कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (पुस १९-२५)

होसियारीपूर्वक प्यान्डेमिकको सामना गर्नु बुद्धिमानी

प्यान्डेमिक मापन गर्ने विभिन्न तरिकाहरु हुन्छन् विभिन्न तथ्यांक र विभिन्न दरहरुका आधारमा। ती सबै तथ्यांक र दरहरुका आ-आफ्नै महत्व हुन्छ र तिनीहरुले बुझाउन खोज्ने कुरा पनि फरक फरक हुन्छन्। ती विभिन्न तथ्यांकहरु मध्ये कुनै एक मात्रै हेर्ने हो भने त्यसको अर्थ बेग्लै या उल्टो पनि लाग्न सक्छ। त्यसैले प्यान्डेमिकको समग्र मूल्यांकन गर्नको लागि सम्बन्धित सबै तथ्याङ्क र दरहरु केलाई त्यसको विश्लेषण गर्नु पर्दछ। प्यान्डेमिकका विभिन्न तथ्यांक तथा दरहरु हुन्- कुल संक्रमित, सक्रिय संक्रमित, सक्रिय संक्रमण दर, संक्रमण दर या पोजिटिभिटी, मृत्यु दर, दैनिक वृद्धि दर आदि।

यस्ता विभिन्न तथ्यांक र दरहरुको चर्चा यस शृंखलाका विभिन्न अंकहरुमा पहिला पनि भइसकेको छ। यसै क्रममा यस अंकमा सक्रिय संक्रमण दर के हो चर्चा गरिहेरौँ।

सक्रिय संक्रमण दर भनेको के हो ?

कुनै पनि रोग, मुख्यतया सरुवा रोग लागेमा त्यसका सक्रिय संक्रमितहरु हुन्छन्। सक्रिय संक्रमित भन्नाले निको नभइसकेका अथवा रिपोर्ट नेगेटिभ नआइसकेका केसहरु भन्ने बुझिन्छ। सक्रिय संक्रमितहरुको कूल संक्रमित (निको भइसकेका र निको हुन बाँकी केसहरु) मध्येबाट अनुपात निकालिन्छ या निकाल्न सकिन्छ जसलाई सक्रिय संक्रमण दर भनिन्छ। सक्रिय संक्रमित ती हुन् जसलाई रोग लागेको छ र उपचाररत छन्, जो अस्पताल या घरमै बसेर उपचार गराइराखेका छन्।

यसमा निको भइसकेका र मृत्यु भएकाहरु पर्दैनन्। तसर्थ कुल जम्मा संक्रमितको संख्याबाट निको भैसकेका र मृत्यु भएकाहरुको संख्या घाटाएमा सक्रिय संक्रमितको संख्या निकाल्न सकिन्छ। यिनीहरु यस्ता संक्रमित हुन् जसमा रोग सक्रिय हुन्छ र जसले रोग अरुलाई सार्न सक्दछन्।

हाल नेपाल सरकारले विभिन्‍न संचार मध्यमहरुबाट कोरोना प्यान्डेमिक सम्बन्धी जानकारी गराउने क्रममा नेपालमा यति जना निको भए ,यति जना सक्रिय छन्, सक्रिय संक्रमण दर यति छ भनेर भन्ने गरेको छ जुन राम्रो हो। तर सक्रिय संक्रमण दर के हो र यस्को वास्तविकता कस्तो हुन्छ भन्ने नबुझिकन यो दर यति छ मत्र भनेमा सामान्य मानिसलाई बुझ्न अलि गाह्रो हुन्छ।

सक्रिय संक्रमण दर विभिन्न सरुवा रोगहरुको महामारी या प्यान्डेमिक मापन गर्ने एक राम्रो तरिका हो जुन कोरोनाको सवालमा पनि लागू हुन्छ। यस शृंखलाका पहिलाका अंकहरुमा उल्लेख गरिइसकेको छ कि कुनै पनि प्यान्डेमिकको मापन गर्दा सबैभन्दा महत्वपूर्ण कुरा हो परीक्षण। परीक्षण गरेपछि मात्र थाहा हुन्छ कि रोग वास्तबमै लागेको छ कि छैन। त्यसपछि परीक्षणको मात्राको भूमिका महत्वपूर्ण हुन्छ किनभने पर्याप्त परिक्षण नगरेमा संक्रमित कति छ भनी थाहा पाउन सकिंदैन।

