दिसाजन्य लेदो व्यवस्थापन कसरी गर्ने?

दाङ – धेरै अघि बनाइएका शौचालयको सेफ्टी ट्याङ्की भरिन थालेका छन् । यसरी भरिएको सेफ्टी ट्याङ्कीको फोहर कसरी व्यवस्थापन भैरहेको छ? सबैको चासो र सरोकारको विषय बन्न सकिरहेको छैन।

खुला दिसामुक्त अभियानलाई व्यापक बनाइयो । अहिले सबै जसो मानिस शौचालयमा दिसा पिसाबको लागि जाने गर्छन्। तर, शौचालय भित्रको फोहर व्यवस्थापनमा खासै ध्यान पुगेको देखिँदैन । शौचालय भित्रको फोहर संकलन गरेर खुला ठाउँमा फाल्ने गरिएको छ।

जिल्लाका प्रमुख शहर घोराही, तुलसीपुर, लमहीमा दिसाजन्य लेदो व्यवस्थापन प्रमुख चुनौतीको रुपमा देखा पर्न थालेको छ । यो जिल्लाका १० वटै पालिका भित्रको समस्या हो । अन्य फोहर शरह डम्पिङ्ग साइडमा दिसाजन्य लेदो खुला रुपमा फाल्ने गरिएको पाइएको छ । यसरी दिसाजन्य फोहर खुला ठाउँमा फाल्दा नयाँ–नयाँ संक्रामक रोगहरु भित्रने सक्ने खतरा हुन्छ । तर, यस विषयमा ध्यान दिएको पाइएको छैन।

‘सक्सन मेसिन छ । त्यो मेसिनले सेफ्टी ट्याङ्कीबाट फोहर निकाल्छ । त्यो फोहरलाई ल्याण्डफिल्ड साइडमा लगेर फाल्छौँ’ घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखाका प्रमुख प्रेम केसीले भने,‘ठूलो त्यस्तो प्लान्ट छैन । खाल्डो खनेर त्यही फाल्छौँ।’

स्थानीय सरकारबाट मात्रै नभएर निजी क्षेत्रबाट समेत दिसाजन्य लेदो संकलन गर्ने काम भैरहेको छ । यसरी संकलन गरिएको फोहर खुला ठाउँ, नदीको बगर, जंगलमा फाल्ने गरिएको छ । निश्चित ठाउँमा फोहर व्यवस्थापनको लागि प्लान्ट निर्माण भएको छैन। लमही नगरपालिकाले पनि अहिले सम्म दिसाजन्य लेदोलाई डम्पिङ्ग साइडमा फाल्ने गरेको छ ।

देशभर पाँच नगरपालिकामा कार्यक्रम

दिसाजन्य लेदो व्यवस्थापनको लागि दाङको लमही नगरपालिका गरी पाँच वटा नगरपालिकामा ट्रिटमेन्ट प्लान्ट निर्माणको योजना रहेको छ । जस अन्तर्गत लमही नगरपालिकाले ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न दुई करोड बजेट विनियोजन गरेको छ।

अहिले सम्म खुला ठाउँमा दिसाजन्य लेदो व्यवस्थापन गर्दै आएको लमहीले अबको दुई वर्ष भित्र ट्रिटमेन्ट प्लान्ट मार्फत लेदो व्यवस्थापनको काम अघि बढाउने नगर प्रमुख कुलबहादुर केसीले बताए ।

‘अहिले लमही नगरपालिकाले ट्रिटमेन्ट प्लान्ट निर्माणको लागी टेण्डर आह्वान गरिसकेको छ । यो प्लान्ट निर्माणको काम बहुवर्षीय योजनामा छ । दुईवर्ष भित्र प्लान्ट निर्माण गरिसक्ने योजना छ,’ केसीले भने, ‘व्यवस्थित ढंगले दिसाजन्य लेदो व्यवस्थापन हुन्छ । डिपिआर तयार भएको छ । प्लान्ट बनाउने जग्गाको खोजी गरिरहेका छौँ।’

नगरपालिकाले डम्पिङ्ग साइड भएकै क्षेत्रमा प्लान्ट बनाउने योजना बनाएको थियो । तर, जग्गा प्राप्तिमा समस्या हुने भएपछि नयाँ ठाउँमा जग्गाको खोजी भैरहेको नगर प्रमुख केसीले जानकारी दिए ।

देशभर लमहीसहित काभ्रेको धुलिखेल नगरपालिका, सिराहाको लहान नगरपालिका, स्याङ्जाको वालिङ्ग नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकामा दिसाजन्य लेदो व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको छ ।

