श्याम मोहन श्रेष्ठको पुस्तक ‘काठमाडौँ–पेरिस–काठमाडौँ रेल–बस यात्रा’ सार्वजनिक

काठमाडौँ– पर्यटन उद्यमी एवम् नेपाल–फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौँ–पेरिस–काठमाडौँ रेल–बस यात्रा’ लोकार्पण भएको छ।

काठमाडौँको होटल सांग्रिलामा शनिबार आयोजित एक भव्य समारोहबीच इतिहासविद् एवम् वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, पर्यटन उद्यमी एवम् लेखक कर्ण शाक्य, नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइस जेभियर लेगर,  नेपाल राष्ट बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे र लेखक श्रेष्ठले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।

कार्यक्रममा इतिहासविद् सत्यमोहन जोशीले यो पुस्तक समाज एवम् सर्वसाधारणका लागि प्रेरणादायी एवम् उपयोगी रहेको बताए। साथै पुस्तकमा लेखक श्रेष्ठले जीवनमा आइपरेका दुःख, कठिनाइ एवम् सफलतालाई सरल किसिमले प्रस्तुत गरेको भन्दै जोशीले लेखकले जे देखेका छन्, तिनलाई निःस्वार्थ भावले पुस्तकमा समेटेको बताए। उनले पुस्तक पठनीय, मननीय एवं संग्रहणीय रहेको बताए।

कार्यक्रममा उद्यमी एवम् लेखक कर्ण शाक्यले पनि पुस्तकले सकारात्मक सोच अभिवृद्धि गर्न सघाउने प्रतिक्रिया दिए । श्याममोहन श्रेष्ठसँग आफ्नो मित्रता वर्षाैं पुरानो मित्रता रहेको र उनी सकारात्मक सोचले काम गर्ने व्यक्ति रहेको शाक्यले बताए। बच्चामा खेल्ने सोच, युवाअवस्थामा प्रेम गर्ने सोख र पचास वर्ष कटेपछि दर्शनको अन्तरकुन्तर पहिल्याउने सोच आफ्नो रहेको र यो श्याम मोहन श्रेष्ठमा पनि मेल खाने शाक्यले बताए। पुस्तकले पनि सकारात्मक र कर्मशील हुन सिकाउने उनको भनाइ छ।

यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले पनि नेपालको आर्थिक सामाजिक विकासमा योगदान गरेका श्याम मोहन श्रेष्ठको पुस्तकले सबैलाई प्रेरणा प्रदान गर्ने धारणा राखे। पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई पनि उजागर गर्ने उनको भनाइ छ।
नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइस जेभियर लेगरले यो पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्ध एवम् विविध पाटोलाई उजागर गरेको उल्लेख गरे। यो पुस्तक फ्रान्सेली भाषामा समेत अनुवाद हुनुपर्नेमा उनले जोड दिए।

‘साहस र आँटले डोर्‍याएको जिन्दगी’ उपशीर्षक रहेको पुस्तकमा श्रेष्ठले बाल्यकालदेखि जागिरे जीवन र आफ्नो जीवनमा आइपरेका कठिनाइ, संघर्ष एवम् विविध आश्चर्यजनक संयोगहरूलाई सरल किसिमले प्रस्तुत गरेका छन्। एयर फ्रान्सको नेपाल प्रमुख भएर लामो समय काम गरेका श्रेष्ठले पुस्तकमा जागिरे जीवनका आश्चर्यजनक उपलब्धि एवम् संघर्ष र मिहिनेतलाई पनि पंक्तिबद्ध गरेका छन्।

साथै आफूले सानै उमेरमा गरेको साहसिक काम, कुनै पनि काम गर्छु भनेर आँटेपछि त्यसप्रतिको आफ्नो लगाव, सामान्य जीवनको अवस्थामा जागिर सुरु गर्दाका कठिनाइ, कुनै काममा असफल भएपनि त्यसमा लागिपरेर प्राप्त गरेका सफलता, प्रेम, वैवाहिक जीवन, नेपालमा पर्यटन उद्यम गर्दाका संघर्ष, धुलिखेलस्थित मिराबेल होटल स्थापनाको संघर्ष, नेपालका प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिहरूसँगको सम्बन्ध आदिलाई पनि पुस्तकमा सजीव किसिमले श्रेष्ठले प्रस्तुत गरेका छन्।

