काँग्रेससँग सूर्यबाबुको सम्बन्धलाई अब पनि अन्यायपूर्ण र विवादास्पद बनाइनु बेइमानी हुन्छ

नेपाली कांग्रेसमा ‘चार महान’ मध्येका ‘एक महान’ सूर्यप्रसाद उपाध्याय (१९७०–२०४१), ‘सूर्यबाबु’ को योगदानलाई निष्पक्ष र न्यायिक मूल्याङ्कन गर्दै सत्य बोल्दा अन्य ‘तीन महान’भन्दा कुनै मानेमा उहाँको योगदान कम देखिन्न, बरु निष्ठामिश्रित महान त्यागको अर्को आयाम उहाँले देखाउनु भएको इतिहास छ। आजसम्मको काँग्रेस इतिहास हेर्दा, खासगरी २०१८ सालमा ८ महिनाको बन्दी अवस्थाबाट मुक्त भएपछि निधनपर्यन्त उहांको निष्ठा, समर्पण र त्यागमय योगदानवापतउहाँले अन्याय, उपेक्षा, तिरस्कार र उहाँको इतिहास मेट्न खोजेको ‘इनाम’मात्र पाउनु भएको देखिन्छ।

सूर्यबाबुलाई पार्टीले किन उपेक्षा र अन्याय गरेको भनी राखिएको प्रश्नमा, शब्दजाल वा विवादको निम्ति विवादको कोरा तर्क छोडौं, नेपाली कांग्रेसको पार्टी नेतृत्वले दिने चित्तबुझ्दो जवाफ के छ ?
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा लोकतन्त्रप्रति साँच्चै निष्ठा भएको देखाउने सन्दर्भको रुपमा कांग्रेसबाट सूर्यबाबुउपर आजसम्म हुँदैआएको यो अन्यायपूर्ण ब्यवहारलाई सच्याएर उहाँलाई पार्टीको संस्थापक नेताको रुपमा पुनःस्थापित गर्नुपर्छ । उहाँप्रति निगाह होइन, न्यायमात्र पनि होइन, मरणोपरान्त भए पनि हक नै हो उहाँको।

जसको योगदान उसैको अपमान !
प्रजातन्त्र, संसदीय व्यवस्था, विधिको शासन, कानुनी राज, स्वतन्त्र सञ्चार माध्यमजस्ता आज कांग्रेसले बहन गरिरहेका र त्यसबेला कठिन संघर्ष गरेका, सूर्यबाबुले सिद्धान्तमा कसैसँग सम्झौता नगरी अनवरत अभियान चलाउनु भयो, जसको यथेष्ट लाभ कांग्रेसले पाएको हो । कांग्रेस बाहिरका प्रजातन्त्रवादीहरूमा उहाँ साझा, सर्वमान्य र जरुरतको केन्द्रीय व्यक्तित्व हुनुहुन्थ्यो । तर आफ्नै पार्टी नेपाली काँग्रेसभित्र उहाँलाई अनावश्यक विवादको पात्र बनाउनुपर्ने कारणमा व्यक्तित्वको टकराहट वा जुँगाको लडाईँबाहेक केही देखिन्न।

सूर्यबाबुको पार्थिव शरीर नयाँदिल्लीबाट ल्याएपछि आर्यघाटमा काँग्रेसको झन्डा ओडाउने कार्य सर्वमान्य नेता गणेशमान सिंहले नै गर्नुभएको थियो । उहाँले शीरको टोपी झिकेर झण्डा ओडाउँदा निकै भावविह्वल हुनुभएको तथ्य त्यहाँ उपस्थित विशाल जनसमुदायको मानसपटलबाट अझै मेटिएको नहुनु पर्ने हो । झन्डा ओडाउनुको अर्थ के हुन्छ ? हाम्रो नीति र विचारको अग्रणी मानिसको अवसानमा पार्टी नै झुकेको छ भन्ने अर्थ लाग्छ भने काँग्रेसले आफ्नानीति र विचारको अग्रणी पुरुषमानेका सूर्यबाबुलाई पार्टीमा फर्काउन केले रोकेको छ ? जवाफ आउनु पर्छ, निरुत्तर भएर बस्न सुहाउँदैन ।

