नेपालमा कहिले आउँछ काेराेनाविरुद्धकाे खाेप?

काठमाडौँ – अमेरिका, क्यानडा, रसिया, इङ्ग्ल्याण्ड, इण्डोनेसिया, बेलायत, भारतसहित विश्वका विभिन्न देशमा प्रयोगका लागि औपचारिक मान्यता पाएका छन् कोरोना भाइरसविरुद्धका खोपले।

विश्वका विभिन्न देशहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन थाले पनि नेपालमा कहिले आउँछ अझैसम्म टुङ्गो लागिसकेको छैन।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले अबको १५ दिनभित्र खोप भण्डारणको तयारी पूरा हुने बताएको छ।

विभागले अहिले सरकारसँग माइनस २ देखि ८ डिग्रीसम्मको खोप भण्डारणको क्षमता भएको बताएको छ। तर सरकारसँग माइनस २० डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक पर्ने खोपको भण्डारण क्षमता कम छ भने माइनस ७० डिग्री सेन्टिग्रेट तापक्रम चाहिने खोपको भण्डारण क्षमता शून्य छ।

कोरोना भाइरसविरुद्धको खोप भण्डारणका लागि गावी (सार्वजनिक निजी साझेदारी अन्तर्गत विश्वका आर्थिक अवस्था कमजोर भएका देशका नागरिकमा खोपको पहुँच पुर्‍याउनका लागि तय गरिएको विश्वव्यापी अभियान) ले नेपालका लागि १९ वटा कोल्ड चेन सहयोग गर्दैछ। जसमा माइनस २ देखि ८ डिग्री सेन्टिग्रेटको १० वटा र माइनस २० डिग्री सेन्टिग्रेटको ९ वटा कोल्ड चेन छन्।

कोरोना भाइरस विरुद्धको खोप नेपाल आइसकेपछि सबै भन्दा पहिला स्वास्थ्य सेवाको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिने सरकारले जनाएको छ। यही पहिलो चरणमा कुल जनसंख्याको करिब २० प्रतिशतलाई खोप दिइने छ। यो २० प्रतिशतलाई दिने भनिएको खोप अनुदानमै पाउने व्यवस्था भएको छ।

सरकारले खोप भण्डारणका लागि तयारी पूरा हुनै लागेको भन्दै गर्दा खोप भित्र्याउने सुरसार भने गरेको छैन। कोरोना भाइरस विरुद्ध विश्व स्वास्थ्य संगठनले सिफारिस गरे पश्चात मात्रै पहिलो चरणको खोप नेपाल आउन सक्ने सम्भावना छ।

कहिलेसम्म आउँछ खोप?

कोरोना भाइरस विरुद्धका अहिलेसम्म स्वीकृति भएका खोप दुई डोज दिनु पर्ने छन् । अहिलेसम्मको अवस्था हेर्दा नेपालले पनि पहिलो र दोस्रो गरि दुई डोज दिनु पर्ने सम्भावना धेरै देखिएको छ।

कोरोना भाइरसविरुद्धको फाइजरको खोपले बेलायतमा स्वीकृती पाएको एक महिना बढि भयो। पहिलो खोप लगाएका धेरै देशहरुले अहिले दोस्रो डोज सुरु गरिसकेका छन्।

अन्य देशहरुले खोपको दोस्रो डोज सुरु गर्दासम्म पनि नेपालले भने तयारीमा जुटिरहेको बताएको छ।

खोप नेपालमा ल्याउनका लागि आफूहरु जतिसक्दो चाँडो हुने गरि तयारीमा जुटिरहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बताए।

उनले भने, ‘लगभग हाम्रो तयारी सकिएको छ। सरकारले फगुनसम्ममा खोप ल्याउछौँ भनिरहेको छ। एकैपटक ७२ प्रतिशतलाई पुग्ने गरि ल्याएर भण्डारण गर्ने क्षमता छैन। खोप ल्याए पनि लगाउन सकिँदैन। त्यसैले क्याटागोराइज गरेर ल्याइने छ।’

डा. अधिकारीका अनुसार पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुका लागि ल्याइने छ र त्यसपछि क्रमशः खोप ल्याइने छ।

यस्तै जनसंख्याको २० प्रतिशतलाई खोप लगाउनका लागि गावी र विश्व स्वास्थ्य संगठन मिलेर ‘कोभ्याक्स सुविधा’ अन्तर्गत नेपालमा अमेरिकी र जर्मन कम्पनीहरूले संयुक्त रूपमा विकास गरेको खोप सबैभन्दा पहिले आउन सक्ने सम्भावना रहेको बताइए पनि यस विषयमा औपचारिक निर्णय भने भैसकेको छैन।

‘कोभ्याक्स अन्तर्गत’ सहज रूपमा उपलब्ध हुन्छ त्यो लिँदै जाने गरि तयारी भएको उनी बताउँछन् ।

सबै जनसंख्यालाई पुग्ने गरि माइनस ८० डिग्रीमा भन्दा तलको तापक्रममा राख्ने खोपको व्यवस्थापन नेपालमा त्यति सहज छैन ।

गएको शुत्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सेवा विभागलाई नेपालमा कोरोना भाइरसविरुद्धको खोप आएको दुई दिनभित्र स्वास्थ्यकर्मीलाई लगाउने र एक हप्ताभित्र ७० वर्षभन्दा माथिका नागरिकलाई लगाउने गरि तयारी गर्न निर्देशन दिएका थिए।

अहिलेसम्म खोपका लागि खासै तयारी नभएको भन्दै त्रिपाठीले छिटोभन्दा छिटो खोप ल्याउनका लागि सम्पूर्ण तयारी पूरा गर्न विभागलाई निर्देशन दिएका थिए।

पुस २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्