संसारको कुनै पनि ठाउँमा महामारी अथवा प्यान्डेमिक फैलियो भने त्यसको परीक्षण कति र कसरी गर्नु पर्दछ भनेर डब्लुएचओले प्रष्ट रुपमा दिशानिर्देश गरेको छ। यसरी परीक्षण गरिसकेपछि परिक्षण गरेकाहरु मध्ये कतिजनामा पोजिटिभ आयो र कतिजनामा निगेटिभ आयो भनी त्यसको अनुपात या दर निकाल्नु पर्दछ। परीक्षण भएका मध्ये कतिजनामा पोजिटिभ आयो त्यसको दरलाई पोजिटिभिटि या पोजिटिभ दर (संक्रमण दर) भनिन्छ। यो दरको आधारमा प्यान्डेमिकको नियन्त्रण राम्रो भएको छ कि छैन, परिक्षण प्रयाप्त भएको छ कि छैन आदि कुरा थाहा हुन्छ।

त्यस्तै डब्लूएचओका अनुसार एक जना नया संक्रमित (पोजिटिभ )देखिएमा त्यस संक्रमितको सम्पर्कमा आएका कम्तिमा १० देखि ३० जनासम्मको परिक्षण गर्नु पर्दछ। १० जनाभन्दा कमको परिक्षण गरेमा त्यो अप्रयाप्त हुन्छ र समुदायमा वास्तविक संक्रमित कति छन् थाहा हुँदैन। वास्तविक संक्रमित थाहा नभएपछि प्यान्डेमिक नियन्त्रणका सम्पूर्ण उपायहरु असफल हुन्छन्। तसर्थ कुनै पनि रोगको प्यान्डेमिक नियन्त्रणमा सूचना र तथ्यांकको ठूलो भूमिका हुन्छ। नेपालमामा हालसम्म कोभिड सम्बन्धी सूचना र तथ्यांक त्यति प्रयाप्त भएको पाइन्दैन।

अब फेरि लागौं सक्रिय संक्रमित र सक्रिय संक्रमण दरको बारेमा। एकातिर सरकारले भन्‍ने गरेको छ सक्रिय संक्रमितको संख्या घटेको छ अर्थात् सक्रिय संक्रमण दर घटेको छ। त्यसैले नेपालमा प्यान्डेमिकपनि घटेको छ भनेर। अर्कोतिर सम्बन्धित विज्ञहरु भन्छन नेपालमा प्यान्डेमिक नियन्त्रण भएको छैन। अनि सामान्य नागरिक र जनता अलमल्लमा पर्नु स्वभाविकै हो।

तसर्थ यस सानो लेखको मुख्य उद्धेश्य सर्बसाधारणलाई यसको बारेमा तथ्य र यथार्थ पस्किनु हो। यति बुझेपछि जनता स्वयमले बुझ्न सक्दछन कि कसको कुरा विश्वाश गर्ने भनेर।

माथि उल्लेख गरिए झैं सक्रिय संक्रमित कति छन् भन्नको लागि जम्मा संक्रमितको संख्या, निको भएका (पीसीआर रिपोर्ट निगेटिभ आएका) हरुको संख्या, मृत्यु भएकाहरुको संख्या आदि तथ्यांकको आवश्यकता पर्दछ। तथ्यांक सकेसम्म सही हुनु जरुरी हुन्छ। सानातिना छुटफुट या गल्ति हुन सक्लान तर अनुमान या हचुवा भरको तथ्यांकले गलत नतिजा निकाल्दछ।

निम्न फर्मूलाबाट सक्रिय संक्रमितको संख्या निकाल्न सकिन्छ:


सक्रिय संक्रमित= जम्मा संक्रमित – (निको भएका + मृत्यु भएका )

त्यस्तै निम्न फर्मूलाबाट सक्रिय संक्रमण दर निकाल्न सकिन्छ :