उहाँको निधनको तेह्रौँ दिनमा राष्ट्रिय सभागृह(काठमाडौँ) मा,काँग्रेसका नेता होराप्रसाद जोशीको सभापतित्वमाआयोजित तथा बरिष्ठ पत्रकार चन्द्रलाल झाले सञ्चालन गर्नुभएको शोकसभा ऐतिहासिक, अभुतपूर्व र उल्लेखनीय थियो । यसकारण अभुतपूर्व कि त्यहाँ प्रतिबन्धित नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंह, नेपाली काँग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी), काँग्रेस महामन्त्री गिरिजाप्रसाद कोइराला, मंगलादेवी सिंहलगायत कम्युनिस्ट पार्टीबाट मनमोहन अधिकारी, सहाना प्रधान, कृष्णराज बर्मा, डा. केशरजंग रायमाझी, साथै अर्जुननरसिंह के.सी.,पी.एल. सिंह, श्रीकान्त अधिकारी, कमल चित्रकार, वीरेन्द्रभक्त श्रेष्ठ, केदारमान व्यथित, हरि न्यौपाने र पञ्चायतका तत्कालीन अग्रणी सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, डा. तुल्सी गिरि, विश्वबन्धु थापा, भागवत यादब वक्ताको रुपमा काँग्रेस, कम्युनिस्ट, पञ्चहरू एउटै मन्चमा पहिलो पटक उपस्थिति सूर्यबाबुकै कारण सम्भव भएको थियो । आफू सदाका लागि विदा भएर जाँदाजाँदै पनि उहाँले सबैलाई जुटाईदिनु भएको थियो ।

सो शोकसभामा गणेशमानजीले भन्नुभएको सुन्ने साक्षीहरू धेरै छन्, ‘सूर्यबाबुसँग हाम्रो व्यवहारिक मतभेद थियो होला, तर सिद्धान्ततःमतभेद कहिल्यै भएन । यस्तो मतभेद त स्व. सुवर्ण शम्सेरसँग पनि थियो । उहाँ अन्तिम समयसम्म संसदीय प्रजातन्त्रकै पक्षमा रहनुभयो । त्यसकारण सूर्यबाबुप्रति हामीले श्रद्धाञ्जली दिनु र झण्डा ओढाउनु स्वभाविक कुरा हो ।’

सोही शोकसभामा तत्कालीन कांग्रेस कार्यवाहक सभापति किसुनजीले भन्नुभएको थियो, ‘जबसम्म संसदीय प्रजातन्त्र स्थापनाको विकास हुँदैन तबसम्म मुलुकको विकास हुँदैन भन्ने सूर्यबाबुको अन्तिम क्षणसम्मको धारणा थियो । सारा देशले एक असल राजनीतिज्ञ गुमाएको छ, जसको तुलना चाणक्यसँग गरिन्थ्यो….।’ शोकसभामै अतिथिको रुपमाकाँग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले, ‘सूर्यबाबुको शवमाथि राखिएको चारतारे झण्डा कदापि झुक्ने छैन । हामी यही आदर्श र सिद्धान्तलाई छाड्ने छैनौँ। यसै सिद्धान्त र आदर्शको लागि लड्नु नै सूर्यबाबुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ’ भन्नुले के अर्थ राख्छ, यसलाई आत्मसात गर्नुपर्छ ।

२००५ साल चैतमा कलकत्तामा आफ्नै मानसपुत्रको रुपमा सिर्जना गरेको कांग्रेसको वर्तमान झण्डाप्रति सूर्यबाबुले कहिल्यै बेइमानी गर्नुभएन, न त सो झन्डालाई झुकाउने काम नै गर्नुभयो, बरु त्यसको श्रीबृद्धिमै उहाँले आफ्नो जीवनमात्र होइन, सम्पत्ति र मिहिनेत समर्पित गर्नुभयो । जीवनको अन्तिम दिनसम्म उहाँ सो झन्डाप्रति वफादार रहनुभयो । तर आफूचाहिँ २०१८ सालपछिका सम्पूर्ण दिन पार्टीभन्दा बाहिर रहेर बिताउन बाध्य बनाइयो । सूर्यबाबुको ‘यथार्थ राजनीतिक व्यक्तिको ठीक मूल्याङ्कन खुल्ला राजनीतिक वातावरणमा र गम्भीर राजनीतिक शोधकर्ताले मात्र गर्न सक्नेछ भन्ने मलाई लाग्छ’ भनी प्राज्ञ मदनमणि दीक्षितले उहाँको बारेमा लेख्नुभएको पाइन्छ ।

२०१७ सालमा बन्दी बनाइनु भएका सूर्यबाबु सबभन्दा छिटै रिहा हुनुभयो । यसमा उहाँको कुनै कसूर छैन । बरु छुटेपछि उहाँको भूमिका के रह्यो भन्ने प्रश्नमा उहाँका गतिविधिलाई हेरेर मूल्याङ्कन गरौं । २०१७ देखि २०२७ सालसम्म १० वर्षको अवधिमा देशभित्र नेपाली कांग्रेसको नेतृत्व शून्यप्रायःथियो । बीपी, गणेशमानजी, किसुनजीलगायत रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राई आदि नेताहरू बन्दीअवस्थामा हुनुहुन्थ्यो । सुवर्णजीलगायत तराईमा भएका पार्टीका नेता तथा अगुवाकार्यकर्ताहरू भारत निर्वासनमा जानुभएको थियो ।

