स्वास्थ्य मन्त्रीज्यू, दस लाख भ्याक्सिनको जोहो गरिहाल्नुस्

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीज्यू! तपाईसँग २-३ पटक भेट भएको आधारमा (मन्त्री नहुँदा नेताले जोगी संगत गर्छन् नि) मलाई लाग्छ, तपाईँसँग अरुको कुरा सुन्ने र सुने अनुसार बुझ्ने थोरै भए पनि पात्रता छ। आफ्नो यसै  अनुभवको आलोकमा तपाईँले पाएको नयाँ दायित्वसँग सम्बन्धित केही कुरा र सुझाव प्रेषित गर्न मन लाग्यो।  ग्रहण गर्ने नगर्नेबारे तपाईको आफ्नै विवेकीय स्वतन्त्रता अथवा राजकीय बाध्यता।

मन्त्री हुनासाथ तपाईँले सारा देशवासीलाई कोरोनाको भ्याक्सिन उपलब्ध गराउने गुड्डी हाँक्नुभयो।  हुन त नेपालको मन्त्रीबाट यो भन्दा बढी आशा नेपालीजनले गर्दा पनि गर्दैनन्। नेपाली जनताले नेताबाट आश्वासन र ठूलठूला सपनाका कुरा बाहेक आजसम्म केही पाएका छैनन् र उनीहरुलाई पाउने आस पनि छैन।

नेपाल सरकार र तपाईँको मन्त्रालयले भ्याक्सिनेसन सम्बन्धमा के कस्तो तयारी गरिरहेको छ, त्यो मजस्तो सर्वसाधारणलाई थाहा हुने कुरा होइन। तपाईँलाई नै के कति थाहा छ, त्यो किमार्थ  पनि अनुसन्धानको विषय होइन! तर मन्त्रीज्यू, यति ख्याल राख्नुस्, नेपालमा भ्याक्सिन आउन जति जटिल कुरा छ, त्योभन्दा कयौँ गुना जटिलता वितरणमा आउने छ। नेपालको भौतिक परिस्थितिबारे तपाईँलाई भन्नु आवश्यक छैन।

निश्चय पनि नेपाल सरकारले चाहदैमा तू का तू भ्याक्सिन उपलब्ध हुन सक्दैन। पैसा खर्च गरेर पनि सक्दैन, कारण तपाईँलाई विदित नै हुनुपर्छ।

अहिलेसम्म बनेका र प्रयोगमा आएका भ्याक्सिनका चर्चित नाम हुन्- जर्मन/अमेरिकन कम्पनीको फाइज़र भ्याक्सिन, अमेरिकन कम्पनीको मोर्डरना भ्याक्सिन (दुबै म्यासेन्जर आरएनए भ्याक्सिन हुन्। जुन नयाँ प्रविधिले अर्थात कोरोना भाइरसको ‘जेनेटिक कोड’बाट बनेका हुन्) अग्रस्थानमा रहेका छन्।  २० भन्दा बढी देशले यिनै भ्याक्सिनलाई स्वीकृति  दिई  भ्याक्सिनेसन प्रारम्भ गरेका छन्। फाइज़र भ्याक्सिनको एक खुराकको मूल्य २० डलर छ भने मोर्डरनाको मूल्य ३३ डलर छ। कोरोना विरुद्ध बनेका जुनसुकै भ्याक्सिन हुन प्रत्येक मानिसले २१ दिनको अन्तरालमा यसका दुईवटा डोज लिनु आवश्यक छ।  यसरी अर्को डोज लिएको ७ दिनपछि मात्रै अर्थात पहिलो डोज लिएको २८ दिनपछि मात्रै व्यक्तिमा भ्याक्सिनले एन्टीबड़ी निर्माण गर्छ।  उपरोक्त दुबै भ्याक्सिनको मूल्य मात्रै होइन, यिनको रखरखाव, भण्डारण, ट्रान्सपोर्टेसन, वितरण आदिमा पनि नेपाल सक्षम छैन।

