प्रधानमन्त्री ओली धम्कीपूर्ण भाषामा अदालतको फैसलामा असर पार्न उद्धतः डा. भट्टराई

मोरङ– वैशाखमा निर्वाचन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आशंका व्यक्त गरेका छन्।

विराटनगरमा आयोजित जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओली स्वयं निर्वाचन नगराउने पक्षमा रहेको आरोप लगाएका हुन्।

दुई तिहाइको सरकार चलाउन नसकेर असंवैधानिक तवरबाट प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओली निर्वाचनमा जाँदा आफै बढारिने र पत्तासाफ हुने डरबाट समेत त्यसतर्फ अघि नबढ्ने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले न्यायालयलाई समेत प्रभावित पार्ने गरी अभिव्यक्ति दिँदै आएको भन्दै भट्टराईले त्यसको विरोध गरे।

‘प्रधानमन्त्री आफैले स्वतन्त्र न्यायालयमा हस्तक्षेत्र गर्न पुग्नुभएको छ। सार्वजनिक रुपमा धम्कीपूर्ण भाषामा अदालतको फैसलामा असर पार्न उद्धत रहनुभएको छ,’ उनले भने।

यस्तै पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले निरंकुशता लादेर मुलुकलाई प्रतिगमनतर्फ अघि बढाएको आरोप लगाए।

प्रधानमन्त्रीको असंवैधानिक कदम र निरंकुशताप्रति संयुक्त आन्दोलनमा जानुको विकल्प नभएको बताएका अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको नियत, चिन्तन र चरित्र नै अग्रगमनको बाटोतर्फ नभएको आरोप लगाए। उनले भने, ‘प्रधानमन्त्रीले निर्वाचन गर्छन् भन्नु दिवा स्वप्न हो। यसको भ्रममा कसैले नपरे हुन्छ।’

प्रधानमन्त्रीको निरङ्कुश कदमप्रति सडकबाट आन्दोलित हुन उनले नेपाली कांग्रेसलाई समेत आह्वान गरे।

वर्तमान सरकार काम चलाउ भइसकेको बताएका अध्यक्ष यादवले भने, ‘संसद विघटन भएसँगै सरकार कामचलाउ हुन्छ र सरकारले त्यस हैसियतमा काम गर्नुपर्छ। तर यहाँ सरकार मन्त्री थप्न लागिपरेको छ।’

पुस २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्