यो कार्यक्रम दक्षिण एसियाली नगरपालिका सञ्जाल सरसफाई पैरवी परियोजना मार्फत सञ्चालन गरिएको छ । लमहीले २०७५ पुस १० गते परियोजना सञ्चालनमा सम्झौता गरेको थियो ।

ट्रिटमेन्ट प्लान्ट निर्माण भएमा दिसाजन्य फोहरलाई मलको रुपमा प्रयोग गर्न सकिने लमही नगरपालिका दिसाजन्य लेदो व्यवस्थापन कार्यक्रमकी फोकल पर्सन गायत्री थापाले जानकारी दिइन् ।

‘तरल र ठोस पदार्थ छुट्याउन सकिन्छ । त्यसपछि तरललाई बगैँचा, फूलवारी, करेसावारीको बोट विरुवामा प्रयोग गर्न सकिन्छ । ठोस पदार्थ कम्पोष्ट मलको लागि उपयुक्त हुन्छ,’ थापाले भनिन्, ‘प्लान्टबाट ग्यास समेत निकाल्न सकिन्छ ।’

लमही नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन नीति २ ०७७ बनाएको छ । यो नीति राजपत्रमा समेत प्रकाशन गरिएको छ । जनस्वास्थ्य एवम् वातावरण स्वच्छताको गुणस्तर नगरपालिकाको सर्वाङ्गिण र दिगो विकास प्राप्तिको एउटा महत्वपूर्ण सूचकको रुपमा लिइएको छ ।

‘प्लान्ट निर्माण क्षेत्र घुम्न लायक बनाउछौँ’

कुलबहादुर केसी, प्रमुख लमही नगरपालिका

दिसाजन्य लेदो व्यवस्थापन कार्यक्रममा वास्तवमा राज्यको ध्यान पुग्न सकेको छैन। अहिले सम्म हामीले खुला दिसामुक्त क्षेत्र बनाउनुपर्छ भनेर एउटा मिसन बनाएर लाग्यौँ। सबै मान्छेलाई शौचालयमा शौंच गर्नुपर्छ भन्ने वातावरण सृजना गर्‍यौँ। त्यो ज्ञान सबैलाई भयो । तर, अब पछिल्लो समयमा शौचालय भरिसकेका छन्। सेफ्टी ट्याङ्की भरिएका छन्। त्यो दिसाजन्य लेदोलाई कहाँ व्यवस्थापन गर्ने हो भन्ने हाम्रो प्रमुख चुनौतीको रुपमा देखिन थालेको छ ।

लमही नगरपालिका, एसियाली नगरपालिका सञ्जाल सरसफाई पैरवी परियोजना र इण्डोनेसिया सरकारकोबीचमा सम्झौता गरेर दिसाजन्य लेदो व्यवस्थापन परियोजना सञ्चालनको तयारी गरेका छौँ। देशभर पाँच वटा नगरपालिकामा दिसाजन्य लेदो व्यवस्थापनको प्लान्ट निर्माण गर्ने योजना छ । जनप्रतिनिधिलाई मलेसिया, इण्डोनेसियाको भ्रमण समेत गराइएको छ । हामी त्यहाँ पुगेर हेरेर फर्किएका छौँ।

हाम्रो नगरको अहिले सम्मको अवस्था शौचालयमा शौच गर्‍यौँ। सेफ्टी ट्याङ्की भरिएको छ । त्यो भरिएको सेफ्टी ट्याङ्कीको फोहर लगेर खुला ठाउँमा, बगरहरुमा, बर्खाकाे समयमा सोताहरुमा फाल्ने, जंगलमा फाल्ने काम भैरहेको छ । यो फोहरले धेरै प्रदूषित बनाएको अवस्था छ । दिसाजन्य लेदोलाई व्यवस्थित प्लान्ट निर्माण गरेर राख्न नसक्ने हो भने झन् ठूलो चुनौती थपिने अवस्था छ । प्लान्ट मात्रै तयार पार्ने, फोहर व्यवस्थापन गर्ने मात्रै होइन । त्यो क्षेत्रलाई भ्रमणयोग्य क्षेत्र बनाउने हाम्रो योजना छ । ट्रिटमेन्ट मेसिन जडान भयो भने यो फोहरबाट धेरै पानी निस्कन्छ । ठाेस पदार्थ निस्कन्छ । हामीले मल बनाउन सक्छौँ। विदेशमा कोइला समेत बनाएको देख्यौँ । हामीले अब दिसाजन्य लेदो व्यवस्थापनलाई पनि आफ्नो कार्यक्रममा राखेका छौँ।

पुस २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्