ट्रम्पमाथि ट्वीटरले लगायो सदाका लागि प्रतिबन्ध, उनको एकाउन्ट स्थायी रुपमा निलम्बित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्याण्ड सदाका लागि बन्द भएको छ ।
सामाजिक सञ्जाल ट्वीटरले राष्ट्रपति ट्रम्पको ह्याण्डल स्थायी रुपमा निलम्बित गरिएको जनाएको हो ।
‘थप हिंसाका लागि भड्काउन सक्ने खालका सामग्री पोस्ट हुन सक्ने जोखिमका’ कारण ट्रम्पको ह्याण्डल स्थायी रुपमा बन्द गरिएको ट्वीटरले जनाएको छ ।
यसअघि गएको बुधबार संसद भवनमा ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि १२ घण्टाका लागि ट्वीटरले राष्ट्रपतिको ह्याण्डल निलम्बित गरेको थियो । ट्रम्पको उक्साहटमा उनका हतियारधारी समर्थकले संसद भवनमा आक्रमण गर्दा पाँचजनाको मृत्यु भएको छ अहिलेसम्म ।
@realDonaldTrump ह्याण्डलबाट पछिल्लो समय भएका ट्वीटहरुको पुनरावलोकनपछि सदाका लागि सो ह्याण्डल बन्द गर्ने निर्णयमा पुगेको ट्वीटरले जनाएको छ ।
यसअघि १२ घण्टा एकाउन्ट लक गर्दा नै आफ््नो नियम उल्लंघन गरेमा ट्रम्पलाई सदाका लागि प्रतिबन्ध लगाउने ट्वीटरले बताएको थियो ।
ट्रम्पले बुधबार संसद भवनमा आक्रमण गर्नेहरुलाई देशभक्त भनेर धेरै ट्वीट गरेका थिए ।
यसअघि बिहीबार फेसबुकले ट्रम्पलाई अनिश्चितकालका लागि प्रतिबन्ध गरिएको जनाएको थियो।
चुनावमा पराजित भएका ट्रम्पले बिना प्रमाण धाँधलीको आरोप लगाउँदै आएका छन् ।