व्यङ्गय गजल

हामी यहाँ छौँ!

नेता जति कहाँ चरे हामी यहाँ छौँ
नेता शहर तिर परे हामी यहाँ छौँ।।

टाएरका जुत्ता छोडे चिल्ला गाडी चढे
माथ्ला घरे तल्ला घरे हामी यहाँ छौँ।।

गाउँ पसी खोले खान्थे मार्सी भात पाए
कति गाउँले भोकै मरे हामी यहाँ छौँ।।

गाउँमा गर्ने काम छैन नारा रोजगारी
घर गाउँकाले खाडी भरे हामी यहाँ छौँ।।

खान छैन गेडो कतै खेतमा झण्डा डण्डा
भोकले धेरै बसाइँ सरे हामी यहाँ छौँ।।

पुल गाउँका तोडी गए तुइन धरि छैन
ज्यानै फाल्ने खोला तरे हामी यहाँ छौँ।

चुट्नु चुटे खुबै लुटे लौरो देखाइ देखाइ
गाउँको चीर हरण गरे हामी यहाँ छौँ।।

झर्ला खाउँला दाना भनि निकै कुरि बसे
अहिले आफै भुइँमा झरे हामी यहाँ छौँ।।

पुस २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्