नाटक र नाट्यकर्मी

कहिले खुल्छ थिएटर?

काठमाडाैँ –  पुसको अन्तिम शुक्रबार, मध्य दिनमा न्यानो घाम ताप्दै शिल्पी थिएटर अगाडिको बेञ्चमा बसेकी थिइन् स्मारिका फुयाँल।

उनी भक्तपुर लोकन्थलीबाट बत्तिसपुतली आएकी थिइन्, धेरै पछि। उनमा अलिकति उत्सुकता र थोरै आशा थियो, अब अवस्था सामान्य होला भनेर।

नेपालमा गएको चैत ११ गतेदेखि कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणको लागि लकडाउन घोषणा भयो, उनी पनि घरमा ‘लक’ भइन्। सबैले अनुमान गरेझैँ उनलाई पनि थाहा थिएन लकडाउन लामो जाला भन्ने। तर दसैँपछिको समय कहिले लकडाउन सकिएला भन्ने सोच उनमा विकास भइरह्यो।

‘मेरो थिएटरसँगको सम्बन्ध ठ्याक्कै छुट्यो। म बिचबिचमा आएको थिइनँ’ फुयाँल भन्छिन्, ‘खुल्छ भन्थे तर कहिले त? मलाई त नाटक घर नै बन्द हुन्छ कि जस्तो लागेको थियो। नाटक हेर्नलाई बसेको व्यवस्था खत्तम होला भन्ने चिन्ता पनि थियो।’

फुयाँलले एसएलसी दिएपछि कहिले नियमित कहिले अनियमित भएर थिएटरसँग सम्बन्ध राखेकी थिइन्। यो समयमा कहिले नाटकको दर्शक त कहिले पात्र बनिरहिन्। उनको चिन्ताको विषय नाटक हेर्नको लागि बनेको ‘टेन्डेन्सी’मा ब्रेक लाग्नु थियो, जसले नाटकको अगाडिको भविष्यलाई प्रभाव पार्छ नै।

स्मारिका फुयाँल

लकडाउनको समयमा धेरैजस्ता मिटिङ्ग, कक्षाहरु अनलाइनबाट भइरहेका थिए। फुयाँललाई घरमा ‘खै अब कहिले त ? नाटक पनि अनलाइनबाट नै हुन्छ कि क्या हो ?’ भन्ने शब्द सुन्ने अवस्था आइसकेको थियो ।

स्मारिकाको प्यासनको चिन्ता उनका बाबा आमालाई लाग्नु स्वाभाविक नै थियो किनकी लकडाउन खुकुलो भएसँगै सरकारले सबै क्षेत्रलाई खुल्ने अनुमति दियो। तर सिनेमा घर, थिएटर खुल्ने समय अनिश्चित बनायो। सबै क्षेत्र खोली यो क्षेत्रलाई मात्र खोल्ने अनुमति नदिँदा कोरोना संक्रमणको थलो यही ठाउँ मात्र भएको जसरी सन्देश गयो। उनी भन्छिन्, ‘सिनेमा घर वा थिएटरमा मात्रै मान्छे जम्मा हुने भन्ने हैन।’

लकडाउन लम्बिँदै गर्दा दिनदिनै निराशा बढ्दै गएको थियो। नाटकघर बन्द होला भनेर उनी अत्तालिएकी थिइन्। तर ९ महिनापछि उनी फेरि शिल्पीको आँगनमा उभिन पाइन्। केही प्रोजेक्टसँग उनी जोडिन पाएकी छन्। आशा उनलाई छ, अब सुरु भएको यो चहलपहल फेरि बन्द हुने छैन।

कोरोनाको डर नभएको हो त?

शिल्पी थिएटर

उनले भनिन्, ‘धेरै नेपालीलाईझैँ मलाई पनि लाग्छ, कोरोना लागेर निको भइसकेको छ।’ तर पनि दूरी कायम गर्ने, सावधानी अपनाउनेमा उनी सचेत रहने छिन्।

उनका थिएटरका साथीहरु गफिँदै थिए। त्यही मध्येकी एक थिइन्, धरानकी सुहाना आचार्य । उनले दुई वर्ष अगाडि थिएटरको कक्षा लिएकी थिइन् । त्यसपछि केही प्रोजेक्टमा काम गर्ने अवसर पनि पाइन्।

मध्य बानेश्वरमा होस्टलमा बस्ने उनलाई लकडाउन भएपछि थिएटरको न्यास्रो लाग्यो। ‘यहाँ आइराख्ने बानी थियो त्यसैले पहिलो लकडाउन पछि यत्तिकै पनि आएँ’ उनले भनिन्। पछिल्लो १ महिनादेखि भने उनी निरन्तर यहाँ छिन्। शिल्पीले सरकारको विरोधमा, उखु किसानको पक्षमा माइतीघरमा सडक नाटक प्रदर्शन गरेको थियो। हाल यो टोली टेलिभिजन कार्यक्रम ‘ऐना’ को लागि काम गर्दै छ।