सक्रिय संक्रमण दर (%) = सक्रिय संक्रमित / जम्मा संक्रमित x १००

जति धेरै नयाँ संक्रमित देखिए उति धेरै सक्रिय संक्रमित पनि देखिन्छ। त्यस्तै जति धेरै निको भएकाहरु देखिए त्यति सक्रिय संक्रमित घट्दछ। त्यसैले सक्रिय संक्रमितको संख्या र दर नयाँ संक्रमित र निको भएकाहरुको संख्याको अनुपातमा भर पर्दछ। त्यस्तै माथि देखाइए जस्तै फर्मुला मात्रै हेर्ने हो भने सक्रिय संक्रमणको संख्या हिसाब गर्न परीक्षणको मात्रा र पोजिटिभिटी दरको उल्लेख माथि कतै गरिएको छैन अर्थात् सक्रिय संक्रमण हिसाब गर्न पोजिटिभिटीको आवश्यकता प्रत्यक्षरुपमा पर्दैन। कति संक्रमित थपिए त्यसको संख्या मात्रै भए पुग्दछ।

संख्या मात्र जति पनि निकाल्न सकिन्छ जस्तै उदाहरणको लागि यदि कम परिक्षण गर्ने हो भने संक्रमितको संख्या पनि कम देखिन्छ भने यदि बढी परिक्षण गर्ने हो भने संक्रमितको संख्या पनि बढीनै देखिनसक्दछ। यदि साँच्चिकै प्यान्डेमिक निकै बढेको हो भने परिक्षण धेरै गरे संक्रमित पनि निश्चय पनि धेरै देखिन्छ। यदि प्यान्डेमिक घटेको हो भने जति परिक्षण गरे पनि संक्रमण धेरै देखिन्दैन।

परीक्षण नै नगरी संक्रमित छैन या कम छ भनेर भन्नु आँखा छोपेर सूर्य छैन भन्नु झैं हो। तसर्थ अप्रत्यक्षरुपमा सक्रिय संक्रमितको संख्या र संक्रमण दरको हिसाब गर्न परिक्षणको मात्राले ठूलो भूमिका खेल्दछयद्यपि प्रत्यक्ष रुपमा यो दर हिसाब गर्न फर्मूलामा देखाइए जस्तै परिक्षणको मात्राको आवश्यकता पर्दैन। जम्मा संक्रमितको संख्या तल माथि भएमा सक्रिय संक्रमित र संक्रमण दर पनि तल माथि हुँदछ। यसको असर केही दिन अथवा हप्तापछि सम्म पनि देखिन सक्दछ।

दक्षिण यसियाली देशहरुको कुरा गर्दा भुटान, माल्दिभ्स, श्रीलंका कोरोना संक्रमण कम भएको अथवा प्यान्डेमिकनियन्त्रण राम्रो भएको देशमा गनिन्छन् भने नेपाल लगायत भारत , बांग्लादेश, पाकिस्तान, अफ्घानिस्तानकोरोना संक्रमण धेरै भएको अथवा प्यान्डेमिक नियन्त्रण राम्रो नभएकोया कठीन भएको देशमा गनिन्छन्। यद्यपि भारत बिगत झन्डै साढे तीन महिना देखि प्यान्डेमिक नियन्त्रण राम्रो भएको मुलुकको रुपमा देखापरिरहेको छ।

फेरि सक्रिय संक्रमण (दर)कै कुरा गर्ने हो भने हाल केही दिन देखि भुटान, माल्दिभ्स र श्रीलंकाको सक्रिय संक्रमण दर, नेपाल सरकारले दिएको तथ्यांक अनुसार, तुलनात्मक रुपले पहिला भन्दा अहिले बढ्दै गएको छजब की ती देशहरु विश्वमानचित्रमा कोरोना संक्रमण कम भएको देशमा पर्दछन्। बंगलादेश , पाकिस्तान र अफघानिस्तानमा भने पहिला पनि र अहिले पनि सक्रिय संक्रमण दर बढी नै छभने पछिल्लो समय नेपालको सक्रिय संक्रमण दर क्रमसः घट्दै गएको देखिन्छ।