श्रेष्ठको जोसिलो युवा अवस्था, अल्लारे बुद्धि, कुनै पनि कुराको गहिरो लेखाजोखा गर्ने क्षमताको अभाव हुँदाहुँदै उनले गरेको स्थलमार्गबाट फ्रान्स भ्रमण, यात्राका क्रममा भएका अनेक कठिन परिस्थिति आदि पढ्दा पाठक पनि सँगसँगै यात्रा गरेको अनुभूति हुन्छ।

आफ्नो जीवनबारे श्रेष्ठ भन्छन्, ‘फर्केर हेर्दा लाग्छ—कताकता म एक सफल व्यक्ति भएर पनि असफल व्यक्ति भएँ; एक असफल व्यक्ति भएर पनि सफल व्यक्ति भएँ। भगवान्‌ले मलाई व्यावसायिक जीवनको सुरुमै अपार सम्भाव्यताका बाटा पहिल्याइदिनुभयो। तर जानी–नजानी मेरा ती अपार सम्भावनालाई संसार हेर्न, अनुभव गर्न, छुन, थुप्रै देशी विदेशी व्यक्तिसँग चिनजान गर्ने मौका पाउन तथा आफ्ना छोराछोरीहरूको उच्चशिक्षाका लागि ठूला विद्यालयहरूमा पढाउने मौकाहरूसित साटेँ। अर्को कुरा, मेरो कुनै आफ्नै रगत नाताका निकटतम व्यक्तिले पनि मबाट मेरा सम्भावना छिनेर लगे। जसको चोट अनन्तसम्म लागिरहेछ।’

विभिन्न पुस्तक अनि व्यक्तिबाट सानैमा फ्रान्सबारे सुनेका, बुझेका श्रेष्ठले फ्रान्स पुग्ने असीम इच्छा पाले। र अन्ततः खर्च पुगेपनि, नपुगे पनि, बाटो थाहा पाए पनि, नपाए पनि, भविष्यको कुनै प्रत्याभूति भए पनि, नभए पनि, यात्रामा होमिए। परिणमतः अनेक समस्याका बाबजुद एउटा नयाँ साहसी व्यक्ति भएर उनी फर्किए। पुस्तकमा यिनै आश्चर्यमय घटनालाई देखाइएको छ।

‘एउटा व्यक्तिले आफ्नो जुनसुकै लक्ष्यका लागि सर्वप्रथम प्रण र साहस बटुल्नुपर्ने रहेछ। त्यसपछि निडर भइ अगाडि बढ्नुपर्ने रहेछ,’ लेखक श्रेष्ठ भन्छन्, ‘जाँदाजाँदै, हिँड्दा हिँड्दै अनुशासन, सभ्यता र धैर्यलाई निरन्तर साथमा राख्नुपर्ने रहेछ। यति भयो भने सफलता हासिल हुँदोरहेछ।’

जीवनमा अथक मिहिनेतले बनाएका केही भौतिक संरचना र सिर्जनाका प्रतीकलाई भावी पुस्ताले चाहेमा लिपिबद्ध रुपमा देख्न सकून् र आफ्ना कामलाई किताबका माध्यमबाट चिन्न सकून् भनेर आफूले पुस्तक लेखेको श्रेष्ठले बताए।

‘जीवनकालमा मलाई पनि पछि कुनै बेला हेर्ने रहर भए विद्यमान तस्बिरहरूले पक्कै सहयोग गर्नेछन्,’ उनी भन्छन्, ‘नेपालबाट फ्रान्स र अन्य देशहरूको मेरो भ्रमण पुरानै कुरा भए पनि कुनै बेला नेपालबाट फ्रान्स/युरोप जान स्थलमार्गबाटै विभिन्न सिमाना पार गर्दै रेल, बस आदिबाट पुग्न सकिन्थ्यो भन्ने तथ्य स्थापना गर्नु पनि यो पुस्तकको उद्देश्य हो।’

पुस २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्