ट्रम्पलाई राजीनामा दिन वा सत्ताच्यूत गर्नका लागि लागि दबाब

ट्रम्पमाथि पुनः महाअभियोग लगाउने तयारी

सभामुख न्यान्सी पेलोसी

अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः एकपटक महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

यसअघि सन् २०१९ मा युक्रेनका शासकलाई गरेको टेलिफोन संवादलाई लिएर उनीमाथि महाअभियोग लागेको थियो । त्यो बेला महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पारित हुन सकेको थिएन ।

बुधबार राजधानी वासिङ्गटन डिसी स्थित संसद भवनमा हतियारसहित प्रवेश गरेका ट्रम्पका समर्थकहरुले तोडफोड तथा हिंसात्मक गतिविधि गरेका थिए । सो घटनामा हालसम्म पाँचजनाको ज्यान गएको पुष्टि भएको छ ।

आफ्ना समर्थकलाई हिंसात्मक गतिविधि गरि चुनावको नतिजा उल्ट्याउन उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउने तयारी डेमोक्र्याटहरुले गरेका हुन् ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएका ट्रम्पले बिना प्रमाण धाँधली गरि आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । ५० भन्दा बढि मुद्दा दायर गरे पनि सबै अदालतले प्रमाणको अभावमा उनको विपक्षमा फैसला गरे ।

सरकारी निकायले चुनाव धाँधली रहित र निष्पक्ष रहेको बताए पनि ट्रम्पले धाँधलीको आरोप लगाउँदै हिंसात्मक प्रदर्शनका लागि समर्थकलाई उक्साएको आरोप छ ।

बुधबार संसद भवनमा भएको आक्रमणलाई आंतरिक आतंकवाद तथा बिद्रोहका रुपमा चित्रित गरिएको छ ।

विश्वभरका नेताले पनि सो घटनाको निन्दा गरेका छन् । ट्रम्पकै पार्टी (रिपब्लिकन) का नेताहरुले पनि सो घटना बिद्रोह रहेको र अमेरिकी प्रजातन्त्रमाथिको आक्रमण रहेको बताएका छन् ।

बुधबारको घटनापछि दुई मन्त्रीसहित ह्वाइट हाउसका आधा दर्जन उच्च अधिकारीले राजीनामा दिएका छन् ।

उपराष्ट्रपति माइक पेन्समाथि संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थालाई सक्रिय बनाई ट्रम्पलाई सत्ताच्यूत गर्न दबाब परेको छ । २५ औँ संशोधनको सेक्सन ४ मा मानसिक वा शारीरिक रुपमा राष्ट्रपति काम गर्न सक्ने अवस्थामा नभए उनलाई सत्ताच्यूत गरि उपराष्ट्रपतिले जिम्मेवारी लिन सक्ने व्यवस्था छ ।

ट्रम्पको मन्त्रीमण्डलमा यसबारे चर्चा भए पनि उपराष्ट्रपति पेन्स त्यसका लागि तयार नरहेको खबर बिजनेश इनसाइडरले प्रकाशित गरेको थियो ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी तथा तल्लो सदनका डेमोक्र्याटिक मेजोरिटी लिडर चक सुमरले २५ औँ संशोधन अनुसार सत्ताच्यूत नगरिए महाअभियोग लगाउने बताइसकेका छन् ।

ट्रम्पले तत्काल राजीनामा नदिए महाअभियोग प्रस्ताव अघि बढाउने सभामुख न्यान्सी पेलोसीले बताएकी छन् ।

तल्लो सदनका डेमोक्र्याटहरुले सोमबार ‘बिद्रोहका लागि उक्साएको’ अभियोगसहितको महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् । उनीहरुले संसद भवनमा भएको हिंसाका लागि ट्रम्पको भूमिका रहेको आरोप लगाएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले महाअभियोग प्रस्तावबारे निर्णय गर्ने अधिकार कंग्रेसको रहेको बताएका छन् । तर लामो समयदेखि राष्ट्रपति ट्रम्प जिम्मेवारीका लागि अयोग्य रहेको उनले बताए ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसले महाभियोग प्रस्तावलाई राजनीतिक रुपमा निर्देशित रहेको भन्दै खारेज गरेको छ ।

अमेरिकी इतिहासमा अहिलेसम्म कुनै पनि राष्ट्रपतिले दुईपटक महाअभियोगको सामना गर्नु परेको छैन ।

पुस २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्