पछिल्लो समयमा पौष २३ गतेको तथ्यांक अनुसार दक्षिण एसियामा सबैभन्दा धेरै सक्रिय संक्रमण दर भुटानमा देखिएको छ जुन ३७.९% रहेको छ जसको अर्थ हुन्छ हालसम्म कोरोना संक्रमित भएका कुल संख्या मध्ये ३७.९% जनामा यो रोग सक्रिय छ अथवा तिनीहरु उपचाररत छन् र तिनीहरुले अरुलाई संक्रमण सार्न सक्दछन्। यो दर निकै उच्च हो। त्यस्तै दक्षिण एसियामा सबैभन्दा कम सक्रिय संक्रमण दर हाल नेपालमा देखिएको छ जुन २% मात्र छ। नेपाल सरकारले सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (एसडीएमसी)लाई उद्दृत गर्दै उपलब्ध गराएको तथ्यांक अनुसार दक्षिण एसियाका विभिन्न देशहरुका सक्रिय संक्रमण दर चित्र न. १ मा देखाइएको छ।

यदि यस तथ्यांकलाई मात्रै हेर्ने हो भने भुटान विश्वमै कोरोना संक्रमण अत्यधिक रप्यान्डेमिक नियन्त्रण अति नाजुक भएको देश हो भने नेपाल विश्वमै कोरोना संक्रमण निकै न्यून र नियन्त्रण अति उत्तम भएको देश हो भन्ने बुझिन्छ। तर यथार्थ त्यो होइन। भुटानमा हालसम्म जम्मा कुल संक्रमित ८०० भन्दा कम छ र त्यहाँ कोभिडको कारणले मृत्यू हुनेको संख्या अझै सुन्ना छ। नेपाल भने जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार परिक्षण न्यून र प्यान्डेमिक नियन्त्रण कम्जोर भएको देशमा गनिन्छ।यद्यपि पछिल्लो समयमा नेपालको तथ्यांकमा सुधार आएको देखिन्छ।

सक्रिय संक्रमण दर बढ्नुको कारण पक्कै पनि नया संक्रमित बढेर नै हो, त्यसमा कुनै संका छैन। भुटानमा गत डिसेम्बरको अन्त्य तिर देखि दैनिक संक्रमण बढेको देखिन्छ जुन दैनिक करीब १०-३५ जना रहेको छ जुन त्योभन्दा पहिला ५-१०मात्र हुने गर्दथ्यो। संख्याको हिसाबले त्यो सानो भएता पनि अनुपातको हिसाबले भुटानमा हालसम्म भएका जम्मा संक्रमितसंगको तुलनाको हिसाबले यो दर धेरै देखिएको हो। त्यस्तै नेपालमा हाल नया संक्रमितको दाँजोमा निको हुनेको संख्या बढ्दै गएको हुनाले यो दर पनि घट्दै आएको छ। यसरी नया संक्रमित घट्नुको पछाडि जम्मा दैनिक परिक्षण निकै कम हुनु पनि एक कारण हो भन्ने कुरा विभिन्न तथ्यांकहरुले देखाउँदछ।

यसले के देखाउंछ भने एउटा मात्रै तथ्यांकको आधारमा देशमा प्यान्डेमिकको अवस्थाको मुल्यांकन गर्नु ठीक हुँदैन। त्यस्तै सक्रिय संक्रमण दर मात्रै हेरेर कुनै देशमा प्यान्डेमिक अत्यधिक बढेको छ या कुनै देशमा प्यान्डेमिक नियन्त्रण भएको छ भन्नु गल्ति हुनेछ।त्यस पछाडिका बिबिध कुराहरुको मुल्यांकन गरी वास्तविक अवस्था पत्ता लगाउनु पर्दछ। त्यसैको लागि नै बिज्ञहरुको आवश्यकता पर्दछ र सम्बन्धित बिज्ञहरुले गरी देखाउने मौका पनि यही नै हो।

अर्को उदाहरण हेर्ने हो भने नोभेम्बर३ मा अचानक माल्दिभ्सको सक्रिय संक्रमण दर ९३.७% पुगेको थियो भने त्यसपछि निरन्तर कम हुँदै गई हाल करीब ४.८% मा कायम छ। त्यस्तै श्रीलंकाको नोभेम्बर महिनाको सक्रिय संक्रमण दर हेर्ने हो भने दक्षिण एसियाकै सबैभन्दा धेरै ५२% भन्दा धेरै पुगेको थियो। श्रीलंकामा प्यान्डेमिक अक्टोबर महिनाको मध्यतिरबाट बढ्न सुरु भई हाल करीब दैनिक ५०० देखि ८०० सम्म संक्रमित देखिने गरेको छ जबकि अक्टोबर महिनाभन्दा अगाडि यो संख्या औसत मा १० देखि ४० जति मात्र हुन्थ्यो।