आचार्यले भविष्य कला क्षेत्रमा देखेकी छन्। त्यसैले प्लस टू पछि उनले कलेज भर्ना हैन, थिएटरसँगै कान्तिपुर फिल्म एकेडेमीमा अभिनय कक्षाको प्रशिक्षण लिइरहेकी छन्।

आचार्यकै व्याचकी सानिमा भट्टराई स्नातक पछि थिएटरमा आवद्ध भएकी थिइन्। लकडाउन अगाडि उनीहरु ‘गोल’ नाटक प्रदर्शनको तयारीमा थिए। तर लकडाउन भयो। त्यसपछि उनी घर झापा गइन्।

लकडाउन लम्बिँदै जाँदा तनाव बढ्न थाल्यो। ‘फेरि सुरुबाट नै गर्नुपर्ने हो की, सिकेका कुरा पोलेर खाइने हो की जस्तो पनि लाग्यो’ उनले भनिन्, ‘गरिराख्ने बानी भइरहेको थियो, खाली बस्दा रेस्टलेस भएँ।’

लामो समयपछि थिएटर आउँदा उनलाई थाहा भयो, ‘ज्यान अल्छी भएछ।’ आफ्नो कर्मघरमा उनी काम नभए पनि हेर्न आइरहिन् ।

भट्टराईले लकडाउनको समय आफ्नो विकासको लागि लगाइन्। कथा लेखिन्, भावना पोखिन्। आचार्यलाई घरमा परिवारसँगको समय राम्रो थियो तर थिएटर मिस भयो।

लकडाउन खुकुलो भएपछि उनीहरु काठमाडौँ आए, एक दिन थिएटरमा काम छ भनेर फोन आयो । उनीहरु अहिले दिउँसो थिएटरमा अभ्यास गरिरहेका छन्।

अभ्यास किन त?

नाट्यकर्मी घिमिरे युवराज यो समय सबैका लागि निराशाजनक भएको टिप्पणी गर्छन्। शिल्पी थिएटरमा केही नहुँदा सानिमा र सुहानाले जस्तै धेरै कलाकार थिएटर आए। सिकेका कुरा नबिर्सियोस् भनेर अभ्यास पनि गरिरहे। तर सिकेका कुरा प्रस्तुत गर्न पाइएन।

जसरी लकडाउन अगाडि नाटक प्रदर्शन लगायत सिर्जनात्मक कामको वेग चलिरहेको थियो, त्यो बन्द भयो। ‘हाम्रा चार कलाकार अहिले पनि जिल्ला बाहिर नै छन्। उनीहरुलाई ल्याउन सकिएको छैन। किनकी काम निरन्तर हुने पक्का भइसकेको छैन’ घिमिरे युवराज भन्छन्, ‘कोरोना अवधिमा हामी सरकारले नगर भनेको मानेर बसेका होइनौँ, रोगको बारेमा अनविज्ञ थियौँ आफै सचेत भएर आएनौँ।’

सार्वजनिक यातायात, अस्पताल, रेष्टुरेन्टमा भएको भीडको अनुगमन नगरेको अवस्थामा सिनेमा घर, थिएटर बन्द गर्नुको औचित्य घिमिरेको नजरमा थिएन। उनी भन्छन्, ‘हामी त मापदण्ड नियम बनाएर मात्र दर्शक बोलाउँछौँ। यस्तो ठाउँको लागि सरकारसँग नीति छैन।’

लामो समय लकडाउन हुँदा मानिसमा कोरोनाको भन्दा पनि अर्को चिजको साइडइफेक्ट भएको छ। काम गर्न पाएनन, आर्थिक अनि मानसिक तनाव भएको बेलामा कलाले सहयोग गर्नेमा सरकारले यस क्षेत्रलाई सञ्चालन गर्न सहयोग नगरेको उनी बताउँछन्।

कहिले खुल्छ थिएटर?

घिमिरे युवराज

थिएटर हवले ‘अब थिएटर पनि खुल्यो’ भन्ने सन्देश दिनका लागि तयारी गरिराखेको छ। थियटर हवका संयोजक देव न्यौपाने भन्छन्, ‘हामी पहिला रंगमञ्च खुल्यो भन्ने सन्देश दिन चाहन्छौँ। नियमित नाटक मञ्चन अहिले संभव छैन, केही छलफलका विषयवस्तुहरु रहनेछन्।’

माघ १ देखि ९ सम्म विभिन्न थिएटरहरु पालैपालो खुल्नेछन्। शिल्पीमा ‘छ पात्रको एकालाप’ भन्ने नाटक माघ १ गतेदेखि मञ्चन हुँदैछ। दिउँसो ४ बजेदेखि नाटक सुरु हुन्छ। घिमिरे युवराज भन्छन्, ‘हामी कम दर्शक राखेर नाटक हेर्ने वातावरण बनाउँछौँ।’

पुस २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्