छुट्टै भत्ता बुझ्दै आएका छन्। एथलेटिक्सका बैकुण्ठ मानन्धरले सागको तीनवटा स्वर्ण र ओलम्पियनका रुपमा पनि आजीवन मासिक भत्ता बुझ्ने गरेका छन्। हाल साग र एसियाडका एक सय १३ पदक विजेता तथा ६७ ओलम्पियनलाई सरकारले आजीवन मासिक भत्ता दिँदै आएको छ।

‘हरेक पदकका लागि भत्ता दिनु राज्य स्रोतकै दुरुपयोग हो। हामी पनि अचम्मित छौँ’, राखेपका एक उच्च कर्मचारी भन्छन्। सरकारले दुई वर्षअघि मासिक भत्ता बढाएको थियो। त्यसअघि मासिकरुपमा ओलम्पियनलाई २५ सय र सागका स्वर्ण पदक विजेता र एसियाडका पदक विजेतालाई ४ हजार रुपैयाँ दिइन्थ्यो।

स्रोतका अनुसार राखेपले सागका स्वर्ण तथा एसियाडका पदक विजेतालाई सुरुका चार वर्षमा ओलम्पियन (यदि ओलम्पिक खेलेको भए) को भत्ता भने दिएको थिएन। तर खेलाडीकै चर्को दबाबपछि सागका स्वर्ण विजेताहरु दीपक विष्ट, बैकुण्ठ मानन्धर, टिका बोगटीलगायतले गत वर्षदेखि ओलम्पियनको भत्ता बुझ्न थालेका छन्। त्यसो त ओलम्पिक खेले मात्र पनि आजीवन भत्ता दिने कुरा पनि राज्य स्रोतको दुरुपयोग भएको अधिकारीहरु बताउँछन्। ‘ छनोट चरण पार गरेर खेलेको भए एउटा अर्थ हुन्छ। तर नेपालबाट त प्राय यो सम्भव देखिएको पनि छैन’, ब्याडमिन्टनका एक पूर्व खेलाडी भन्छन्।

युवा तथा खेलकुद मन्त्री लामाले नयाँ कार्यविधि बनिरहेकाले  मासिक भत्ता निकासामा ढिलाई भएको खेलाडी संघका प्रतिनिधिसँग बताएका छन्।  राखेपले केही बुँदा थप गरेर पुरानै कार्यविधि मन्त्रालयमा पठाएको स्रोत बताउँछ। ‘कम्तिमा यो सच्चिनु पर्ने बेला हो। यसमा खेलाडी संघले पनि सुझाव दिनुपर्छ’, ब्याडमिन्टनका ती पूर्व खेलाडीले भने।

 

पुस २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्