त्यसैले नोभेम्बर महिनामा सक्रिय संक्रमण दर एक्कासी वृद्धि भइ दक्षिण एसिया मात्रै होइन वाश्वकै उच्च मध्ये एक हुन पुग्यो भने हाल पनि त्यत्तिकै मात्रामा दैनिक संक्रमित देखिएता पनि नया संक्रमित र निको भएकाहरुको संख्यामा सन्तुलन आई सक्रिय संक्रमण दरकेवल ५.८% मा सीमित हुन पुगेको छ।तसर्थ त्यतिबेला श्रीलंकामा संक्रमण दर बढ्नुका कारण त्यहाँ नया संक्रमितको संख्या पहिलाको दाँजोमा एक्कासी बढेकोले हो तर त्यति धेरै पनि होइन जत्तिको संक्रमण दर ५२%ले देखाउंछ। पहिलाको दाँजोमा संक्रमण केही बढे पनि श्रीलंकाअझै प्यान्देमिकको राम्रो नियन्त्रणको दायराभित्रै पर्दछ।

हालसम्मको तथ्यांकले माल्दिभ्स र श्रीलंका दुवै प्यान्डेमिक नियन्त्रण राम्रै भएको देशमा गनिन्छन्।पछिल्लो समयमा यी दुवै देशहरुका पोजिटिभिटि (संक्रमण दर)जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार माल्दिभ्सको १.३३% र श्रीलंकाको ४.०% जति छ जुन डब्लूको निर्देशिका (गाइडलाइन) अनुसार प्यान्डेमिकनियन्त्रणभित्र पर्दछ भने नेपालको पोजिटिभिटी ८.२५% जति छजुन प्यान्डेमिक नियन्त्रण भित्र पर्दैन।

ओर्ल्ड़ोमिटर र आवर ओर्ल्ड इन डाटाका अनुसार हाल औसतमा दैनिक श्रीलंकामा करीब १७०००, माल्दिभ्समा २५०० र नेपालमा करीब ५००० परिक्षण गर्ने गरिएको छ जुन जनसंख्याको अनुपातमा प्रति हजार श्रीलंकामा ०.६२, माल्दिभ्समा ४.४४ र नेपालमा ०.१८ जति हुन आउँछ। माथि देखाइएका तथ्यहरुले, मुलत दैनिक परिक्षण र संक्रमण दर (पोइजिति भिटी ),लेएकातिर नेपाल प्यान्डेमिक नियन्त्रणमा अझै कम्जोर देखिन्छ भने अर्कोतिर सक्रिय संक्रमण दरको हिसाबले नेपाल दक्षिण एसियामा मात्रै नभई विश्वमै प्यान्डेमिक नियन्त्रणमा उत्तम देखिन्छ।

यसले के देखाउंछ भने सक्रिय संक्रमण दर प्यान्डेमिकको मापन गर्ने एक राम्रो तरिका भए पनि यसको महत्व त्यति हुँदैन जत्तिको पोजिटिभिटिको हुन्छ। संक्रमण दर सम्भव भएसम्म कम भएको राम्रो, यदि यो बढ्दै गएमा चिन्ता हुन्छ र घट्दै गएमा राम्रो हुन्छ तर त्यसको लागि दैनिक परिक्षण र त्यसको मात्रा नियमित र स्थिर रहनुपर्दछ। त्यसैले कुनै पनिप्यान्डेमिकको मापन गर्दा या प्यान्डेमिकको समस्या आएको अवस्थामा नियमित र स्थिर परिक्षण गर्नु जरुरी हुन्छ नकि जथाभावी धेरै या थोरै (random test)गर्नु।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,जनुवरी ३ देखि ९ (पौष १९ देखि २५) जम्मा ७ दिनकोविश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्दृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्रालय, जोन होप्किन्स विश्वविद्यालय, डब्लूएचओ, ओर्ल्ड़ोमिटर, आवर ओर्ल्ड इन डाटा आदि। यसले खको उद्देश्य कोरोना सम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकवर्ग समक्ष पुर्‍याउनु हो।