त्यस्तो कठोर शून्यता र सन्नाटालाई चिर्ने एकमात्र नेता सूर्यप्रसाद हुनुहुन्थ्यो । पञ्चायती शासन काँग्रेसका प्रति चरम असहिष्णु र अनुदार थियो । पार्टी प्रतिबन्धित थियो। त्यसैले पार्टीको कार्यालय र झन्डा देख्न पाउनु दुर्लभ थियो । प्रजातन्त्रवादीहरूका लागि मुलुक नै विशाल जेलखानामा परिणत भएको थियो । पार्टीका कार्यकर्ताहरूलाई बत्ती बालेर खोजीखोजी पक्राउ गरिन्थ्यो । त्यो कठोर अवस्थामा सूर्यबाबु स्वयं व्यक्ति होइन, प्रजातन्त्रका संस्था र उहाँको निवास प्रजातन्त्रवादीहरूको आस्था र भरोसाको केन्द्र भएको थियो, जहाँ प्रजातन्त्रप्रति निष्ठा र चासो बोकेर जाने सबैलाई अभिभावकत्व मिल्दथ्यो ।

पार्टीको झण्डा, मुखपत्र ‘नेपालपुकार’ लगायत आजको नेपाली काँग्रेसका धेरैजसो पहिचान र संरचना स्वरुप २००५ सालमा स्थापित नेपाल प्रजातन्त्र काँग्रेसका धरोहर हुन् । २००७ सालमा सशस्त्र क्रान्ति गर्ने लाइन प्रजातन्त्र काँग्रेसकै थियो । सात सालको क्रान्तिको आर्थिक स्रोत पनि प्रजातन्त्र काँग्रेस (सुवर्ण शम्शेर) तिरै थियो ।

राष्ट्रिय मेलमिलाप नीतिका प्रतिपादक
बिग फोरका चारैजना राजनेताबीच घनिष्ट र अन्योन्याश्रित सम्बन्ध थियो । बीपी आफूले गर्ने महत्वपूर्ण राजनीतिक मस्यौदाको लागि सूर्यबाबुको भूमिका लिनु हुन्थ्यो । साथै महत्वपूर्ण निर्णयहरूको वैचारिक स्रोत–व्यक्तिका रुपमा पनि सूर्यबाबु नै हुनुहुन्थ्यो ।

सूर्यबाबुकै सल्लाहअनुरुप राजा महेन्द्रले २०१९ जेठमा सिंहदरबार ग्यालरी बैठकमा राष्ट्रिय बुद्धिजीवी सम्मेलनको उद्घाटन गरेका थिए । सो सम्मेलनमा बोल्दै सूर्यबाबुले ‘राष्ट्रिय समन्वय नीति’बारे आफ्ना विचार प्रष्टसँग राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मौलिक हक सबैलाई समान रुपले नैसर्गिक रुपमा उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो, ‘राष्ट्रिय समन्वयन भए राष्ट्रिय एकता पनि सार्थक हुँदैन।’ कालान्तरमा यही नीतिलाई बीपी र सुवर्णजीले आ–आफ्नो प्रयोजनमा फरक शब्द एउटै भावमा यसलाई अगाडि बढाउनु नै प्रजातान्त्रिक आन्दोलनको एक अङ्गको रुपमा बहस चलाएको पाइन्छ । सूर्यबाबुले राष्ट्रिय समन्वय नीति आवश्यक भएको विचार राख्दा उहाँलाई अनेकौं शब्दले दुत्कार्ने, सुवर्णजीले राजासँग सहयोगात्मक सम्बन्धको वक्तब्य दिँदा अनेकौं विवाद देख्ने, तर वीपीले राष्ट्रिय मेलमिलाप तथा एकताको लागि वक्तब्य दिँदा चाहिं कसरी स्वागतयोग्य हुन गयो ! राष्ट्रिय मेलमिलापको पक्षधरले २०१९ मै सूर्यबाबुले लिनुभएको राष्ट्रिय समन्वय नीति र २०२५ साल जेठमा सुवर्णजीले प्रकाशित गर्नुभएको राजासँग सम्बन्ध सुधार्ने वक्तब्यलाई कसरी उपेक्षा गर्न मिल्छ ?