म्यासेन्जर आरएनए भ्याक्सिनलाई माइनस ७० डिग्रीको तापक्रममा राख्नुपर्ने बाध्यता हुन्छ। नेपालका यस सम्बन्धी विज्ञहरुसँग कुरा गर्दा के थाहा हुन आयो भने माइनस ७० डिग्री तापमानको व्यवस्था नेपालमा अति नै न्यून छ। औलामा नै गन्न सकिन्छ रे! यस्तो परिस्थितिमा नेपालका लागि फ़ाइज़र र मोर्डरनाको भ्याक्सिन कागलाई बेल पाके सदृश्य नै हो। कुनै दाताले सित्तैमा यो मुहैया गराए पनि नेपालले उसैसँग ‘डीप फ्रीज़र’ का साथै विशेष प्रकारले बनेका भ्याक्सिन ओसारपोसार गर्ने बॉक्स माग्नुका साथै ‘ड्राई आइस’ पनि माग्नु पर्ने हुन्छ। ढुक्क हुनुस् मन्त्री महोदय वर्तमान अवस्थामा विश्व स्वास्थ्य संगठनका साथै  कुनै पनि अमेरिकन/यूरोपियन दाताले नेपाललाई भ्याक्सिन उपलब्ध गराउनेबारे सपना पनि देख्दैनन्। र, नेपालले आफ्नो बुताले यी भ्याक्सिनको कल्पना पनि नगरे हुन्छ।

नेपालका लागि सबैभन्दा पायक  भ्याक्सिन त्यही हुनेछ जसको ट्रायल इन्डियामा भएको हुन्छ।  भ्याक्सिन ट्रायलका बेलामा कम्पनीहरुले अनुरोध गर्दा पनि नेपालले अनुमति दिएन। यस्तो अवस्थामा इन्डियामा ट्रायल भएका भ्याक्सिनलाई नै प्राथमिकतामा राख्नु पर्छ।

चर्चामा रहेका अन्य भ्याक्सिनमध्ये रूसको स्पुतनिक भी, अस्ट्रेलियाको नोवावैक्स,  चीनको सिनोवाक, सिनोफार्म, अक्सफोर्ड र ऐस्ट्रेजेनेकाको ऐस्ट्रेजेनेका (अक्सफोर्डको यसै भ्याक्सिनलाई भारतको सीरम इन्स्टिट्यूटले कोविशील्डका नामले उत्पादन गरेको छ) र भारतको हैदराबादस्थित भारत बायोटेक कम्पनीले विकसित गरेको स्वदेशी कोवैक्सिन रहेका छन्। यी सबै नै परम्परागत प्रविधि (viral  vector ) ले बनेका भ्याक्सिन हुन् जसलाई भण्डारण गर्न सामान्य फ्रिज़िङ तापमानमै राख्न सकिन्छ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार चिनियाँ भ्याक्सिन सिनोफार्मको एक डोजको मूल्य झण्डै ७० डलर रहेको छ र सिनोवाकको मूल्य ६० डलर रहेको छ। स्पुतनिक भीको मूल्य १० डालर छ।

भारतको कोवैक्सीनको मूल्य झण्डै ३ डलर (३५० भारतीय रुपैयाँ) र अक्सफोर्डको कोविशील्डको मूल्य  भारतीय सरकारलाई ४ सय ४० भारतीय रुपैयाँ र खुला बजारमा मूल्य ८०० रुपैयाँ हुने अनुमान छ।

भर्खरै एकजना भाइरोलोजिस्टसँगको कुराकानीमा उनको भनाइ थियो- नेपालका लागि सबैभन्दा पायक  भ्याक्सिन त्यही हुनेछ जसको ट्रायल इन्डियामा भएको हुन्छ।  भ्याक्सिन ट्रायलका बेलामा कम्पनीहरुले अनुरोध गर्दा पनि नेपालले अनुमति दिएन। यस्तो अवस्थामा इन्डियामा ट्रायल भएका भ्याक्सिनलाई नै प्राथमिकतामा राख्नु पर्छ। अक्सफोर्डको भ्याक्सिनको  भारत लगायत अन्य थुप्रै देशमा व्यापक ट्रायल भएका छन्।  यस्तोमा नेपालका लागि सबैभन्दा ‘उपयुक्त’ भारतमै बनेको अक्सफोर्डको कोविशील्ड नै हुनेछ।  यसलाई सामान्य तापमानमै भण्डारण र ओसारपोसार गर्न मिल्छ।