गत हप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि उताभचढ़ाभ हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। गत हप्ता जनुवरी ३ देखि ९ (पौष १९ देखि २५)सम्म जम्मा ७ दिनको नेपाल भरी र काठमाडौँ उपत्यकाको नयाँ संक्रमितको संख्या चित्र न.२ मा प्रस्तुत गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिनमा देशभरी जम्मा ३०८३ जना र काठमाडौँ उपत्यकामा १४५०नया संक्रमित भेटिए भने त्योभन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा ३७३८ र काठमाडौँ उपत्यकामा १७६४नया संक्रमित भेटिएका थिए। माथिको तथ्यांकको आधारमा भन्‍ने होभनेगतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि र काठमाडौँ उपत्यकामा संक्रमितको संख्या निकै घटेको पाइयो।

त्यस्तै मृत्यू हुनेको संख्या गतहप्ता जम्मा ४२रह्यो भने त्योभन्दा अगाडिको हप्ता५१थियो जुन गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा घटेको हो। त्यस्तै काठमाडौँ र नेपालको अनुपात केलाउने हो भने चित्र न. ३मा देखाइए जस्तै नेपाल भरिको दाँजोमा काठमाडौँ उपत्यकाको नयाँ संक्रमण अनुपात गत हप्ता  न्यूनतम ३७.३६%देखि अधिकतम ६०.९२%सम्म रह्यो भने त्योभन्दा अगाडिको हप्ता यो अनुपात ३६.७५%देखि ६१.०६% सम्म रहेको थियो। गतहप्ता नेपालभरिको संक्रमितको दाँजोमाकाठमाडौँ उपत्यकाको संक्रमितको अनुपात औसतमा करीब ४७.७२% रह्योभने त्योभन्दा अगाडिको हप्ता यो औसत अनुपात करीब ४६%थियो ।

यसरी देशभरिको दाँजोमा काठमाडौँको नया संक्रमितको अनुपात पहिला भन्दा घट्दै गएको देखिएतापनि यो अनुपात गत तीन चार हप्तामा करीब करीब स्थिर देखियोर केही बढ्न खोजेकोजस्तो देखियो।नेपाल सरकारले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकापछि कोभिड संक्रमण ज्यादा देखिएका जिल्लाहरुमा मोरंग, सुनसरी, कास्की, रुपन्देही, कन्चनपुर,कैलाली आदि पर्दछन्।

तर काठमाडौँ उपत्यका र देशका अरु प्रमुख सहरहरुमा प्यान्डेमिकको वास्तविक असर कत्तिको छ थाहा पाउन ती सहरहरुमा कति परिक्षण गरियो र कतिमा पोजिटिभ देखियो, त्यस्तै प्रत्येक सहरमासंक्रमितको कन्ट्याक्ट ट्रेसिंग कत्तिको गरियो,लक्षित समूहमा परिक्षण पुग्यो कि पुगेन आदि डब्लूएचओको मापदण्ड अनुसार नापेर हेर्नु पर्दछ।

दैनिक संक्रमण पोजिटिभिटी दर

प्यानडेमिकको मापदण्डहरुमध्ये पोजिटिभिटी दर एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्‍ने देखाउँदछ। पोजिटिभिटी दरको बारेमा माथि रगएका अंकहरुमा विस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु होला।

नेपालको गएको हप्ताको दैनिक संक्रमण पोजिटिभिटी दरचित्रन. ४मा देखाइएको छ। गत हप्ता पनि नेपालको प्यान्डेमिक निरन्तर रुपमा कायम रहेता पनि केही तल झर्दै गएको देखिन्छ।

गत हप्ता पोजिटिभिटी दर न्यूनतम ६.१% देखि अधिकतम ११.४७%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर८.७१%रह्यो। दुई हप्ता अगाडिको पोजिटिभिटी दर ८.१५% र १२.५७% काबीच रही त्यो साताको औसत पोजिटिभिटी दर १०.१९% रहेको थियो।