राजनीतिमा नलागेको भए न्याय क्षेत्रमा
सूर्यबाबुले राणाकालमै एम.ए., एल.एल.बी. र बी.एड. जस्तो उच्चशिक्षाका साथै विभिन्न तालिम लिनुभएको प्राप्त गर्नुभयो । जानिफकारहरू भन्छन्, भारतमा विद्यार्थी जीवन बिताउँदै र भारतीय स्वतन्त्रता आन्दोलन देखेका, भोगेका र त्यसैमा भिजेका सूर्यबाबुलाई नेपालबाट ढिलोचाँडो राणा शासन समाप्त हुनेछ, प्रजातन्त्र स्थापना हुनेछ । परिवर्तित व्यवस्थामा आफू न्यायपालिकाको कुनै उपल्लो जिम्मेवारी लिएर नेपाली जनतालाई न्याय दिने उहाँले अठोट लिनुभएको रहेछ । यसमा उहाँलाई पटनामा विश्वविद्यालयको विद्यार्थी भएर बस्दा नेपालको इतिहासका पहिलो नेपाली लेखक (सानाबा) अम्बिकाप्रसाद उपाध्याय र उहाँका छोरा कालिप्रसाद उपाध्याय, जो २००७ सालको परिवर्तनपछि पहिलो महान्यायाधिवक्ता र त्यसपछि र बेलायतको लागि नेपालका राजदूत पनि हुनुभयो, कै सल्लाह र सहयोगले पढाइ सकिएपछि सुरुका केही अवधि पटना उच्च न्यायालयमा सूर्यबाबुले एड्भोकेट (अधिवक्ता) को काम र अनुभव लिनुभयो ।

सूर्यबाबुको असाधारण प्रभावको श्रृङ्खला त जुद्ध शम्शेर र शुवर्णजीका बडाबा (पिता हिरन्य शम्शेरका दाजु) प्राइम मिनिस्टर पदमशम्सेरमाथि समेत थियो । पटनाबाट उच्च शिक्षाका विभिन्न योग्यता बोकेर नेपाल आएपछि ‘कहीँ न कहीं नियुक्ति नदिए यो मान्छे स्वतन्त्रतावादीहरू कहाँ पुग्ने’ सम्भावनाको डरले जुद्ध शम्शेरले विद्यालय निरीक्षक बनाएर राखे । तर सूर्यबाबु जागिरमा अडिनु भएन । पद्म शम्सेरले चलाउन खोजेका प्रजातान्त्रिक खुकुलोपनका लागि ‘प्रणेता र सूत्रधार’ सूर्यबाबुको नाम अगाडि नै आउँथ्यो ।

अन्त्यमा : 
उहाँको विशेष परिकल्पना र डिजाइनमा तयार भएको नेपाली कांग्रेसको झन्डाबाटै उहाँलाई टाढा राखी अन्यायपूर्ण विस्मृतिमा पुर्‍याउने चेष्टा अब हुनु हुँदैन । यो काम यदि अब पनि नगर्ने हो भने जनमत बनाएर दबाब पनि दिनुपर्ने हुन्छ । पार्टीको संस्थापक नेतालाई अब पनि ह्युमिलिएसन गरेर राख्नु सूर्यबाबुको योगदानलाई प्रत्यक्ष रुपमा देख्ने जान्ने बुझ्ने सबै काँग्रेसजनमाथिको अन्याय सम्झिने बेलाआएको छ । काँग्रेसको आगामी चौधौं महाधिवेशनद्वारा नै यो काम गरियो भने सबैले काँग्रेसलाई स्याबासी दिनेछन् ।

नेपाली काँग्रेसका चार महानको निधनमध्ये सुवर्णजीको पहिलो (२०३४), बीपी कोइरालाको दोस्रो (२०३९), सूर्यप्रसाद उपाध्यायको तेस्रो (२०४१) र गणेशमान सिंहको चौथो (२०५४) हुनपुग्यो ।यी इतिहास निर्माता महानायकहरू आपसका प्रतिद्वन्द्वी होइनन्, पूरक हुन् । एउटा नेतालाई उचालेर अर्को नेतालाई खसाल्ने प्रवृत्ति बहन गर्नु काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीलाई सुहाउँदैन । नेपाली काँग्रेसका कार्यालयहरू र कार्यक्रमहरूमा बिगफोरका फोटोहरू टाँसिएको हुनु यस पार्टीको उच्चतम हितमा छ ।

(डा. केसी प्रजातान्त्रिक विचार समाजका अध्यक्ष हुन्।)

(आइतबार प्रकाशित हुन लागेको पुस्तक ‘चिन्तन: सूर्यप्रसाद उपाध्याय’को एक अंश)

पुस २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्