भारत र चीन नै भ्याक्सिनका सबैभन्दा ठूला उपभोक्ता हुन्। यी दुबैलाई आफ्नै देशमा बनेको भ्याक्सिन पर्याप्त हुन्न। चीनले फाइज़रकै  करोड़भन्दा बढी डोज किनको छ। भारतले देशमै उत्पादित कोविशील्ड र कोवैक्सीनलाई अनुमति दिइसकेको छ।  साथै केही दिन भित्रै भारतले स्पुतनिक भी र फाइज़रको भ्याक्सिनलाई अनुमति दिन गइरहेको छ। मन्त्रीज्यू, अहिलेको अवस्थामा भ्याक्सिन किनेर पाइने पनि वातावरण छैन।  नेपालको आशाको केन्द्रबिन्दु चीन र भारत मात्रै हुन्। तसर्थ दिवा स्वप्नबाट बाहिर आउनुस्। तीन करोड़ नेपालीलाई भ्याक्सिन दिने गफ छाड़ी नेपाललाई अहिले दस लाख डोजकै प्रबन्ध गर्ने दिशामा सक्रिय हुनुस्।

सिरम इन्स्टीट्यूटसँग भ्याक्सिनका ६ करोड़ डोज उपलब्ध छन् र यसले प्रति महीना ५ करोड़ डोज उत्पादन गर्न सक्छ। यो नै विश्वको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादन गर्ने कम्पनी हो।  यसैगरी भारत बायोटेकले पनि ठूलो उत्पादन गर्ने जनाएको छ। धेरै  उत्पादन क्षमता भएकोले भारतसँग भ्याक्सिन पाउने आस गर्न सकिन्छ।  नेपालले सक्रियता देखाए  भारतले ८-१० लाख डोजको अनुदान नै दिन सक्छ।

मन्त्रीज्यू, भ्याक्सिन ल्याउनुभन्दा पनि ठूलो चुनौती देशमा हुने भ्याक्सिनेसन साबित हुन्छ। यसका लागि सरकारको के कस्तो तयारी छ? सर्सर्ती हेर्दा ९७ प्रतिशतभन्दा माथि कोरोना ‘रिकभरी रेट’ रहेको नेपालमा ५० वर्षसम्मका जमातलाई भ्याक्सिन आवश्यक छैन त भन्न मिल्दैन तर यी पहिलो  प्राथमिकतामा भने पर्दैनन्। त्यसैगरी भ्याक्सिन उत्पादक र मेडिकल माफियाले जे सुकै भनी राखे पनि एकपटक कोरोना संक्रमित भई निको भएका व्यक्तिलाई  भ्याक्सिन  आवश्यक छैन। मन्त्रीज्यूलाई विदित होस्, कोरोना भ्याक्सिनले दिने सुरक्षा पनि बढीमा ३-५ महीनासम्म रहने दावी गरिएको छ, त्यस पछि व्यक्तिले पुनः भ्याक्सिनको सुई लिनुपर्ने हुन्छ।  भ्याक्सिनेसन प्रारम्भ भएको एक महीना नपुग्दै यसले हुने सुरक्षा ५ महीना मात्रै हुने भन्नु धेरै शंकास्पद कुरा हो, व्यापारिक युगमा जे पनि सम्भव हुन्छ। विश्वभरिको ट्रेन्ड हेर्दा एकपटक संक्रमित भएका व्यक्ति पुनः संक्रमित हुने तथ्यांक अति न्यून छ। र, भएका मध्ये पनि जोखिमसम्म पुग्नेको संख्या न्यूनातिन्यून छ।  अब यो खोज अनुसन्धानकै विषय हो, भ्याक्सिनले दिने सुरक्षा बढी प्रभावकारी हुन्छ कि व्यक्तिको आफ्नै ‘इम्युनिटी’ले संक्रमणलाई मात गरेको सुरक्षा बढी प्रभावकारी हुन्छ? १६ वर्ष मुनिका बाल बालिकाका लागि भ्याक्सिन परीक्षण नै भएको छैन।  तसर्थ तपाई तीन करोड़लाई भ्याक्सिन लाउने कुरा गर्न छाड्नुस्। तपाईँको मन्त्रालय र समग्र नेपाल सरकारले भ्याक्सिनेसनमा आफ्नो ध्यान केन्द्रित गर्ने बेला हो यो।  तपाईको पूर्वतयारी के छ? मन्त्रालय स्तरबाटै कोरोनाको ‘रिकभरी रेट’ प्रचारित गर्नुपर्‍यो। अब मानिसलाई कोरोनाको त्रास होइन आत्म विश्वास बढाउने दिशामा फोकस हुनुपर्‍यो।

पुस २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्