गतहप्ता देशभरि जम्मा ३६१४६परीक्षण गरियो भने त्योभन्दाअगाडिको हप्ता जम्मा ३६८७६परिक्षण गरिएका थिए। हाल नेपालमा दैनिक औसतमा करीब पांच हजार जति मात्र परिक्षण गरिंदै आएको छ।

विश्वका केही देशहरुका पछिल्लो औसत संक्रमण दर अर्थात् पोजिटिभिटी हेर्ने हो भने जोन्सहप्किन्स विश्वविद्यालयका अनुसार अफगानिस्तानको ८.१२%, बंगलादेशको७.००%,भुटानको०.९१%, पाकिस्तानको ५.७१%,माल्दिभ्सको१.४०%, श्रीलंकाको३.७४%, भारतको२.३०%,नेपालको८.१९%,अमेरिकाको १४.००%रबेलायतको ११.५४%छ।

यसबाट के देखिन्छ भने पछिल्लो समयमा दक्षिण एसियाली देशहरुमा प्यान्डेमिकको अवस्था स्थिर देखिएको छ भने नेपालको अवस्था गत २-३ महिनादेखि क्रमिक रुपमा घट्दै आएको छ। यो निकै खुशीको कुरा हो। केही महिना अगाडिसम्म नेपलाको सक्रिय संक्रमण अति उच्च थियो भने माथि उल्लेख गरिए जस्तै हाल यो निकै तल झरेको छ।

भारतले हाल प्यान्डेमिक नियन्त्रण राम्रो गर्दै आएको कुरा विभिन्‍न तथ्यांकहरुले देखाइरहेको छ। तर पछिल्लो समयमा नेपालको सक्रिय संक्रमण भारतकोभन्दा कम देखिनु खुशीको खबर भएता पनि आश्चर्य र शंकाको विषय पनि बनेको छ।

समग्रमा गतहप्ताकोआंकडा हेर्दा नेपालमा प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी छ। गत हप्ताको दैनिक जम्मा संक्रमितको संख्या २ हप्ता अगाडिको साताको जम्मा संक्रमितभन्दा कम देखिएको छ। तर कोभिड संक्रमित घट्दै जानुको एक प्रमुख कारण कम परीक्षण गर्नु पनि हो।

परीक्षण कम गर्दा प्यान्डेमिक लुकेर बस्ने सम्भावना भने पक्कै पनि हुन्छ।प्रयाप्त परिक्षण गर्दागर्दै दैनिक नया संक्रमित र नया मृत्यू घट्दै गएमा त्यसले सहि मानेमा प्यान्डेमिक घटेको अर्थ लाग्छ।

यस दौरान नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म २६४५२१ जना मानिसलाई कोरोना संक्रमण भइसकेको छ जसमा ३५% महिला र ६५%पुरुष छन्। त्यस्तै १९१२ जनाले यसै संक्रमणका कारण ज्यान गुमाईसकेका छन् जसमा करीब ३०% महिला र ७०% पुरुष छन्।

त्यस अर्थमा नेपालको हालसम्मको समग्र कोरोना मृत्यूदर करीब ०.७% छ। हालसम्म नेपालमा १९७८८४७ जनाको पीसीआर परीक्षण गरिएको छ भने औसतमा समग्र संक्रमण दर अर्थात् पोजिटिभिटी १३.३६% जति देखिएको छ।

जे होस्, दक्षिण एसियाका अन्य देशहरुमा जस्तै नेपालमा पनि कोरोना प्यान्डेमिक घट्दै जाने क्रम जारि छ। त्यसै अनुरुप जनजीबन पनि सामान्य बन्दै गएको अवस्था छ। हाल परिक्षण कम गर्दै गएको हुनाले पनि कोरोनाको संक्रमण कम हुँदै गएको देखिन्छ।

तथ्यांकमा सुधार आउनु एउटा कुरा हो भने वास्तविक सुधार हुनु अर्को कुरा। तसर्थ तथ्यांक मात्रै हेरेर दङ्ग पर्नुभन्दा वास्तविकता केलाउनु आजको आवश्यकता हो। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई भुल्न सकिंदैन। त्यसैले हरेक व्यक्तिले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु अपनाउनु पर्ने देखिन्छ।

यस शृंखला तथा यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ।

यस लेखमा प्रस्तुत गरिएको कुरालाई कसरी बुझ्‍ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

पुस २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्